म काँचको शहरमा
आएको छु ।
यहाँका हरेक चीज
काँचले बनेका रहेछन्
जस्तो कि –
घर, सडक र तिनीहरूको सांस्कृतिक परिवेश ।
तपाईं झट्ट हेर्दा यी
कंक्रिट र आस्फाल्टका कठोरताहरूलाई नै
यो शहर मान्न सक्नुहुन्छ –
तर जब एक पटक छुनुहुन्छ नि तिनका मनहरूलाई :
तपाईं तिनका कोमलताहरूले द्रविभूत हुनुहुनेछ
र भन्नु हुने छ –
ए, यो त काँचको शहर पो रहेछ ।
यो काँचको शहरमा
असाध्य पिरहरूको वीचको खुसी
र विनिर्माणहरूको वीचमा निर्मित सिर्जनशीलता –
तपाईंले आफैं अनुभूत गरेर
हिंड्नुहुनेछ ।
उदाहरणको लागि –
रातहरूलाई उधारेर बलिरहने रातो बत्ती
सीमान्त रोदनहरूलाई च्यातेर हाँसिरहने सेतो फूल र
सवाल्टर्न’ आस्थाको नीलो रङ
तपाईं यै शहरको पृष्ठभूमिमा देख्नुहुनेछ ।
काँचो आकाश,
काँचो बारी,
काँचो रनवन,
काँचो आँखा र
तिनीहरूको काँचै सपना –
यी सबथोक बगाएर बगिरहने
आँधीखोला :
कहिले फर्कन्छ थाह छैन –
तैपनि
त्यै खोलासित फर्केर आउला कि छोरो भन्दै –
अतिरिक्त जीवन बाँचिरहेका आमाबाबुहरूले
आँगनको डिलबाट हेरिरहेको
प्रत्यक्ष प्रसारण –
तपाईं यहाँको काँचका पर्दाहरूमा
स्पष्टै देख्नुहुनेछ ।
हो, यो काँचको शहर रहेछ –
कतै टाढाका देउताहरूले सुटुक्क
छाडी गएको नासो जस्तो
या अलिकति हाँस्ता हाँस्तैको ओंठ जस्तो
या अलिकति रुँदा रुंदैको आँखा जस्तो ।
अक्सर यस्ता शहरमा
जब काँचका मान्छेहरू भित्रैदेखि
झर्यामझुरुम फुट्न थाल्छन् –
फैलन्छ कविताको आतंक र
जन्मन्छ – एउटा नयाँ इतिहास ।
हो, म त्यै श्वेत समबेदनाको
इतिहास बोकेर –
यो काँचको शहरमा
आएको छु ।
