घामले खाएका पैताला
पानीजुत्तामा घुसार्दा
यसरी मुस्काउँछे खरीपुतला
कि –
उसको अगाडि इन्द्रेनीका
रंगहरू फिक्का लाग्छन् ।
फूलको के कुरा !
जुनको के कुरा !!
रत्यौलीहरूमा
गाउँदै हिंड़छे ऊ-
धन्सारो .. मन्सारो
लालीजोबन – स्याट् स्याट् स्याट् !
अनि उकुज पल्टेर दुख्छे ऊ –
जोबनहरूमा ।
ट्याम कुट्याम
त्यै लाटीको तिघ्रा चिमोट्न
आउँछन् – दिल्लगी
लहडहरू ।
प्रेमको धज्जी उडाएर
उडिरहन्छ – भुवा झैं
सिमलबारुलै ।
ऊ जान्दिन –
किन कुहिन्छ छातीभित्र
सम्बेदनाको पार्श्व आवाज ?
ऊ बुझ्दिन –
किन र्याल काड्छ यो
भैमाल समय –
उसलाई देखेर ।
र म एउटा
झरिलो
आगोको कविता
उसलाई सुनाउँछु ।
मेरो कविता सुनेर
खरीपुतला बोक्सी हुन्छे ।
अनि उसका पाइलामा टेकी आउने
आमाहरू बोक्सी हुन्छन् ।
उसका अतृप्तीहरूमा फुली बस्ने
फूलहरू बोक्सी हुन्छन् ।
बोक्सीहरूलाई कसैले
टोक्न सक्तैन ।
र
मूर्च्छनाहरूको माझमा यसरी
हाँसिरहेकी भेटिन्छे : खरीपुतला
कि –
सृष्टिको सम्पूर्ण सौन्दर्य
उसैको ओठमा जम्मा हुन्छ ।
हो, यो कविता सुनेर
जब बोल्छे लाटी – खरीपुतला
बगरहरू बोल्न थाल्छन् ।
ढुंगाको के कुरा !
माटाको के कुरा !!