Skip to content

नवलपरासीको गैंडाकोटमा संरक्षण कविता आन्दोलनको ५८ औं शृंखला सम्पन्न


संरक्षण कविता आन्दोलन कविताको माध्यमबाट जीवन र जगतको संरक्षण यात्रामा क्रियाशील नेपाली कविताको मौलिक राष्ट्रिय आन्दोलन हो । कविहरूले कुनै ठाउँको प्रकृति र संस्कृतिका विम्बहरू टिपेर कविता लेखेपछि सर्वप्रथम तद्स्थानीय मानिसहरूको माझमा नै ती कविताहरू सुनाइनु पर्दछ र कविताको वास्तविक उद्वोधन पनि हाम्रा गाउँघरका जनजीवनको अध्ययनबाट नै हुन सक्तछ भन्ने अवधारणा एवं “जीवनका लागि संरक्षण र संरक्षणका लागि जीवन” भन्ने उद्घोषका साथ नेपाली साहित्यका मूर्धन्य हस्ताक्षर तथा कवि सरुभक्तको संयोजकत्वमा २०५५ साल आश्विन २६ गते मुस्तांगको मुक्तिनाथस्थित रानीपौवामा पाँच सूत्रीय घोषणा पत्र जारी गरी स्थापना भएको यस संरक्षण कविता आन्दोलनले मधेश र पहाडका ग्रामीण क्षेत्र तथा चेपांग बस्तीहरूमा पुगेर कविता यात्राको ५८ वटा शृंखलाहरू पार गरेको छ र हालै यसको पछिल्लो अर्थात् ५८ औ शृंखला चितवनका कविहरूको विशेष सक्रियता र मौलाकालिका धार्मिक संरक्षण समिति एवं सूर्यभक्त – पतनादेवी मेमोरियल (एस पि एम ) कलेजको व्यवस्थापकीय संयोजनमा नवलपरासीको गैंडाकोटमा सम्पन्न भएको छ ।

यस क्रममा २०७१ बैशाख १९ गते, शुक्रबार अपरान्ह १ बजे नवलपरासीको प्रसिद्द मौलाकालिका देवीको मन्दिरतर्फ जाने उकालोको फेदीमा पोखराबाट सरुभक्तको संयोजकत्वमा आइपुगेका आन्दोलन कविहरू सरस्वती प्रतीक्षा, ईश्वरमणि अधिकारी, गनेश पौडेल, नवराज अधिकारी, अल्पज्ञानी, अमृत सुबेदी ‘गुराँस’, संजीव पौडेल र शरण आँसुको समूह, हेटौंडाबाट आउनु भएका कवि निमेष निखिल र पुरुषोत्तम आचार्य अनि छिमेकी जिल्ला चितवनबाट आउनु भएका प्रा. डा. चूडामणि बन्धु, कवि भूपिन, सरिता तिवारी, गोविन्दराज विनोदी, सुरेन्द्र अस्तफल, बालकृष्ण थपलिया, ईश्वर कंडेल, सुमनराज श्रेष्ठ रबिमर्श कंडेल लगायतका स्रष्टाहरूको रमाइलो भेटघाट भयो । चिया, खाजा र जलपानपश्चात करिव डेढ घण्टा मनोरम वनको उकालो चढेर सबै कविहरू मौलाकालिका देवीको मन्दिर आइपुग्दा साँझको ६ बजेको थियो होला ।

मन्दिरसम्म पुग्ने पुरै सिंढीको उकालो, ठाउँ ठाउँमा बनाइएका चौतारी र बिश्राम स्थल, खाने पानीको सुबिधा, बाटो वरिपरिका फूल, धूपीका बोटहरू, रातो माटोमा ठडिएका सालका बोटहरू, वनकुखुरा र बँदेलहरू सितको जम्काभेट, खाजा घरहरू, बाटोमै पर्ने हेलिप्याड, सोलार बत्तीको व्यवस्था आदि यो यात्राका मोहक दृश्यहरू थिए भने अविस्मरणीय थिए ती साथीहरूसित उकालो चढ्दै गर्दाको रमाइलो कुराकानी र ठट्यौली ।

मौलाकालिका अत्यन्त मनमोहक औ दर्शनीय मन्दिर रहेछ र बिभिन्न महानुभावहरूको स्वत स्फूर्त दान दातव्य र सहयोगबाट थोरै वर्षमा नै बाटोघाटो र आवास, अतिथि गृह आदि संरचनाको राम्रो विकास भएको रहेछ । मन्दिरको प्रांगणबाट तल साँझको झिलिमिलीमा नवलपरासी र चितवन छुट्याएर बगिरहेको नारायणी अत्यन्त सुन्दर देखिन्थ्यो ।

धार्मिक सेवा समितिको न्यानो आतिथ्यका साथ बेलुकीको खानापश्चात ९;१५मा सुरु भयो – रात्रिकालीन कविता वाचन कार्यक्रम । कवि सुरेन्द्र अस्तफलको उद्घोषण र धार्मिक सेवा समितिका अध्यक्षको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सरुभक्त, प्रा. डा. चूडामणि बन्धु र गोविन्द राज बिनोदीको विशेष उपस्थितिका विच मौलाकालिका धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष ओम प्रसाद सापकोटाले कविहरूको स्वागत गर्न पाउँद़ाको खुसी व्यक्त गर्दै यस्ता कवि गोष्ठीको निरन्तरताको आग्रह गर्नुभयो । स्थानीय सिनर्जी एफ. एम.द्वारा प्रत्यक्ष प्रसारित उक्त गोष्ठीमा पोखरा, हेटौंड़ा र चितवनबाट आउनुभएका सबै कविहरूले कविता वाचन गर्नुभयो ।

साहित्यिक भलाकुसारी र रमाइला कुराकानीहरूकै वीचमा निदाएका कविहरू भोलिपल्ट २० गते बिहान सबेरै देवीको दर्शन गरेर संरक्षण कविता आन्दोलनको कार्यक्रम स्थल एस पि एम कलेजमा आइपुग्दा ९ बज्यो । त्यस पछि नारायणीको किनारमा यत्र तत्र छरिएर बसेका कविहरूबाट स्थानीय विम्बहरू समेटिएका कविता लेखिए अनि कलेजको आतिथ्य र खानापश्चात ११ बजे ५८ औं शृंखलाको कार्यक्रम सुरु भयो ।

कवि भूपिनले संचालन गर्नुभएको उक्त कार्यक्रममा कलेजका प्रमुख तथा कवि गोविन्दराज बिनोदीले अध्यक्षता र भाषाविद प्रा. ड़ा. चूडामणि बन्धुले प्रमुख आतिथ्य एवं संरक्षण कविता आन्दोलनका प्रणेता सरुभक्त, कवि प्रेम बिनोद नन्दन, एल.बि.क्षेत्री र कलेज संचालन समितिका अध्यक्ष महेन्द्र भक्त अधिकारीले विशेष आतिथ्य ग्रहण गर्नुभएको थियो । यस शृंखलामा कविहरू संजीव पौडेल, अल्पज्ञानी, अमृत सुबेदी ‘गुराँस’, पुरुषोत्तम आचार्य, बिमर्श कंडेल, लक्ष्मी पौडेल, रामकृष्ण पौडेल ‘अनायास’, सुमनराज श्रेष्ठ, प्रसन्न घिमिरे, उदय अधिकारी, गनेश पौडेल, किसान प्रेमी, विकास अधिकारी, सुरेन्द्र अस्तफल, बालकृष्ण थपलिया, भूमिश्वर शर्मा, प्रभाकर पण्डित, लक्ष्मण पौडेल, खनाल रेवतीरमण, ईश्वर कंडेल, शरण आँसु, सरस्वती प्रतीक्षा, सरिता तिवारी, निमेष निखिल, नवराज अधिकारी, ईश्वरमणि अधिकारी, धनराज गिरी, भूपिन, प्रेमबिनोद नन्दन, सरुभक्त र गोविन्दराज बिनोदीले आआफ़्ना कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा उदयराज अधिकारीले कविता र संरक्षण चेतनाका वीचको अन्तरसम्बन्ध माथि आफ्नो धारणा र जिज्ञासा राख्नुभयो ।

गजलकार धनराज गिरीले सुमधुर गजल गायनका साथ संरक्षण कविता आन्दोलनको बिशिष्टताका सम्बन्धमा प्रकाश पार्नुभयो ।

कलेजका अध्यक्ष महेन्द्रभक्त अधिकारीले आफ्नो कलेजमा संरक्षण कविता आन्दोलनको शृंखला चलाउन पाएकोमा खुसी व्यक्त गर्दै शुभकामना प्रकट गर्नुभयो ।

कवि एल बि क्षेत्रीले जुन कविताले मन छुन्छ, त्यही उत्कृष्ट कविता हो भन्ने धारणा राख्नु हुँदै यस शृंखलाका धेरै कविताहरूले आफ्नो मन छोएको बताउनुभयो ।

कवि प्रेम बिनोद नन्दनले संरक्षण कविता आन्दोलन नेपाली जनमानसकै वीचबाट हुर्किएको हुनाले यसका शृंखलाहरूलाई तदस्थानीयवासीहरूको बृहद उपस्थितिमा संचालन गर्दै जानु पर्ने धारणा राख्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि भाषाविद प्रा. डा. चूडामणि बन्धुले संरक्षण कविता आन्दोलन नेपाली कवितामा खोजमुलक अन्तर्दृष्टि र जीवन संरक्षणको अवधारणाका साथ क्रियाशील आन्दोलन भएको हुँदा यसका शृंखलाहरूलाई कविता कार्यशालाको रुपमा समेत अगाडि बढाइनु पर्ने सुझाव राख्दै आन्दोलनमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा एस पि एम कलेजको तर्फबाट कलेजका प्रमुख तथा कवि गोविन्दराज बिनोदीले संरक्षण कविता आन्दोलनका प्रवर्तक सरुभक्तलाई सम्मान गर्नुभयो । सम्मान पत्रमा ‘कविता यात्राको माध्यमबाट साहित्य, संस्कृति र वातावरणको संरक्षणमा निरविछिन्न योगदान पुर्याउनु भएकोमा संरक्षण कविता आन्दोलन र यसका प्रवर्तक समादरणीय साहित्यकार सरुभक्तमा हार्दिक सम्मान” व्यक्त गरिएको छ ।

कार्यक्रममा गजलकार धनराज गिरीले लगाई दिनुभएको भादगाउँले टोपी र कलेजले प्रदान गरेको सम्मान पत्रका साथ उभिनु भएका सरुभक्तको अनुहार कविताले धपक्क बलेको देखियो । वहाँले भन्नुभयो – ” हामी कविताको माध्यमबाट शृष्टिको सहअस्तित्वमा रहेका पृथ्वी अनि पृथ्वीवासीको संरक्षण गर्न चाहन्छौं । यो आन्दोलन कुनै वाद या आयातित सिद्धान्तहरूबाट प्रभावित नभई अनवरत चलिरहने मौलिक आन्दोलन हो र यसका शृंखलाहरूलाई दुर्गम गाउँघर देखि सहरहरूका अतिरिक्त र विश्व नै एक गाउँ (ग्लोवल भिलेज) को अवधारणा अन्तर्गत अन्य मुलुकहरूमा पनि संचालन गर्न सकिन्छ । ”

अन्त्यमा, सभापतिको आसनबाट कवि गोविन्दराज बिनोदीले धन्वाद ज्ञापन औ कविताका साथ समापन मन्तव्य राख्नुभयो र कार्यक्रम सकियो । कार्यक्रमपश्चात तस्विरहरू खिचिए र कविहरूले साटे शुभकामना र शुभ अपेक्षा । सबै आआफ्नो गन्तव्यतिर प्रस्थान गरे तर सबै कविहरूको गन्तव्य साझा थियो – जीवनका लागि संरक्षण र संरक्षणका लागि जीवन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *