प्राय: म
जिरो किलोमिटरमा जिन्दगी
पर्खिरहन्छु
बिना मूल्य र मान्यता
आवेग भएर आउँछ -ऊ
र
मेरो हुर्मत पिएर छट्टाउँछ
यद्यपि यो
म बाँचिरहेको समय हो ,
यसैलाई सम्हाल्नु र टिठाउनु
म आफ्नो परम कर्तव्य सम्झन्छु
म मृत्युको प्रतिलिपि
दस्तावेजहरुले जिन्दगी
चलाउन सक्तिन
बरु यै समयका धृष्टताहरुमा
म अन्तिम सत्य पछिको
सत्य गीत
लेखिरहन्छु
बरु यै समयका किल्लाहरुमा
म अन्तिम युद्ध पछिको
युद्ध गीत
लेखिरहन्छु
मेरो स्वप्न ब्रम्हाण्ड
अगणित
अपदार्थहरुले बनेको छ
यहीं जन्मन्छ –
समय प्याराडोक्स:
समयको अन्त्य पछिको समय
अक्सर म यै समयका खाडलहरुमा
अपदार्थीय आस्थाहरुले
भरिइरहन्छु
अचेल म
फूल नफुल्ने ठाउँमा
फुल्छु
मन नपुग्ने ठाउँमा
पुग्छु
अआयामिक
असान्दर्भिक समयका डोबहरुमा
म आफ्नो अनुहार
खोजी पस्छु
घर छाडेर घरको खोजीमा ,
खुसी छाडेर खुसीको खोजीमा
भेट्टाउन पुग्छु म लामो जुलुस –
अनुहारहरुको
यद्यपि
आफैंलाई बिर्सेर घर फर्कंदा
ऐनामा म आफ्नो अनुहार
देख्न सक्तिन
भैगो भगवान् !
मरी मरी म बाँच्दिन
सासै थुन्न आउने
सपनाहरु म देख्दिन
बरु म
गर्मी भन्दिन
जाडो भन्दिन
झरी भन्दिन –
अप्राप्तिहरुकै अटोरिक्साले जिन्दगी
चलाइरहन्छु
यो जिन्दगी
म दृष्टिभ्रमहरुको
एन्टीग्राभीटि’ बाँचिरहन्छु |