मझेरी भलाकुसारी, अंक ०६ (प्रकाश पौडेल माइला)

PrakashPoudelMaila-05


प्रकाशजी, तपाईंलाई मझेरी भलाकुसारीमा स्वागत छ। आफ्नै तर्फबाट आफ्नो परिचय दिनुस् न!
धन्यवाद कुमारजी । आफ्नो बारेमा केही भन्नु पर्दा आफूलाई साहित्यको बिद्यार्थी भन्न रुचाउँछु । कक्षा ५मा पढ्दादेखि नै कविता लेखन थाले तापनि अहिले आएर जापानी साहित्यको कविता लेखन शैली हाइकु मेरो मूल विधाको रुपमा रहेको छ । स्नातकसम्मको पढाइ सकेर हाइकुको उद्गम-थलो जापानमा पाइलो टेकेको ५ वर्ष हुन लाग्यो । दाजुभाइमा माइलो भएको हुनाले साहित्यिक नाम पनि “माइला” भनेर लेख्ने गर्छु ।

स्थायी बसोबास गुन्जनगर- ४ चितवन भए पनि अहिले जीवनयापनको सिलसिलामा जापानको योकोहामा शहरमा छु । सानैदेखि साहित्यमा रुचि राख्ने र साहित्यलाई औधी माया गर्ने भएकोले होला सामाजिक र साहित्यिक विभिन्न संघ-संस्थामा संलग्न छु । पछिल्लो समय अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)मा धेरै समय खर्चेको छु । यद्यपि अन्य थुप्रै साहित्यिक एवं सामाजिक संघ संस्थाहरूमा समेत संलग्न थिएँ र छु पनि ।

तपाईंको लागि साहित्य के हो ? अनि यो क्षेत्रमा लाग्नुपछाडि केही भूमिका छ?
साहित्य समाजको दर्पण हो । साहित्यले बिगतको मूल्यांकन मात्र गर्दैन वर्तमानको समीक्षा गर्दै भविष्यको खाका पनि कोर्छ । साहित्यको तौल मापन गर्न सकिंदैन, मर्म र भाव बुझेर सार खिच्न सकेमा साहित्यिक विशिष्टता हासिल गर्न सकिन्छ। अर्को रुपमा भन्नु पर्दा साहित्य भनेको स्रष्टाको अन्तर-आत्माको बोली हो । जसले जहाँ जे देख्यो, जे भोग्यो, जे सुन्यो त्यसलाई साहित्यिक मालामा उन्ने काम गर्छ । साहित्यको सबै खालको परिभाषालाई शब्दमा मात्रै समेट्न सकिंदैन । उही साहित्यिक खुराक पनि स्रष्टा अनुसार बुझाइ फरक हुनसक्छ । साहित्य लेख्न रहरले मात्र पुग्दैन । मैले कविता लेखन आरम्भ गर्दा आजको दिनको अनुमान गरेर सुरु गरेको थिइन, तर साहित्यले नै डोर्यायर मलाई यहाँसम्म ल्याएको छ । मैले गर्ने र गर्नुपर्ने मेहनेत, लगनशीलता र साधना आफ्नै ठाउँमा होला जुन कुराको मुल्यान्कन प्रिय पाठकहरूले गर्नु हुनेछ ।

तपाईंलाई मनपर्ने लेखक अनि बिधाका बारेमा केही बताइदिनुस् न!
मलाई सबैभन्दा मनपर्ने बिधा हाइकु हो । ५-७-५को शास्त्रीय संरचनामा लेखिने हाइकु जम्मा तीन हरफमा लेखिनुको साथै सत्र अक्षरको हुन्छ । जापानी साहित्यमा हाइकुको अतिरिक्त तान्का, चोका, सेदोका लगएतका बिभिन्न लेखन शैलीहरू प्रचलित छन । पछिल्लो समय हाइकु विश्वव्यापी बन्दै गएको छ । विश्वका बिभिन्न भाषामा हाइकु सम्बन्धी पुस्तक प्रकाशित भएका छन । नेपाली साहित्यमा हाइकु प्रबेश पाएको पनि ५ दशक बित्न लागेको छ । हाइकु सम्राटको रुपमा चिनिने माचुओ बाशो र प्रथम आधुनिक हाइकुकारको रुपमा परिचित मशाओका शिकी मेरा मन पर्ने जापानी कवि हुन् । अहिलेको पुस्तामा तावारा माची राम्रो लाग्छ । साथै लक्ष्मी प्रसाद देवकोटा, रमेश विकल, रबिन्द्रनाथ टैगोर लगायत हुनुहुन्छ । तर हरेक लेखकका आफ्नै आफ्नै बिशेषताहरू छन, कसैको कुनै पक्ष मन पर्छ भने कसैको कुनै । त्यसैले मनले खाए जतिको नाम लिन कठिन हुन्छ । मैले हाइकुको अतिरिक्त गीत, गजल, कविता, कथा, तान्का लगायतका विधामा पनि कलम चलाउने गर्छु ।

अहिलेसम्म के-कस्ता लेख-रचनाहरू प्रकाशन/सम्पादन गर्नुभा’छ, हामीलाई प्रकाश पारिदिनुहोस् न!
आरम्भका दिनहरूमा मुना, रंगमञ्च, युवामञ्च बिमोचन लगएतका पत्र-पत्रिकाहरूमा फुट्कर रचनाहरू प्रकाशित भएका थिए । मेरो पहिलो कृति बि. स. २०६० सालमा प्रकाशित “पर्दाफश” हाइकु संग्रह हो । “पर्दाफश” हाइकु संग्रह मेरो एकल लेखन भएको एक मात्र कृति हो । मैले सम्पादन तथा सह-सम्पादन गरेका अन्य कृतिहरूमा “अन्धगल्छी हाइकु-संकलन” (२०६२), “नेपाली हाइकु” (२०६४), “साकुरा फुल्दा” (२०६५), “हाइकुमाला” (२०६६), “देश-बिदेशबाट गजल संग्रह” (२०६६), “सौगात स्मारिका” (२०६७) “अन्तदृष्टि साहित्यिक त्रैमासिक” (अनेसासको मुखपत्र) लगायत छन । साहित्यिक पुस्तकका अतिरिक्त मुखिया सहयोगी, स्कूल स्तरीय समान्य ज्ञान तथा खरिदार दिग्दर्शन जस्ता ब्यावसायिक पुस्तक समेत प्रकाशित छन् । हाइकुको बारेमा बिभिन्न पत्र-पत्रिकाहरूमा खोजमूलक लेख-रचनाहरू प्रकाशित हुनुको साथै स्वदेश तथा बिदेशमा गरी आधा दर्जन भन्दा बढी कार्यपत्र प्रस्तुत समेत गरेको छु ।

जापानमा बस्नुहुन्छ । यहाँको साहित्यिक माहौललाई कसरी हेर्नुभा’छ ?
बिदेशमा बसेर साहित्य सृजना गर्नु पक्कै सजिलो छैन । सबै जनालाई आफ्नो आफ्नो विवशता र बाध्यताले छेकेको हुन्छ । व्यस्तताको बाबजुद पनि समय निकालेर साहित्यिक कार्यमा संलग्न हुनु साहित्य रचना गर्नु एउटा उपलब्धी मूलक नै मन्नुपर्छ । अनेसास जापानको गतिबिधिको कारणले यहाँको बातावरण दिनप्रतिदिन साहित्यमय बन्दै गएको छ । पहिला-पहिला साहित्यिक कार्यक्रममा निकै थोरै उपस्थिति देखिने अनेसासका कार्यक्रममा हिजोआज निकै उत्साहजनक देखिन्छ । नेपालमै छँदा साहित्य क्षेत्रमा सकृय स्रष्टाहरूको जापान प्रबेशको क्रम पनि बाक्लिदो छ । बिभिन्न पेशामा संलग्न र साहित्य-इतरको छेत्रमा सकृय माहनुभावहरूले पनि कलम चलाउन थाल्नु भएको छ । अग्रजहरूको सहयोग, मार्गदर्शनले धेरै नै सहयोग गरेको छ, सबैलाई एउटै थलोमा जम्मा पार्ने काम चाहिं अनेसास जापानले गरेको छ । समुद्रपार रहेर पनि साहित्यिक गतिबिधि धेरै हुने मुलुकमै पर्छ जापान । एक अर्कामा राम्रो समन्वय गरेर अगाडि बढेको खन्डमा जापानको साहित्यिक माहौल प्रबाशमा नेपाली साहित्यको लागि कोशे-ढुङ्गा साबित नहोला भन्न सकिन्न ।

अनि, चितवनेली पर्नुभो । हिजा’ज त्यतातिरका लेखकहरूको भेल ह्वात्तै बढेको पाइन्छ । किन होला ?
चितवनमा पुराना सर्जकहरू थुप्रै हुनुहुन्छ । पहिला-पहिला यदाकदा हुने साहित्यिक कार्यक्रम आजकल बाक्लिंदो छ । गजलको राजधानीको रुपमा परिचित चितवन जिल्ला पछिल्लो समय हाइकुको राजधानीको रुपमा पनि चिनिन थालेको छ । बास्तवमा त्यहाँको माटो नै साहित्यमय बनेको छ । एउटा स्रष्टालाई सेरोफेरो र वातावरणले पनि निकै प्रभाव पारेको हुन्छ । अग्रजहरूले खेल्ने भूमिकाले पनि नयाँ पुस्ताकोबाटो निर्धारण हुने हुन्छ । बिशेष गरी गोविन्दराज विनोदी र प्रेम बिनोद नन्दनज्यू चितवनको साहित्यिक आकाशमा ताराको रुपमा रहनुभएको छ । साहित्यिक कार्यक्रमको आयोजना, कृति प्रकाशन, साहित्यिक पत्रिकाको प्रकाशन लगायतको कुरामा चितवन अग्रणी रहेको छ । विधुतीय संचार माध्यमले पनि सर्जकहरूमा उत्साह ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका छन् ।


अनेसास जापानको नियमित साहित्य शृंखला कार्यक्रमपछि (बीच-पछाडि भागमा)

बिदेश आउनुले तपाईंको साहित्यिक गतिबिधिलाई राम्रो या नराम्रो प्रभाव पारेको छ?
मलाई विदेश ल्याएको नै साहित्यले हो । हाइकु लेखनमा प्रवेश नगरेको भए सायद म जापानसम्म आइपुग्ने नै थिइन होला । विदेश आउनाले मेरो साहित्यिक गतिबिधिमा नराम्रो असर परे जस्तो लाग्दैन । जापानी साहित्यको लोकप्रिय विधा हाइकुको उद्गम स्थल पुगौं भन्ने उत्साह मलाई हाइकु लेखानारम्भका दिनहरूमा नै थियो । उद्गम बिन्दुबाटै हाइकुलाई नजिकबाट बुझ्ने र थप खोजी-नीतिको उपयुक्त अवसर मिलेको जस्तो लाग्छ ।

चितवनतिरै पनि निकै साहित्यिक कार्यक्रमहरूमा लाग्नुभा’थ्यो क्यारे! आजभोलि त्यो जीवन कत्तिको ‘मिस’ गर्नुहुन्छ?
त्यो माहौल र परिवेशलाई बास्तव मै ‘मिस’ गरिरहेको अनुभव गर्दैछु । अग्रज, समकालीन र नव पुस्तासँगको साहित्यिक उठबस अविस्मरणीय लाग्छ । छापा तथा विधुतीय संचार माध्यमका साथीहरूले सुरुको समयमा दिनु भएको प्रोत्साहनले हालसम्म पनि उच्च आत्मबिस्वास बोकेको भान हुन्छ । साहित्यिक कार्यक्रम भनेपछि कहिले साइकल चढेर त कहिले माइक्रो चढेर निकै टाढा-टाढासम्म पुगिन्थ्यो । कविडाँडा, झुवानी, गैंडाकोट, गुन्जनगर लगायतका ठाउँको कार्यक्रममा सहभागी भएर गजल हाइकु सुनाएको हिजो जस्तै लाग्छ ।

तपाईं विशेष हाइकुमा दख्खल राख्नुहुन्छ, यसलाई अंगाल्नुपछाडि त्यस्तो केही कारण छ कि?
सुरुका दिनहरूमा मैले कविता लेख्ने गर्थे तर प्रमाणपत्र तहको दोस्रो बर्ष अध्यायनको क्रममा डा. अभी सुबेदीद्वारा अनुवादित पुस्तक “जापानी हाइकु: हिजो र आज” हेर्ने अवसर मिल्यो । माचुओ बाशो लगाएत बिभिन्न जापानी कविहरूद्वारा लिखित हाइकु निकै घतलाग्दो पाएँ । हाइकुमा ध्यान केन्द्रित रहिरहँदा प्रा. रामकुमार पाँडेसँग भएको भेट नै मेरो हाइकु यात्रामा कोशे-ढुङ्गा साबित हुन गएको ठानेको छु । हाइकु बास्तवमैं बेजोड हुन्छ । वर्तमान व्यस्तताको युगमा कम शब्दको प्रयोगमा धेरै भाव प्रकट गर्न सक्ने र आवस्यकता अनुसार चोटिलो ब्यङ्य समेत हान्न सक्ने सामर्थ्य राख्छ हाइकुले । हाइकुले सुरुमा मलाई पारेको खँदिलो प्रभावले गर्दा नै मेरो साहित्यिक मसी हाइकुको छेत्रमा धेरै पोतिएका हुन कि जस्तो लाग्छ ।

तपाईंलाई विशेष गरी हाइकुकारको रुपमा चिनिने गरिन्छ । तपाईंले आफैंलाई चाहिं के कसरी मूल्यांकन गर्नुभा’छ ?
आफैले आफूलाई भन्नुपर्दा म नेपाली साहित्यको बिद्यार्थीको रुपमा चिनाउन चाहन्छु । तर पनि बिधागत हिसाबमा मेरा हाइकुसँग सम्बन्धित कृति, तथा लेख्रचनाहरू अल्ली बढी नै मात्रामा प्रकाशित भएका छन् । यसको अर्थ साहित्यका अन्य बिधालाई कम माया गर्छु भन्ने होइन ।


गुरु प्रा. रामकुमार पाँडेसँग

हाइकुको जन्मभूमि जापानमै बसेर हाइकु क्षेत्रमै लाग्नुमा के विशेष अनुभव गर्नुभा’छ?
हाइकुको देशमा बसेर हाइकुको क्षेत्रमा काम गर्नु अथवा भनौ हाइकु रचना गर्नुको मज्जा नै छुट्टै अनुभव गरिरहेको छु नेपालमा छँदा हाइकु भनिएका रचनाहरू बास्तबिक हाइकु होइन रहेछन भन्ने ज्ञान मलाई जापान आएपछि मात्र भयो । नेपालमा धेरै रचना हाइकु शैलीका रचिएका छन । कतिले अनुमानको भरमा लेखेका छन भने कतिले हाइकुको बारेमा जान्न खोज्दा खोज्दै पनि समग्रीको अभाव महसुस गरिरहेको अवस्था छ । जापान आउनु अगाडि लाली-गुराँस र सगरमाथाको हाइकु लेख्ने हातले अहिले साकुरा ( काँडे-फूल: जुन जापानको लोकप्रिय फूल हो) र फुजी-सान (फुजी हिमाल: जापानको सर्वोच्च हिमाल)को बारेमा समेत हाइकु लेख्न थालेका छन् ।

केही महिना अगाडि मात्रै जापान कै एउटा टेलिभिजन मार्फत मेरो हाइकुहरू प्रसारण भएको थियो । जसमा कोरिया, उज्वेकिस्तान, टर्की लगायतका देशका हाइकु कविहरूको समेत सहभागिता रहेको थियो । योबाट अन्य मुलुकको हाइकुको अवस्था बारेमा पनि राम्रो जानकारी प्राप्त गर्ने अवसर मिल्यो ।

आजभोलि जस्ताले पनि हाइकु लेख्छन्; एक मिनेटमै हाइकु लेखें भनेर सबका अगाडि वाचन गर्छन् । के हामीले यस बिधालाई अलि बढी हलुकै लिएका हौं? कि यो विधा नै यस्तै हो?
हाइकु हलुका छैन । यसको गहिराइ नबुझ्नेहरूले व्यक्त गर्ने कुरा हो त्यो त । झट्ट हेर्दा हाइकु लेख्न सजिलो जस्तो देखिए पनि बाहिरी आवरणबाट सोच्ने सोचाइ र भित्री मर्म निकै फरक छ ।
तर हाइकु लेख्ने स्रष्टाहरू दिनानुदिन बढ्ने क्रम छ । ३ हरफ मिलाएर लेख्दैमा सबै रचना हाइकु नै हुन् भन्न सकिंदैन । ती त हाइकु शैली मात्र हुन । तर हिजो हाइकुको क्षेत्रमा लेख्दै नलेख्नेहरू आज हाइकु शैली लेख्दै हुनुहुन्छ भने भोलि वहाँहरूबाटै चोटिला रचना हुन सक्छन् । स्रष्टाले गरेको कुनै पनि रचनालाई बेवास्ता गर्नु भने हुँदैन । हाइकु सियोको टुप्पो जस्तै हुन्छ । जस्लाई कम आँक्न सकिंदैन र त्यस्को झट्का तिखर हुन्छ । मिठास-पूर्ण हाइकु लेख्न सक्नु कविको खुबीको कुरा हो ।


अनेसास जापानको नियमित साहित्य शृंखला कार्यक्रमपछि (अगाडि, दायाँबाट दोश्रो)

जापानमा पेशाले जीवन त साह्रै व्यस्त हुन्छ। त्यसको बाबजूद पनि लेख्ने समय कसरी निकाल्नुहुन्छ ?
स्रष्टाको रुचिलाई व्यस्त समय र कुनै पनि किसिमको तनाबले समान्य प्रभाव त पार्न सक्ला, तर रोक्न भने सक्दैन ।

आफूले आफैंलाई अबको ५ वर्षपछि, १० वर्षपछि कस्तो हुन्छुहोला जस्तो कल्पना गरेर लाग्नुभा’छ?
यस्तो नै हुन्छु भन्ने कुनै योजनाबद्ध कार्यक्रम त छैन । तर पनि साहित्यप्रतिको लगाब र रुचिमा कुनै कमी हुने छैन । मेरो मेहनेत र लेखनको स्तरलाई मूल्यांकन गरेर पाठकहरूले जुन स्थानमा राख्नु हुन्छ, अबको ५-१० वर्षपछि म त्यहीं हुनेछु । साहित्य यस्तो क्षेत्र हो जहाँ अपेक्षा कम राखेर मेहनेत धेरै गर्नुपर्छ हल्ला गर्नेभन्दा काम गर्ने कुरामा मेरो बिस्वास छ ।

निकट भविष्यमा केही विशेष योजना छ कि ?
नेपालमा हाइकुको लहर बढ्दो क्रममा छ । पछिल्लो ७-८ बर्षमा नेपाली साहित्यको क्षेत्रमा हाइकुले ठुलो छलाङ नै मारेको छ । नयाँ पुस्ता मात्र होइन अन्य बिधामा स्थापित स्रष्टाहरूले समेत हाइकुको क्षेत्रमा कलम चलाउन थाल्नु भएको छ । यति हुँदा-हुँदै पनि नेपाली साहित्यमा हाइकुको खोज मूलक सैद्धान्तिक पुस्तक प्रकाशित हुन सकेको छैन । हाइकुको इतिहासको बारेमा लेखिएको केही पुस्तकहरू त छन् तर तिनीहरूबाट पाठकहरूले खोजेको सबै कुरा प्रप्त गर्न नसकिरहेको अवस्था छ । त्यो रिक्तता पूर्ण गर्नको लागि एउटा खोज-मूलक र जानकारी-मूलक हाइकुको इतिहास समेटिएको पुस्तकको तयारीमा छु । तर प्रकाशनको लागि मात्रै प्रकाशन पक्कै हुने छैन ।

प्रसंग बदलौं, अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को केन्द्रीय मूखपृष्ठ ‘अन्तर्दृष्टि’को प्रधान-सम्पादक अनि अनेसास जापानको उपाध्यक्ष हुनुहुन्छ । अनेसासको औचित्य र यसमा काम गर्दाका गर्नुपछाडिका कारणहरू के छन्?
अनेसासले झन्डै दुइ दशक लामो इतिहासमा विश्वभरि छरिएर रहेका धेरै स्रष्टा एवं सर्जकहरूलाई एउटै मालामा उन्ने काम गरेको छ । पाँच दर्जनभन्दा बढी च्याप्टरहरू रहेको अनेसासको लोकप्रियता बढ्दो छ । यद्यपि यसले समेट्नु पर्ने तर समेट्न नसकेका क्षेत्रहरू पनि कम भने छैनन् । म बिगत २ वर्षदेखि अनेसासको मुखपत्र अन्तर्दृष्टिको मुखपत्रको प्रधान-सम्पादकको रुपमा काम गर्दा विभिन्न देशमा रहनु भएका साहित्यिक क्षेत्रमा सकृय साथीहरूसँग निकटता बढेको छ । सबैभन्दा ठुलो कुरा साहित्यिक सन्तुष्टि मिलेको छ ।आफूभन्दा धेरै बरिष्ठ तथा स्थापित साहित्यकारहरू समेतको रचनालाई आफ्नो सम्पदकत्त्वमा समेट्न पाउनुलाई पनि एउटा उपलब्धि ठानेको छु । मेरो कार्यकालमा अन्तर्दृष्टिको स्तरीयतामा व्यापक सुधार भएको कुरा दावीको साथ भन्न सक्छु । म अनेसास जापानको उपाध्यक्षको रुपमा रहेको ३ वर्ष पुगेको छ । यो बीचमा मैले धेरै साथी पाएको छु, हौसला पाएको छु, उत्साह पाएको छु र राम्रो साहित्यिक वातावरण पाएको छु ।

साहित्यकार भएर खुरुखुरु लेखेर बसे भैहाल्यो नि! किन यस्ता संगठनमा लागिराख्नुपर्यो! हैन र?
होइन, मेरो बिचार भिन्न छ । साहित्य लेख्ने नाममा एक्लै धुमधुम्ती लेख्ने अनि बाकसमा थन्क्याउने हो भने त्यसले खासै अर्थ राख्दैन । आफ्नो कला, शैली र खुबी देखाउने पनि एउटा ठाउँ चाहिन्छ । त्यसैले पनि सर्जकहरू कुनै न कुनै साहित्यिक संस्थामा संलग्न भएको पाइन्छ । एक्लो म्यराथुन निरर्थक हुन्छ; सामुहिक रुपमा अगाडि बढ्नु धेरै नजरबाट सरल र सहज हुन्छ । बिदेशमा रहेर साहित्य सिर्जना गर्नेहरूको लागि त झनै महत्त्वपूर्ण हुन्छ । अनेसास जापानमा संलग्न भएपछि मलाई जापान प्रबेश गर्दाका दिनमा हुने एक्लो पनाको महसुस पुरै हेटको छ । जापान च्याप्टर गठन गर्दाका क्षणदेखि नै यसको मलजल गर्न लाग्नुभएका अग्रजहरूबाट धेरै सिक्ने र नवप्रबेशीसँगै समकालीन मित्रहरूसँग हातेमालो गरेर हिंड्ने सुनौलो अवसर मिलेको छ ।

मझेरीलाई यसको जन्मदेखि नै नजीकबाटै हेर्नुभा’छ। हाम्रो यो दुई वर्षलाई कसरी मूल्यांकन गर्नुहुन्छ?
सुरुका दिनबाट नै मझेरीलाई नजिकबाट हेर्ने अवसर पाइरहेको छु । छोटो समयमा नै मझेरीले ठुलो फड्को मारेको छ । संचलकको रुपमा तपाईं कुमारजीले गर्नु भएको मेहनत प्रशंसनीय छ । सहित्यिक रचना समबेश भएको हिसाबले सम्भवत मझेरी डट कम सबैभन्दा ठुलो नेपाली साहित्यिक भन्डार बन्न पुगेको छ । यो साह्रै सुखद पक्ष हो । आफ्नो रचना आफैंले पोस्ट गर्न सकिनु मझेरीको प्रमुख बिशेषता हो ।

राम्रा शब्दका लागि धन्यवाद छ। मझेरीमा कस्ता रचनाहरू बढी पढ्नुहुन्छ ? विशेष मन पर्ने लेखकहरू पनि छन् कि?
अक्सर गरी गजल र हाइकु र त्यससँग समबन्धित रचना धेरै हेर्ने गर्छु । समीक्षात्मक एवं बिश्लेशणयुक्त लेख/रचना पनि फुर्सदको दिनमा पद्छु । मझेरीमा धेरै स्रष्टाहरूका निकै राम्रा-राम्रा रचनाहरू छन । मन पर्ने १-२ जनको नाम लिन मुस्किल पर्छ ।

अहिलेसम्म सबै स्रष्टाहरूलाई सोधेको प्रश्न राखौं : मझेरीलाई कसरी अँझ प्रभावकारी बनाउन सकिन्छ?
पाठकको रुचि र चाहना बुझेर अगाडि बढेको अवस्थामा मझेरीले अझै लोकप्रियता प्राप्त गर्न सक्छ । स्तरीयतालाई मध्य-नजर गर्दै नवसर्जक सहितलाई समेट्न सक्नुपर्छ । आधुनिक प्रबिधिको युगमा नयाँ-नयाँ प्रबिधिको उपायोग गर्दै पाठकहरूलाई सक्दो सुबिधा प्रदान गरी आफूतिर आकर्शित गर्न सक्नु पर्छ । स्रष्टाहरूमा उत्साह ल्याउनको लागि प्रकाशित रचनाहरूलाई मासिक उत्कृष्टता छुट्यायर पुरस्कृत गर्ने, पाठक भोटको ब्यबस्था गर्ने, नयाँ स्तम्भको थालनी गर्ने लगायतको बिधिहरू मझेरीको निम्ति फलदायी बन्न सक्छन ।

सुझाबको लािग धन्यवाद । आगामी दिनहरूमा सुधार गर्ने जमर्को गर्नेछौं । संसारभरि छरिनुभएका लेखक तथा पाठकहरूलाई केही सन्देश दिन दिनुस् न!
अवसर कसैले दिने होइन, स्रष्टाले अवसरको खोजी आफै गर्नुपर्छ । थोरै काम गरेर धेरै हल्ला गर्नुभन्दा धेरै काम गरेर थोरै हल्ला गर्नु उपयुक्त हुन्छ जस्तो लाग्छ । महत्त्वपूर्ण कुरा त काम हो । काम गरेपछि त्यसको मुल्यांकन भविष्यमा पक्कै हुन्छ । साहित्यलाई माया गरौं स्रष्टाको सम्मान गरौं ।

अन्तमा, केही भन्न चाहनुहुन्छ भने बताइदिनुहोला ।
मझेरीका सन्चलक कुमारजीलाई धन्यवाद । मेरो साहित्यिक यात्राको यो चरणसम्म आउन सहयोग गर्ने चितवन जिल्लाका सम्पूर्ण साहित्यकारज्यूहरूलाई समेत धन्यवाद । सबैले साहित्यिक पत्रिका किनेर पढ्ने बानी बसालौं ।विश्वको जुन सुकै कुनामा रहे पनि हामी नेपाली हौ भन्ने भावना नबिर्सौ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

11 thoughts on “मझेरी भलाकुसारी, अंक ०६ (प्रकाश पौडेल माइला)”

  1. बधाई छ प्रकाश पौडेल ‘माइला’
    बधाई छ प्रकाश पौडेल ‘माइला’ भाई तपाईलाई र धन्यवाद मझेरी डटकमलाई र अझ विशेषतः कुमार सिंखडालाई जस्ले मझेरी डटकम ई–पत्रिका सञ्चालन गरेर भित्रिभत्रै छुपेरूस्तमका रूपमा बसेका एक से एक स्रष्टाहरूलाई खोजी खोजी बाहिर ल्याएर हामीजस्ता कुनाकाज्चामा बसेका सबै साहित्य प्रेमी आला–काँचाहरूका माझमा ल्याएर हाम्रो पनि को कस्तो होला भन्ने जिज्ञासा मेटाउने काम गर्नु भएको छ । अर्कोतिर प्रकाश पौडेल ‘माइला’ भाई जस्ले जन्मस्थान भन्दा सात समुन्द्र पारी बसेर पनि लगातार साहित्यिक सेवामा समर्पित भएर हामीहरूलाई समेत झक्झक्याई रहनु भएको छ । वहा जस्तो साहित्यमा लगनशील ब्यक्तिलाई मझेरीको स्क्रिनमा भलाकुसारी अन्तर्वाता प्रकाशनमा ल्याएर जती राम्रो कार्य भएको छ । मलाई लाग्छ यस्को मूल्याङ्कन भविश्यले अवश्य नै गर्ने छ । अन्तमा फेरी प्रकाश पौडेल ‘माइला’ भाईलाई बधाई एवम् कुमार सिंखडाज्यूलाई हार्दिक धन्यवाद ।

  2. हाइकु कवि माइलाको भलाकुसारी
    हाइकु कवि माइलाको भलाकुसारी लामो प्रतिक्षा पछि पढ्न पाएर खुशी लागेको छः
    युवा स्रष्टाका जोसिला कुरा पढ्ने सौभाग्य मझेरीले दिएको छ नगदे लगायत
    अन्नको भण्डार चितवन भनेर बुझ्ने मौका पाएथेँ तर साहित्यको समेत राजधानी बनेको थाह पाउँदा खुशी लाग्यो
    बाँकी अर्को पटक माइलाजीसँग कुराकानी गर्नेछु
    किनकि म पनि माइलै परेँ
    अहिलेलाई नमस्कार भन्नु अघि जापानी दशैँ अनुभव सुनाउन र सायद त्यहीँ रहेका दुबसु क्षेत्रीबारे के

  3. मझेरीका लेखक र पाठक लगायत
    मझेरीका लेखक र पाठक लगायत देशविदेशका सम्पूर्ण साहित्यप्रेमीहरूमा 2067 को दशैँको शुभकामनाComgratulation maila jeeकवि माइलाको भलाकुसारी लामो प्रतिक्षा पछि पढ्न पाएर खुशी लागेको छः
    युवा स्रष्टाका जोसिला कुरा पढ्ने सौभाग्य मझेरीले दिएको छ नगदे लगायत
    अन्नको भण्डार चितवन भनेर बुझ्ने मौका पाएथेँ तर साहित्यको समेत राजधानी बनेको थाह पाउँदा खुशी लाग्यो
    बाँकी अर्को पटक माइलाजीसँग कुराकानी गर्नेछु
    किनकि म पनि माइलै परेँ
    अहिलेलाई नमस्कार भन्नु अघि जापानी दशैँ अनुभव सुनाउन र सायद त्यहीँ रहेका दुबसु क्षेत्रीबारे केही जान्ने रहर थियो

    संभव भए पूरा गर्न अनुरोध
    किनकि उनको चोथो आयाम कविताको स्वादको पारखी म पनि हुँ तर अचेल त्यस खाले कविता नै पाइन्न
    कवि माइलाजी
    सामल खाजा लिएर नै बसेँ म त
    एक जना लघुकथाकार छन् (नाम भुलेँ अहिले नामले जान्ने हैन थर ख्याल गर्ने रोग मेरो हो नाम सम्झन खोजे सबै कुरो भताभुङ्ग हुन्छ पछि आवश्यक नै परेमा दराजमा किताब खोजेर भन्नेछु)
    उनले पहिले शीर्षक त्यसपछि एउटा हाइकु अनि लघुकथा गरेर कथा लेखे
    जसको नामाकरण हाइकुकथा भने
    के यस्तो प्रथा जापानी हाइकु विधामा छ त
    ?
    YO CHALEKO PRATHA HO YA NAYA PARAYOG ?
    IT WILL BE BETTER IF YOU HELP ME.
    पछि अरु लेख्छु अहिले चाहि विजया दशमीको शुभकामना

  4. शब्द संयोजनका दृष्टिले प्रकाश
    शब्द संयोजनका दृष्टिले प्रकाश पौडेल माइलाजीका हाइकु जेठो र गजल चाहिं माइलो हो कि जस्तो लाग्यो
    साहित्यका अथक युवा श्रस्टाको अन्तर्वार्ता पढ्ने अवसर दिनु भएकोमा प्रिय भाइ कुमार र मझेरी परिवारलाई धेरै धन्यवाद
    शरण आँसु

  5. कम समयमै निकै परिश्रम गरेर
    कम समयमै निकै परिश्रम गरेर अन्तर्बार्ताको लागि तयार हुनुभएकोमा प्रकाशजीलाई धन्यवाद छ। अनि, मझेरीमा प्रतिकृया दिनुहुने पाठक लेखकज्यूहरू पनि धन्यवादका पात्र हुनुहुन्छ ।
    आशा छ, पाठकहरूले विदेशमा रहेर साहित्ययात्रामा संघर्षरत एक युवाको बारेमा केही जानकारी पाउनुभयो। अनि, विशेष गरी हाइकु क्षेत्रमा केही जान्न आवश्यक परेमा तपाईंलाई थाहा छ कसलाई सम्पर्क गर्नुपर्छ।

  6. Santulit bichar ko sahityik
    Santulit bichar ko sahityik abhibyakti padna pauda ramro lagyo. Byasta saharma paryapta mehenat pokhdai rojiroti-byabasaya ra sahitya lai saphal rupma agadi badhauna sakshyam MAILA jee lai mero salam ani uttarottar pragatee ko kamana. MAJHERI dot com lai naba prabeshi tatha sthapit sarjak-srastha lai ajha sakriya banauna kheleko sarahniya bhumika ko kadar gardai sadhubad. Sampurna pathak haruma BIJAYA DASHAMI ko hardik subha kamana.

  7. ऋषि दाइ (गोर्खे
    ऋषि दाइ (गोर्खे साइलो),नन्दलाल जी ,शरण आसु ,संदेश जी,आलोक जी लगायत संचालक कुमार सिंखडा जी लाई धन्यवाद,सारगर्भित प्रतिक्रियाको लागि आभार प्रकट गर्दछु नन्दलाल जी को जिज्ञासाको केहि समाधान गर्ने प्रयाश गर्दै छु ,
    तपाईले भन्नु भयको हाइकु कथा लेख्ने स्रस्टा पोश चापागाई हुनुहुन्छ,वहासंग मो राम्रै चिनजान छ वहाले लेख्नु भयको हाइकु कथाको बारेमा त तपाई ले बुझ्नु भयकै रहेछ ,जापानी परिपाटीमा हाइकु कथाको ठ्याक्कै मिल्दो बिधि छैन. तर कुरा कहाँ निर फरक छ भने , जापानमा विभिन्न ठाउँ यात्रा गरेर यात्राको ब्याख्या लेखेर त्यो संग सम्बन्धित हाइकु तल लेख्ने प्रचलन छ जसलाई जापानीमा हाइबुन भन्ने गरिन्छ नेपालि हाइकु साहित्यमा यात्रा हाइकुको जग त्यति मौलायको छैन, फाट्टफुट्ट रुपमा मात्र देखिन्छ ,यात्रा गरेर हाइकु लेख्नु र एउटा हाइकु लेखेर त्यसको ब्याख्या लेख्नु भनेको धेरै नै फरक कुरा हो.यात्रा गरेर लेखिने हाइकुको घेरा निकै फराकिलो हुन्छ तर हाइकु लेखेर ब्याख्या लेख्नु भनेको उल्लेखित कुरा संग तुलना हुन सक्दैन ,यद्यपि पोश जी ले गर्नु भयको नया प्रयोगले नेपालि हाईकु साहित्यमा एउटा इट्टा पक्कै थपेको छ तर धेरै स्रस्टामा भ्रम उत्पन्न गरायको पनि छ

    प्रकाश पौडेल माइला

  8. प्रकाश दाईको अन्तरबार्ता पढेर
    प्रकाश दाईको अन्तरबार्ता पढेर मलाई पनि हाइकु लेख्न मन लागेर आयो ! हाइकुको बारेमा धेरै कुरा जान्ने मौका पाइयो त्यसको लागि धेरै धेरै धन्यवाद तपाइलाई

  9. प्रकाश दाइको हाइकु धेरै अगाडी
    प्रकाश दाइको हाइकु धेरै अगाडी देखि पढ्ने अवसर पायको छु , मझेरीमा लेख रचना प्रकाशित हुन थाले पछी त झन् राहत मिलेको थियो. अन्तरबार्ता उत्कृस्ट छ ,साहित्यिक सफलताको कामना

    गणेश सापकोटा
    योकोहामा, जापान

Leave a Reply

Your email address will not be published. Required fields are marked *