समय हल्लियो ।
यो लिङ्गे पिङको कात्रि जस्तै
बाटो हल्लियो ।
रहरै रहरको दुधिलो मकै
चपाउन लागेको
लैनो भैंसी माटोमा पुरियो ।
लेख्न सकेन – भावीले
भुइँ भासिँदा भुइँकाफलको
परिस्थितिको फेहरिस्त ।
कुन साइतमा उम्र्यो कुन्नि !
भ्वान परेको
आँगनमा तिउरॆ फूल ।
आँसुको बैरलो
कालीखोलामा मिसियो
तर
ऊ अर्थहीन बगिरह्यो –
सपनाहरु बगाएर ।
भूगोल उम्लियो र घर खेत भासियो
अनि ठूलीबेसीको
डोको उठ्यो ।
यो पाउँदुरे सरकारले
डोको रोएको सुनेन ।
डोको बोकेर हिंडेका
नानीहरुको आर्त गीत
सुन्न मानेन ।
समयले नछुने नानीहरुलाई
छोएको आरोपमा
या
यो बाँझो धर्तीको कविता
लेखेको अभियोगमा
दैव खनियो धुन्नानसित
मेरो बिरुद्ध ।
मै माथि टेकेर
मच्चिरह्यो –
बिहानै देखिको चर्को घाम
र
मेरै काखमा कुल्चेर उडिरह्यो –
डोरी छिनाउने लछारपाटो ।
अन्त्यमा ,
एक मिनेट
म यो पोखराको नाममा
मौन धारण गरेर उभिएँ ।
म
त्यै डोको हूँ – अर्मला !
तिमीले
जीवनको आधि बाटोमा
बिसाइराखेको ।
(अक्षर यात्रामा अर्मला पुग्दा लेखिएको कविता)
