Skip to content


चेपा
यो गाउँकी चराचर देवी थिई

मेरो नजिककी
साथी थिई -ऊ

हामी फाङमुठी बाँडेर
चपाउँथ्यौं

ख्याल ख्यालको बिहे गर्थ्यौं

संगै ढुंगामा सुत्दथ्यौं

हामी एउटै रहमा पौरी खेल्थ्यौं
र पानीभित्र मजाले पिसाप फेर्थ्यौँ ,

हामीलाई पानीदेउताको डर थिएन

पाकेको अँगेरी खाएर
ऊ आफ्नो कालो जिब्रो देखाउँथी –
विभत्स मुद्रामा :
र म साक्षात काली ठानेर
चेपाका पाउहरुमा
फूल चढाउँथें

सीमेभूमे, मरिमसान
सब थोक डराउँथे – ऊ देखि ,

अँध्यारो रातमा म
चेपाको अनुहारमा पोतिएको
उज्यालो पढ़दथें

र सम्झन्थें –
त्यै उज्यालो बालेर
भैलो खेल्न गएको उकालो

चेपा
घलेकभरि गट्टा खेल्ने
ढुंगा बटुल्थी

मलाई ऊ
गट्टा खेल्न र गट्टासितै हाँस्न सिकाउँथी

चेपा
घाममा डढेर /
पानीमा रुझेर
मुस्काइरहन्थी

जमीनफाटाहरुको बाटोमा
म ऊ सित
उन्मुक्तिहरुको गीत
गाउँथें :
झम्के मायालु

हामी
डौंडारे खोलाको तीरै तीर
रनवन घुमेर
चराहरुको गुँड खोज्दथ्यौं

हामीलाई वन देउताको डर थिएन

चेपा
माटाको भात पकाउँथी

डुम्रीका बोहोताहरुमा
मन्दस्मित घोलेर पस्कन्थी

म उसलाई पूजा र
प्रेम गर्दथें

ओहो! मेरो आस्थाको पहिलो
र अन्तिम रहस्य थिई – ऊ :

धेरै पछि
मात्र मौनतामा भेटें मैले

उसले अलिकति
भुइंचालोको कुरा गरी ..
बसाईं सराइको कुरा गरी
र धोतीको सप्काले आँसु पुछी

अनि
सायद पूर्वस्मृतिको संबेदनाले सुस्तरी
हाँसी – चेपा

First published on: 2015-08-16 20:47:17 +0900

Leave a Reply

Your email address will not be published. Required fields are marked *