मझेरी सञ्चालक
विश्व साहित्य महासंघद्वारा विजेता कविहरूलाई पुरस्कार प्रदान
काठमाडौ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तिलविक्रम नेम्बाङ (बैरागी काइला)ले नेपाली भाषासाहित्य र कलासंस्कृतिको प्रवर्द्धन र विस्तारका लागि नयाँ प्रविधि प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको छ ।
विश्व नेपाली साहित्य महासंघले काठमाडौमा गरेको नेपाली साहित्यमा डायास्पोराको भूमिका विषयक अन्तरकृया तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै कुलपति नेम्बाङले नेपालीहरू नेपालबाट बाहिरिँदा एक्लै हुने भए पनि बाहिर पुगेर संगठित हुने क्रम बढेकाले विश्वभरका नेपालीलाई समेट्न नयाँ प्रविधि प्रयोग गर्नुपर्ने बताउनुभएको हो ।

मझेरी भलाकुसारी, अंक ०९ (दीप्स शाह)
म आफ्नो आत्मसन्तुष्टिको निमित्त लेख्छु । र आफ्नो ज्ञानको दायरा फराकिलो पार्नुको साथसाथै पाठकलाई केही दिन चाहन्छु जसले केही सान्त्वना, केही भरोसा र केही ज्ञान मिलोस् ।
ताजा सोचबिचार र चेतनाका शब्द खेती गरेरै पेट पाल्न सकिने बातावरण हाम्रोमा किन भएन? कस्ले हुन दिइरहेको छैन? भन्ने प्रश्नले बेसरी कोतरेको थियो बिदेश लाग्दको क्षण र आज पनि ।
अध्ययन र साधना बिनाको सिर्जनामा दम हुँदैन यो मेरो अनुभव र मान्यता दुवै हो ।
साहित्यले समाजलाई सधैँ सकारात्मक बाटोतिर उन्मुख गर्दै समय र परिवेशअनुसार चल्न र ढल्न दृष्टिगोचर गर्नसक्नुपर्छ ।
मझेरी आँफैमा गौरबपूर्ण नाम बनिसकेको छ । यस्तो माध्यमबाट … मलाई पढ्नुहुने सम्पूर्ण पाठकहरूसमक्ष सिर्जनाको बाटोमा मलाई सधैँ झक्झक्याइरहन र आवश्यक सुझाब सल्लाह दिइरहनुहुन सादर अनुरोध गर्न चाहन्छु ।
–दीप्स शाह
मझेरी भलाकुसारी, अंक ०८ (रामविक्रम थापा)
साहित्यका बहुविधामा कलम चलाए पनि आत्ममूल्यांकन गर्नुपर्दा म आफूलाई कविता, लघुकथा, र बाल-कविताको विधाको लेखक मान्नु उचित ठान्छु ।
निरन्तरता र धैर्यता लेखकका गहना हुन् । अध्ययन, चिन्तन र मनन त आधारभूत शर्त हुन् जस्तो मलाई लाग्छ ।
मोफसलका लेखकलाई कुलामाथिको बाली (बिरूवा) भन्छु म ।
नेपाल प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशन सत्तामुखी छन् । विशुद्ध साहित्यिक भए राम्रो हुन्थ्यो ।
साहित्यलाई माया गरौँ, लेख्न र पढ्न नछाडौँ । केही अंश समय र अर्थ यसमा लगानी गरौँ ।
—रामविक्रम थापा
मझेरी भलाकुसारी, अंक ०७ (शरण आँसु)
सामान्य किसान परिवारको जीवन पद्धति – घाँस, दाउरा, मेलापात, गरिबी, ग्रामीण जनजीवन, प्राकृतिक सौन्दर्य, देशभक्ति, सामाजिक विभेद र मायाप्रीतिका अनुभूतिहरू मनमा छचल्किन्छ, अनि तिनै अनुभूतिहरूलाई शब्दले उनेर म लेख्ने गर्छु ।
रसायनशास्त्रका प्रतिकृयाहरूमा पनि साहित्यको रस भेटिन्छ । … रसायनशास्त्र मेरो साहित्य सृजनाको पृष्ठभूमिमा र मस्तिष्कको कोलाजमा पोतिएको सुन्दर रङ्ग हो ।
…मझेरीमा प्रकाश पौडेल ‘माइला’ एवं नन्दलाल आचार्यज्यू आदिले प्रेसित गर्नुभएको साहित्यिक गतिविधि सम्बन्धी रिपोर्टहरू पनि पढ्ने अवसर पाउँदा खुशी लागेको छ ।
साहित्यकार दाजु सरुभक्त नेपाली कविता यात्राको पृथक प्रयोग “संरक्षण कविता आन्दोलन” का प्रणेता हुनुहुन्छ । म पनि आन्दोलन कविको रुपमा विभिन्न शृङ्खलाका कार्यक्रमहरूमा संलग्न रहँदै आएको छु ।
‘मझेरी’ नेपाली साहित्यिक रचनाहरूको सर्वाधिक ठूलो र स्तरीय वेब भण्डार हो । यसलाई प्रभावकारी बनाइराख्न भाषागत र विधागत त्रुटीहरू घटाउने र स्तरीय लेख रचनालाई मात्र गृह पृष्ठमा राख्ने, लेख रचना प्रकाशनका नियमहरू पालन गर्ने, धेरै पाठक तथा स्रष्टाहरूसमक्ष पुर्याउन फेसबुक र ब्लगहरूमा राख्ने आदि प्रकृयाहरूलाई निरन्तरता दिनुपर्छ ।
श्रद्धेय पाठकहरूको प्रतिकृयाको अपेक्षा राख्छु । रचनाले पस्केको भावना यहाँहरूको मनमा पोखियोस्, यदि पाठक स्वयं रचनाको पात्र हुनुहुन्छ भने यसको विम्ब प्रतिबिम्बहरूको मर्म बुझ्नुहोस् भन्ने आग्रह गर्न चाहन्छु ।
—शरण आँसु
मझेरी भलाकुसारी, अंक ०६ (प्रकाश पौडेल माइला)
साहित्य समाजको दर्पण हो । साहित्यले बिगतको मूल्यांकन मात्र गर्दैन वर्तमानको समीक्षा गर्दै भविष्यको खाका पनि कोर्छ । … साहित्य लेख्न रहरले मात्र पुग्दैन ।
हाइकु बास्तवमैं बेजोड हुन्छ । वर्तमान व्यस्तताको युगमा कम शब्दको प्रयोगमा धेरै भाव प्रकट गर्न सक्ने र आवस्यकता अनुसार चोटिलो ब्यङ्य समेत हान्न सक्ने सामर्थ्य राख्छ हाइकुले ।
केही महिना अगाडि मात्रै जापान कै एउटा टेलिभिजन मार्फत मेरो हाइकुहरू प्रसारण भएको थियो । जसमा कोरिया, उज्वेकिस्तान, टर्की लगायतका देशका हाइकु कविहरूको समेत सहभागिता रहेको थियो ।
मेरो मेहनेत र लेखनको स्तरलाई मूल्यांकन गरेर पाठकहरूले जुन स्थानमा राख्नु हुन्छ, अबको ५-१० वर्षपछि म त्यहीं हुनेछु । साहित्य यस्तो क्षेत्र हो जहाँ अपेक्षा कम राखेर मेहनेत धेरै गर्नुपर्छ हल्ला गर्नेभन्दा काम गर्ने कुरामा मेरो बिस्वास छ ।
सुरुका दिनबाट नै मझेरीलाई नजिकबाट हेर्ने अवसर पाइरहेको छु । छोटो समयमा नै मझेरीले ठुलो फड्को मारेको छ । … पाठकको रुचि र चाहना बुझेर अगाडि बढेको अवस्थामा मझेरीले अझै लोकप्रियता प्राप्त गर्न सक्छ । स्तरीयतालाई मध्य-नजर गर्दै नवसर्जक सहितलाई समेट्न सक्नुपर्छ । आधुनिक प्रबिधिको युगमा नयाँ-नयाँ प्रबिधिको उपायोग गर्दै पाठकहरूलाई सक्दो सुबिधा प्रदान गरी आफूतिर आकर्शित गर्न सक्नु पर्छ ।
सबैले साहित्यिक पत्रिका किनेर पढ्ने बानी बसालौं ।विश्वको जुन सुकै कुनामा रहे पनि हामी नेपाली हौ भन्ने भावना नबिर्सौ ।
—प्रकाश पौडेल माइला
मझेरी भलाकुसारी, अंक ०५ (सुषमा मानन्धर)
साहित्य मेरो लागि एउटा भोगाई हो । … सुख दुःखका अनुभवहरू, इच्छा, सपना र कल्पनाहरू शब्दमा उनिएर साहित्य बन्छ । साहित्य मेरो लागि नशा पनि हो ।
विशुद्ध साहित्यिक पत्रिकाहरूको संख्या बढाउने, ईपत्रिकाहरू चलाउने, पाठक क्लबहरूको स्थापना र पाठकहरूको पनि रुचिलाई ध्यानमा राखेर लेखकहरूले केही कम्प्रोमाइज गरी लेख्ने गरिए साहित्यको मार्केट बढ्थ्यो कि !
पाठक प्रतिकृया मेरो लागि ठूलो निधि हो । आफ्नो लागि आउने प्रतिकृयाको मलाई असाध्यै चासो रहन्छ । रचना प्रकाशनपछि प्रतिकृया आउने हो वा हैन कस्तो आउने हो भन्ने डर र कौतुहल दुवै रहन्छ ।
(हाल) लेखक-पाठक वीचको दूरी टाढा नभए पनि नजिक पनि छैन । लेख रचना पढियो, राम्रो लाग्यो/लागेन, के कस्ता कमी छन्, भन्ने जानकारी हामी लेखक समक्ष पुर्याउँदैनौं, जसले गर्दा लेखकले आफ्नो लेखाइमा भएका त्रुटीलाई सुधार्न पाउँदैन । … पाठकहरूले पस्किएका रचनाहरू पढेपछि लेखकलाई आफ्नो धारणा बताउने र लेखकहरूले पनि तिनलाई उचित सम्मानसाथ लागु गर्ने हो भने दूरी नजिक भैहाल्छ नि ।
लेखक जिउँदो पाठककै कारणले हुन्छ । यदि पाठकहरूले नै अस्वीकार गरे लेखकको के अस्तित्व र औचित्य ? त्यसैले जति बढी पाठक छन्, त्यति नै लेखक सफल हुन्छन् । अतः आदरणीय पाठकहरू तपाईंहरूले कुनै पनि रचना पढेपछि राम्रो-नराम्रोको सही प्रतिकृया गरेर लेखकलाई दिशानिर्देश गरिदिनु भयो भने लेखाइहरू फिल्टर हुँदै जान्छन् र समाजले स्तरीय साहित्य पाउन सक्छ ।
सबैले लेख्छन्, तर लेख्न सजिलो छैन । … मझेरीका लेखक र पाठक मित्रहरू एक अर्काको शुभचिन्तक बनेर एक अर्कालाई सहयोग गरौं । राम्रो साहित्यको लागि हामीलाई लेखक र पाठक दुवै चाहिन्छ ।
—सुषमा मानन्धर
मझेरी भलाकुसारी, अंक ०४ (तीर्थ “यात्री” पौडेल)
गजलको बाढी ल्याउँछु मेची अनि कोशी जस्तो
सदाबहार सुसाउने अटुट त्यो रोशी जस्तो
साहित्य समाजको दर्पण हो, अँध्यारोको जून हो, जसले समाजलाई सही बाटो देखाउँछ । जसले समाज परिवर्तनका कुरा लेख्छ, बोल्छ तिनै लेखक, त्यस्तै पुस्तक म मन पराउँछु ।
सरकारी तहबाट साहित्यमा आशा गर्ने ठाउँ छैन । मरेपछि मात्र सम्मान गर्ने आडम्बर छ शासकहरूमा । जनताका पीर व्याथा लेख्ने जनताका लेखक भनाउदाहरू (…ले) नेपाली साहित्यको क्षेत्रमा सिन्को भाँचेनन् भने अरु कसले गर्ने साहित्यको संरक्षण ? सर्जक र पाठक बाहेक ।
बिदेशमा बसे पनि देशलाई मुटुमा राखेको छु, देशले खप्नु परेको अनेक बिपत्तीमा म रोएको छु । महंगीले सगरमाथा छुँदा म केचना भएर पीडा भोग्दै छु, म जहाँ भए पनि नेपाल आमाको हर पीडामा म रुने गरेको छु । राष्ट्रघातीहरूले देश छिया-छिया हुने गरी लुछेका छन् । देशमा भएको भए मलमपट्टी गंर्थे होला ।
मझेरी भनेको एउटा साहित्यको समुद्र हो जस्तो लाग्छ । यसमा सानो खोल्सीदेखि नदीहरू पनि आएर मिसिएका छन् ।
म मझेरीको लेखकको हैसियतले सम्पूर्ण पाठकहरूलाई मझेरीलाई माया गर्न अनुरोध गर्दछु। साथै मझेरीमा प्रकाशित रचना पढेर सही प्रतिक्रिया दिनु होला ।
–तीर्थ “यात्री” पौडेल
मझेरी भलाकुसारी, अंक ०३ (आचार्य प्रभा)
साहित्यले समाज, देशलाई निस्वार्थ आँखाले हेर्दछ । साहित्यको परिभाषा सधैं अपूर्ण नै हुन्छ । हामीले यसको पूर्ण परिभाषा दिनलाई अझै यसको तलाउमा पौडन जान्नु पर्दछ ।
म हरपललाई सही सदुपयोग गर्न चाहन्छु । त्यसैले म फुर्सदमा सृजना नै गर्छु । मलाई ब्यर्थमा समय नष्ट गर्नु जत्तिको नमीठो केही लाग्दैन । सम्झनु होस् हर समय फुर्सद र परिवेश, बातावरण अनुसार म कलमसँगै खेलिरहेकी हुन्छु ।
(मझेरी) मलाई स्तरीय नै लाग्छ । … यो साहित्यिक मनहरूको चौतारी बनिरहोस् । प्रभावकारी बनाउँन रचनाहरूको स्तरीयतामा ध्यान दिने, अरु स्तम्भहरू थप्ने जुन कुराले पाठकहरू आकर्षित होउन् ।
सबैको सहयोगले नै कसैको पनि उद्देश्य र काम सफल बन्छ । मझेरी पनि यस्तै सहयोगको अपेक्षामा बाँचेको छ । नेपाली साहित्यलाई माया गरेर उभिएको यो मझेरी हामी सबैको चौतारी हो । यस्लाई नबिर्सौं । उत्साह र हौशला दिऊँ । यस्लाई स्तरीयतातिर लैजान स्तरीय रचनाहरू प्रेषित गरौँ ।
नेपाली साहित्य/ गीत/ संगीतलाई माया गरौँ । जहाँ छरिएर हामी नेपाली रहे पनि एकार्कामा सद्भाव बाँडौँ । … देशलाई माया नमारौँ । बिभिन्न वेब साइट नेपाली पत्रिकाहरू पढ्ने बानी बसालौँ ।
–आचार्य प्रभा
मझेरी भलाकुसारी, अंक ०२ (नन्दलाल आचार्य)
शान्ति नै मेरो प्राप्तिको अनमोल अस्त्र हो। शान्तिमा फूल फुल्छ, अशान्तिमा ओइली झर्छ।
अर्यालको जयभोलिले सिकाएको दर्शनले गर्दा मलाई भविष्यमा कुनै लोभ छैन । म आज साँचो जीवन बाँचेर भोलि जिउँन चाहन्छु । आज नबाँची भोलि बाँच्ने चाहना राख्नु मूर्खतापूर्ण व्यवहार हो भन्ने मेरो ठहर छ। साहित्य (कलम)बाटै जसोतसो बाँचेको छु, बाँचिरहन्छु र मलाई लाग्छ म आज बाँच्न सकेँ भनेँ स्वतस्फुर्तरूपले भोलि जिउन पनि सक्छु ।
विल्कुलै प्रगतिन्नोमुख बाटोमा नेपाली साहित्य छ विश्व साहित्यसँग पौँठेजोरी खेल्ने हैसियत भइसकेको छ तर दुर्भाग्य भन्नुपर्छ कि मुखमा मस्तिष्क हुने नेताहरूको बाहुल्यताले कला, साहित्य धरासायी भएको छ ।
मानवीय जीवन नै नाटक हो। संसार रंगमञ्च हो हर घडी हामी अभिनय गरिरहेछौँ हामी जे गर्छौँ त्यसलाई हुवहु उतार्ने सक्षम र सजिलो विधा नाट्यविधा हो अन्य विधामा फूलबुट्टा धेरै चाहिन्छ फूलबुट्टाले सजाएको कृतिम रूपभन्दा प्राकृतिकताको कुरूप रूपको दर्शनाभिलाषी हुँ म ।
मझेरीले विशाल साहित्य भण्डारण गरेको देख्छु। शिष्ट र प्रगतिवादी विचार वर्णविन्यासीय कसीमा तौलेर मझेरीलाई सजाउँदै गए कोहीभन्दा कम हुन्न । राम्रो र हाम्रो मझेरी बनाउन इन्टरनेटको नाक मुख नदेखेका स्रष्टालाई पनि समेट्ने अभियान तीव्र पार्नुपर्छ।
देशलाई विक्री हुनबाट बचाउन बौद्धिक क्रान्तिमा सहभागी बनौँ काल मनधारीका कर्तुतको भण्डाफोर गरौँ। कलमबाट भा पनि नयाँ नेपाल बनाऔँ ।
-नन्दलाल आचार्य
मझेरी भलाकुसारी, अंक ०१ (गोर्खे साइँलो)
“जसरी समय परिवर्तनशील छ त्यसैगरी नेपाली साहित्यमा पनि दिनानुदिन केही न केही परिवर्तन भैरहेको नै देखिन्छ । त्यसैले जोकोही मानिसलाई पनि समय गतिरोधसँगै तैरिनु नै ठिक हुन्छ । त्यस्तै यो समयको साहित्यिक माहोल नै गजलात्क परिवेश छ । किनभने गजलले थोरै शब्दमा धेरै ब्याख्यत्मकता र विश्लेषात्मकता बोकेको हुन्छ । यो विधा रसिलो चोटिलो र ग्याहत्मकता माथिको मनोरञ्जनात्मकता मृदुशैली शिष्टताले भरिएको विधा भएको हुनाले पनि सबैले मन पराएका होलान्र र म पनि त्यो मिठासताको लालची हुनपुगेँ छु। र त्यसैको नालीबेली खोज्ने तर्फ मेरो कलम दौडिरहेको हो ।”
“नेपाली रचनहरू प्रकाशनमा ल्याएका साइटहरूमा मझेरी डट कम जति फराकिलो रचना भण्डार अरु कुनै पनि साइट छैन । तसर्थ यसको गति अग्रस्थामा भएको महशुस गरेको छु । ”
“जुन अग्रजहरूले मझेरीमा अग्रस्थान प्राप्त गर्नु भएको छ। उहाँहरू निरन्तरता एवम् साहित्याकाशमा या मझेरी मै पनि नवप्रवेशीहरूले लगनशीलता कायम राख्न र पाठक वा समीक्षज्यूहरूले सही कमेन्टगरी दिनुहुन हार्दिक अनुरोध गर्दछु । ”
“कुनै देशको राजा छ भनेत्यही देशमा मात्रै पुजिन्छ यदि क्वै विद्वान छ भने सर्वत्र पुजिन्छ । मैले थोरै भए पनि साहित्यिक ज्ञानको आर्जन गर्नसकेँ भने त्यसको मूल्याङकन गर्ने सन्सार भरीका पाठक एवम उहाँहरूजस्ता विद्वान र विद्वत वर्गका ब्यक्तित्वहरू हुनुहुन्छ ।”
–गोर्खे साइँलो
बेल्जियममा कविताको एक साँझ सम्पन्न
सम्वाददाता
ब्रसेल्स, २५ अगष्ट
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरको आयोजनामा बेल्जियमको शैक्षिक तथा प्राज्ञिक सहर ल्यूभेनमा २४ अगष्टका दिन कविताको एक साँझ कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा बेल्जियममा रहेका प्रतिनिधि कविहरुले आआफ्ना प्रतिनिधि कविता वाचन गरेका थिए । बेल्जियममा पहिलो पटक आयोजना गरिएको यस प्रकारको कार्यक्रममा साँझको समयलाई कविहरुले कवितामय बनाई दिएका थिए ।
- « Previous
- 1
- 2

