आज पनि
बेगारीबाट घर फर्कंदा
एउटा नवजात लाटो कविता
कोक्रैमा
जलाएर आएको छु
र
समय कुल्चेको अन्दाजमा
आफैंलाई मचक्क कुल्चिरहेछु ।
अनि
म मेरो स्वागतमा लामबद्ध
सडकको
उत्सव भएको छु ।
ए हौ,
कवितालाई जलाएको खरानी
चिसिन नपाउँदै
म यति ठूलो कवि भएको छु ।
प्रहरी प्रशासन
कविताको हत्या गर्नेलाई
हत्यारा भन्दैन ।
त्यसैले
पुरै सुरक्षित,
पुरै स्वीकृत-
सेलिब्रेटी हाँसो म
निर्धक्कै हाँसिरहेछु ।
सेलुलोइड यात्राका हरफहरूमा
विना कुनै मूल्य र मान्यता
यो जिन्दगी
मेरो बैश पिएर बेसरी मात्तिरहेछ ।
र
म समयका परतहरूमा
हिउँ झैं जमेर
समयातित सम्बेदनाहरूलाई सम्बोधन
गरिरहेछु –
ए,हा हन्त ! मेरा स्वर्गीय कविताहरू हो !
बरा …
असम्बोधित छ…ल्होत्से र ल्होत्साम्पाहरूको कविता ।
अमोहमस्मी !!
