Skip to content

मझेरी भलाकुसारी, अंक ०३ (आचार्य प्रभा)

AcharyaPrabha-02


शुरुमा आफ्नो बारे केही बताइदिनुस् न!

मैले आफ्नो बारेमा बताउनु पर्दा म एक गृहिणी हुँ । म आफ्नो ब्यवहारिक पक्ष बाहेक गीत, संगीत, साहित्यलाई मन पराउँछु । लेखन मेरो उद्देश्य हो भने समाजसेवा पनि मेरो उद्देश्य र रुचिको बिषय हो । म बालककालदेखि नै कलम चलाउँथे र अहिलेसम्म लगभग तीन दशकभन्दा बढी नै भइसकेता पनि यो निरन्तर चलिरहेछ र आजन्म चल्नेछ । अहिले म आफ्नो भूमिबाट टाढा छु तापनि मेरो भावना र सृजनाले भने मेरो देशको माटोलाई स्पर्श गरिरहेको आभास दिलाउन चाहन्छु। र त म सधैं नेपाली साहित्यको भण्डारमा शब्दरुपी अन्नहरू भर्न लालायित छु । मैले आफ्नो भूमि छाडेर अमेरिका भित्रिएको पाँच बर्ष भईसक्यो तापनि हर पल मेरो देशको सम्झना बोकेरै मेरो ढुक्ढुकी चलिरहेको छ । म भविष्यमा आफ्नै देश फर्केर समाज सेवा र साहित्य, गीत, संगीतको सेवा गर्न चाहन्छु ।


तपाईंको लागि साहित्य के हो?

साहित्य एउटा सुन्दर फूलबारी हो जहाँ हर बिधाका बिभिन्न फूलहरू फुल्छन् । जसले सबैलाई सुगन्ध छर्छ । मेरो बिचारमा साहित्य मनको उद्वेग, खुशी, उद्देश्य, सान्त्वनाको पुल र मनको सुन्दर तलाउ हो जहाँ डुबुल्की लगाउन थालेपछि मनका सारा निरसता, हिनताबोध, दुख, पीडा नै पखालिन्छ र मन स्वच्छ र आनन्दित हुन्छ । सामाजिक तौरले हेर्ने हो भने साहित्य समाजको दर्पण हो जहाँ सबै कुरा छर्लंगिन्छ । साहित्यले समाज, देशलाई निस्वार्थ आँखाले हेर्दछ । साहित्यको परिभाषा सधैं अपूर्ण नै हुन्छ । हामीले यसको पूर्ण परिभाषा दिनलाई अझै यसको तलाउमा पौडन जान्नु पर्दछ । यसैले यसको परिभाषा यत्ति भनेर मात्र पुग्छ जस्तो मलाई लाग्दैन । मेरो लागि भने साहित्य मेरो जीवन हो । उद्देश्य हो जसमा म लागिपर्न चाहन्छु र मेरो जीवनको सार पाउँछु ।


यो क्षेत्रमा कसरी प्रवेश गर्नुभयो?

प्रवेश गर्छु भनेर प्रवेश गरेको होइन । यो क्षेत्रमा लाग्नलाई पहिला त ईश्वरीय बरदान नै हुनुपर्छ जस्तो लाग्छ मलाई । आफूमा लेखन कला, भावनालाई सम्प्रेषण गर्ने दक्षता, शब्द-शब्दलाई उनेर आकर्षक बनाउने क्षमता र सम्बेदनशीलता भने अवश्य हुनुपर्छ अनि समर्पणको भावना भयो भने अवश्य यो क्षेत्रको प्रवेश सफल हुन्छ । म पनि यसरी नै र यस्तै कुराहरूको सहयोगले सायद प्रवेश भएँ । यो क्षेत्रमा प्रवेश हुन साहित्यिक माहौल, साहित्यिक परिवेशको पनि आवश्यक हुन्छ। यसको लागि आफूले पनि त्यस्तै परिवेश बनाउने कोसिस गर्नु पर्छ । हो, मेरो १३ बर्षको कलिलो उमेरको साहित्यिक प्रवेश पनि यस्तै बातावरणबाट नै भयो भन्न सक्छु ।


फुर्सदको समय कसरी बिताउनुहुन्छ?

मेरो एउटा बानी छ जुन बानी मेरोलागी मात्र राम्रो हुन सक्ला । म कहिले पनि र कुनै पनि ठाउँमा हात बाँधेर चुपचाप बस्न सक्दिन। मैले केही गरेकै हुनुपर्छ । म हरपललाई सही सदुपयोग गर्न चाहन्छु । त्यसैले म फुर्सदमा सृजना नै गर्छु । मलाई ब्यर्थमा समय नष्ट गर्नु जत्तिको नमीठो केही लाग्दैन । सम्झनु होस् हर समय फुर्सद र परिवेश, बातावरण अनुसार म कलमसँगै खेलिरहेकी हुन्छु । अन्य आफ्नो दिनचर्या बाहेक । सबै भन्दा ठुलो सौख नै मेरो लेखन हो । फुर्सद नै मेरो त भावना र कलमले बन्धक राखिसकेको छ, त्यसैले मेरो फुर्सद उक्सिनु भनेको नै जीवन बिश्रामपछि मात्र हुन सक्ला ।


तपाईंलाई मनपर्ने लेखक को हुन्?

अब यो बिषयमा म अन्योलमा नै छु । जति पुराना लेखकहरू मन पर्ने हुनुहुन्थ्यो अहिले त्यति नै नयाँ लेखकहरूको पनि प्रवेश भएको छ । आखिर कसैको पनि सुन्दर बाणी, सुन्दर भावना कहाँ नमीठो र नराम्रो हुन्छ र? त्यसैले म भन्न रुचाउँछु कि सबैले सुन्दर भावनाले रचेको सृजना सुन्दर नै हुन्छ । सबैलाई सही आँखाले हेरिदिनुपर्छ र पढिदिनुपर्छ ।


व्यक्तिगत प्रश्न गरौं, श्रीमान-श्रीमती नै लेखनमा लाग्नुभा’ रहेछ। संयोग हो कि साहित्यकै माध्यमले तपाईंहरूलाई नजिक्याएको हो?

हामी सानोदेखि नै सँगै सहपाठी थियौँ । हाम्रा गुरु डा. गोबिन्दराज भट्टराईले हामी लेखन क्षेत्रमा रुची राख्नेहरूलाई हौशला, उत्साह, प्रेरणा र लेख्ने बातावरण बनाइदिनु हुन्थ्यो । हामी पाठशालाकै पत्रिकाहरूमा लेख्थ्यौँ । त्यो समय पत्र, पत्रिका प्रकाशन कम थियो । कक्षामा नै कविता प्रतियोगिताहरू हुन्थे । यसरी पाठशालामा हामी सँगै लेख्थ्यौँ । त्यही सुरुवात नै मेरो दीर्घ रह्यो भने वहाँ भने अल्प हुनु भो । म भने अझै थाकेकी छुइन । कहिलेकाहीं केशबजीलाई पनि उठाउने प्रयत्न त गर्छु तर यो भनेको अरुले उठाएर मात्र हुने होइन ।वहाँ पनि गजल, कविता, गीत लेख्नुहुन्छ तर मौनताभित्र रहेर । मेरो झक्झकाइले कहिलेकाहीं । भन्नै पर्दा साहित्य हाम्रो मिलन भने होइन तर विद्यार्थी जीवन हाम्रो सामीप्यता भने हो ।


तपाईंका हालसम्म प्रकाशित गर्नुभएका कृतिहरू बारेमा बताइदिनुहुन्छ कि?

पुस्तकाकारको रुपमा भने लेखन क्षेत्रको २५ औं बर्षपछि “परदेशबाट” कविता संग्रह नेपालबाट नै निकालें । आफू अमेरिकामा नै भए पनि । २०५२ सालमा एकै पटक आधुनिक र पप गीति एल्बम “तिम्रो पर्खाइमा” र “ड्रिम्स” अनि “ईश्वर बन्दना” भजन निस्के । अन्य संकलन् एल्बमहरूमा त धेरै नै गीतहरू आए । कृतिकै रूपमा नआए पनि बिभिन्न पत्र, पत्रिका, रेडियो, एफ.एमहरूमा गीत, कथा, गीतिकथा, नाटक, कविता, भजन, गजलहरू प्रसारण प्रशस्त मात्रामा भए ।


कस्तो समयमा लेख्ने भावना फुर्छ?

मलाई भावना फुर्न खासै त्यस्तो समय चाहिन्न । म जतिबेला पनि सृजना तयार गर्छु । बिशेष गरी म एउटै समयमा दुइवटा काम गर्छु । आजभोलि त म खाना पकाउँदै पनि रचनाहरू तयार गर्ने गर्छु । कहिलेकाहीं हिँड्दा हिँड्दै पनि भावना फुर्छ । कहिले निन्द्राकै सुरमा पनि दिमागमा रचना ज्न्म हुन्छ र उठेर त्यस्लाई स्वरूप दिन्छु । मलाई कुनै पनि समयले बाधा गर्दैन जब मनमा भावना उर्लिन्छ ।


कुन विधामा लेख्ता विशेष आनन्द महसुस गर्नुहुन्छ?

सबैभन्दा मलाई आनन्द लाग्ने बिधा आजकल “गजल” भएको छ । यो गेयात्मक पनि हुन्छ, भावना पनि प्रशस्त खेलाउन पाईन्छ। यो सम्वेदनशील पनि हुन्छ, अनि नियमको परिधिमा बाँधिनु पर्ने हुनाले अनुशासित पनि बन्नु पर्छ । यसमा मनको निरसता, चंचलता, आशा, निराशा, मिलन, बिछोड, सबै प्रकारका भावनाहरूलाई उन्न पाईन्छ । हुन त गीत, कवितामा पनि नपाईने होइन तर समग्रमा भन्नु पर्दा “गजल”ले अनुशासनभित्र बाँधेर हर लेखकलाई दक्ष र अनुशासित बनाउँछ । नत्र त सबै कवि, लेखक भइहाल्थे नि । “गजल”मा आनन्द आउनुको मज्जा नै यसले दिमागलाई कसरत गराउँछ गीत, कविताले भन्दा । जुन बस्तु गार्हो हुन्छ त्यसमा प्रयासरत भईयो भने त्यसको सफलताले नै आत्मासन्तुष्टि र आनन्द दिँदोरहेछ ।


पेशाले जीवनबाट साहित्यको लागि समय कसरी निकाल्नुहुन्छ?

यस्तो व्यस्त ठाउँ । जहाँ मान्छे हरेक पल समयलाई डलरमा परीभाषित गर्न मरिहत्ते गर्छन् । तर म भने खै ? गोजी रित्तै भए पनि सृजनाकै खेतीमा मग्न छु । मलाई ठाउँ, समय, सीमानाले कहिले पनि रोकेन, छेकेन साहित्यलाई स्पर्ष गर्न । जहाँ इच्छा त्यहाँ उपाय भन्छन् नि! सायद यो मुलमन्त्र पनि मेरो लागि लागु भएको हुनुपर्छ । “मलाई जीवन लाएर, खाएर बाँचेको भन्दा, सृजनशील काम गरेर जिएको मन पर्छ” त्यसैले पनि होला समयले मलाई साथ दिएको अब त ३० बर्ष नै भइसक्यो । समय मैले निकाल्नु पर्दैन समय आफै मेरो मर्म बुझेर सधैं तयार रहन्छ, साहित्यको ढोका उघार्न ।


अमेरिकातिर बस्न थाल्नुभएको कति भयो?

म अमेरिकामा बस्न थालेको पाँच बर्षभन्दा बढी भयो । तर मलाई त अमेरिकामा शरीर भए पनि भावना र सृजनाले त नेपालमा नै भएको आभास छ । किनकि म हरपल नेपाली भाषाको उत्थानमा लागिपरेकी छु र नेपालकै सम्झना र झल्झल्को बोकेर बाँचेकी छु ।


कोलोराडोतिर नियमित रुपमा साहित्यिक कार्यक्रम गर्नुहुँदो रहेछ। के-कस्ता गतिबिधि गर्नुहुन्छ? अनि, सहभागिता कस्तो हुन्छ?

कोलोराडोमा साहित्यिक कार्यक्रमहरू प्रशस्त गरिन्छ। यहाँ साहित्य र लेखनमा रमाउँने हामी प्रशस्त छौं । हामी प्रत्येक महिनाको अन्तिम शनिबार कवि गोष्ठी गर्छौं । कुनै पनि विभूतिहरूको जन्म-जयन्ती मनाउँछौ । कोलोराडो नेपाली साहित्यले परिपूर्ण छ भन्नमा अत्युक्ति हुन्न । सहभागिता निक्कै राम्रो हुन्छ र मसिना बाल, बालिकाहरूले पनि कलम चलाउन थालिसकेका छन । श्रवणकर्ताहरूको पनि राम्रो सहभागिता हुन्छ ।


अहिलेको नेपाली साहित्यको स्थितिबारे तपाईंको धारणा कस्तो छ? कत्तिको सकारात्मक देख्नुहुन्छ?

अहिलेको नेपाली साहित्यबारे भन्नु पर्दा नेपालमा मात्र नभएर विश्वभरि छरिएर रहेका नेपालीहरूले नेपाली साहित्यको उठानका लागि धेरै प्रयास गरिरहेका छन् । “डायोस्पोरा”को संज्ञा दिएर नेपाली साहित्यलाई जुनसुकै भूमिमा रहेर पनि नेपाली साहित्यकारहरूले आ-आफ्नो तवरबाट योगदान दिइरहेका छन् । हर युवा पिढीहरू कलम लिएर जुर्मुराएका छन् । सबै देशमा रहने नेपाली साहित्यप्रेमीहरूले नेपाली भाषा र साहित्यको उठानको लागि बिभिन्न वेबसाइट पत्रिकाहरूको संचालन गरिरहेका छन् । सबै लेख्न रुचाउनेहरूलाई सहज बनाइ दिएका छन् । यस्तो अवस्थालाई नै त सकारात्मक्ताको उपाधि दिनुपर्ला नि । कसैको कलम सुतेर बसेको छैन उद्गारहरू पोख्ने ठाउँ प्रशस्त छन् । यो नै सकारात्मक बाटोको पहिचान हो । नेपाली साहित्यको भविष्य सुन्दर छ । नयाँ आउने युवाहरूको कलम तीक्ष्ण बनेर आइरहेको छ । म आशावादी छु उनीहरूसँग ।


अमेरिका जानुअघि पनि नेपालमा निकै सकृयताका साथ लाग्नुभएको रहेछ। कस्ता कार्यक्रमहरू गर्नुहुन्थ्यो? विशेष क्षणहरू र समकालीन साथीहरू सम्झन पर्दा के-कस्ता क्षण र को-कसलाई सम्झनुहुन्छ?

म अमेरिका आउनुभन्दा अघाडी मात्र होइन नेपालमा भईन्जेल सधैं नै लेखन क्षेत्रमा सकृय भएँ । आफ्नो घर दमक, झापामा हुँदा हामीले “कोठे साहित्यिक यात्रा” नामक संस्था २०५२ /५३ तिर खोलेका थियौँ । त्यसको अध्यक्ष म नै थिएँ । त्यो संस्थाको उद्देश्य नै नयाँ युवाहरू जो लेखन क्षेत्रमा आउन चाहन्छन उनीहरूलाई प्रोत्साहित गर्ने र बिभिन्न साहित्यिक कार्यक्रमहरू गरेर साहित्यलाई जीवन्त बनाउँने थियो । यो धेरै बर्षसम्म दिगो पनि रह्यो । म यता आइसकेपछि पनि मेरा भाइहरू प्रकाश आङ्देम्बे लगायत सबैले यसलाई दिगो राखेछन । म अत्यन्तै खुशी छु। मेरो शहर दमक साहित्यको दोश्रो नामले परीचित छ रे । म काठमाण्डौ आउँदा भने साहित्यमा भन्दा गीत, संगीतमा ब्यस्त हुन्थें कारण काठमाण्डौमा गायक संगीतकारहरूको जमात हुने हुनाले र रेकोर्डिङ स्टुडियो पनि प्रशस्त हुनाले । म त्यहाँ भने व्यवसायिक गीतकारको हिसाबले ब्यस्त हुन्थें तर कुनै पनि साहित्यिक कार्यक्रमहरू पनि छुट्टाउँदिनथेँ । अब मैले सम्झिनु नै पर्दा त म साहित्यिक /सांगीतिक क्षेत्रका कस्लाई सम्झिन्न र ? जोसँग पनि त घनिष्टता र मित्रता थियो । तर पनि मैले सम्झिनु नै पर्दा मेरा “कोठे साहित्यिक यात्राका” भाइ-बहिनीहरू सबैलाई सम्झन्छु जो मेरा घरमा मलाई भेट्न धाएर आउँथे । मेरा गाली पनि खान्थे । मलाई माया र आदर गर्थे । सबैको नाम अहिले म भन्न सक्दिन तर झझल्कोले सताएर मेरा आँखा नै रसाइसके । म उनीहरूलाई सधैं सम्झन्छु । अहिले उनीहरू जहाँ जहाँ छन् साहित्यलाई अघि बढाइरहेका छन् । कुरा हुँदा भन्ने गर्छन् यो सब दिदीको देन भनेर म गर्वित बन्छु र गुमाएको उत्तिकै महसुश गर्छु ।


नेपालमा सकृय स्रष्टाहरू र विदेशमा रहने लेखकहरूको बिचमा अलि दूरी छ भन्ने सुनिन्छ। यसमा कत्तिको सत्यता पाउनुहुन्छ? त्यो दूरी घटाउन के गर्नुपर्ला?

ओहो! अहिलेको यस्तो यान्त्रिक दुनियाँमा पनि त्यस्तो दूरी छ र ? म त अमेरिकामा बसेर पो मेरा २० औं बर्ष अघि छुट्टिएका लेखक /साहित्यकार मित्रहरूसँग नजिक भएको आभास पाउँदैछु त । त्यो सोंचसँग म सहमत छैन । अब इन्टरनेटमा बसेर पनि खालि अरु नै चिज हेर्यो र कुनै साहित्यिक पत्र-पत्रिकाको अवलोकन गरिएन भने त सायद दूरी होला नै । तर अँझै भनौ नै भने त यो फेसबूकले मलाई त मेरा साहित्यिक /सांगीतिक मित्रहरूसँग नजिक गराएको छ । जुनसुकै कुराको पनि सही सदुपयोग हुनुपर्छ । म यसैमा रमाएकी छु । अब दूरी घटाउनलाई त बिभिन्न नेपाली इन्टर्नेट पत्रिकाहरू हेर्ने, श्रष्टाहरूको रचनाहरू पढ्ने, सबैसँग नजिकको भावना राख्ने । यो समय र अवस्थाले त शरीर टाढा भए पनि भावना त झन नजिक गराइदिएको छ नि । कोशीस आफ्नो तर्फबाट हुनुपर्छ । त्यसैले भावना नजिक भएपछि शरिर टाढा भए पनि एक-अर्कामा सामीप्यताको महसुस हुन्छ र सृजनाहरूको आदानप्रदान गर्न सकिन्छ ।


तपाईंको लागि नेपालमा रहनु र विदेशमा रहनुमा के भिन्नता छ?

मेरा लागि धेरै भिन्नता छ । आमाको काखमा रोएर सन्तुष्टि भएर निदाउनु र सौतेनी आमाको काखमा डर र त्रासको हाँसो हाँस्नु जस्तै हो ।


नेपालमा भएको भए यस्तो गर्थें, उस्तो गर्थें भन्ने त्यस्तो केही छ?

यो प्रश्नले पुरानो नारायण गोपालले गाएको गीतको याद आयो । “मलाई नसोध कहाँ दुख्छ घाउ”……, त्यो कल्पना कुन प्रवासीको मनमा नहोला र ? त्यही पनि म जस्तो सम्वेदनशील मान्छेको मनमा त के के पहिरो गएको छ नि । तर भन्नै पर्दा म मेरा ८० प्रतिशत समय लेखनमा नै बिताउँछु । त्यही भएर त्यस्तो मन दुखाइको सोंचबाट भने अलिक टाढा नै हुन्छु । तर कल्पना भने यस्तो आउँछ कि मीठा मीठा रचनाहरूको सृजना गरेर आफ्नै देशमा रमाउथें । समाज सेवा गर्थें । नयाँ आउने पिंढीहरूलाई हौसला दिन्थें । जसरी म पहिला नेपालमा हुँदा गर्थें । जब मान्छे आफन्त र आफ्नो भूमिबाट टाढा हुन्छ नि अनि मात्र उसलाई महसुस हुन्छ कि आफ्नो देश र आफन्त । हो यही पीडा हर परदेशी मनमा गढेको छ । मलाई पनि त्यही चोट अवश्य छ ।


प्रसंग बदलौं, तपाईंको साहित्यिक गतिबिधिलाई सूचना प्रविधिले कत्तिको सहज बनाएको छ?

निस्वार्थ भावनाले भन्नु पर्दा सूचना प्रविधिले धेरै ठुलो सहयोग पुर्याएको छ । धेरैले प्रत्येक दिन नै रचनाको लागि आग्रह गर्छन् । म पनि सेवाको भावना र साहित्यिक बालीलाई अझ उर्वर बनाउँन दिनै लग्भग ४/५ वटासम्म रचना तयार गर्छु । सबैमा बेग्ला बेग्लै रचना संप्रेषण गर्न मन लाग्छ । मलाई मात्र सहज नभएर सबैलाई नै सहज भएको छ । तर अर्को बिडम्बना के पनि छ भने प्रशस्त सूचना प्रविधिको भीडले गर्दा आज भोलि भने रचनाहरूको स्तरमा ह्रास आएको छ । जस्तो पायो त्यस्तै रचनाहरू संप्रेषण हुने हुनाले राम्रो लेख्नेहरूको कलमले पनि हरेश खान थालेको छ । बिना परिमार्जन, साहित्यको नाममा अर्थहिन भावनाको थुप्रोहरू देख्दा भने अलिकति बिस्मात भने लागेको छ, नत्र सूचना प्रविधिले सबैलाई स्थान दिएको छ ।


नेपाली वेब पोर्टलतिर जता पनि तपाईंको गजल/गीतहरू पढ्न पाइन्छ। त्यति धेरै लेख्ने समय र भावना कसरी निकाल्नुहुन्छ?

यो प्रश्नको जवाफ प्रशस्त माथि नै छन् । किन समय बर्बाद गरौँ होइन ? सपना, बिपना, जपना नै लेखनमा छ त किन सबै पोर्टलमा पढ्न नपाउनु त ?


मझेरीलाई तपाईंले कस्तो मूल्यांकन गर्नुभएको छ? यसलाई कसरी अँझ प्रभावकारी बनाउन सकिन्छ?

मझेरी डट कम सँगको चिनारी मेरो बिगत एक बर्ष अघिदेखि को हो । मलाई स्तरीय नै लाग्छ । सबै कुरा गर्दै गए पछि त परिमार्जित हुँदै जाने हो नि । अब अन्तर्वाताको स्तम्भ पनि शुरु भएछ । अझ स्तरीयता बढ्ने नै भो । यसको दीर्घकालको कामना गर्दछु । यो साहित्यिक मनहरूको चौतारी बनिरहोस् । प्रभावकारी बनाउँन रचनाहरूको स्तरियमा ध्यान दिने । अरु स्तम्भहरू थप्ने जुन कुराले पाठकहरू आकर्षित होउन् ।


निकट भविष्यमा केही विशेष योजना छ कि?

मेरो भविष्यको योजना नै बर्तमानले दिइसकेको छ होइन र ? भविष्यमा अझ राम्रा, स्तरीय रचनाहरू जन्माएर साहित्यको भण्डार भर्ने र नेपालमा फर्केर केही सामाजिक सेवाको कामतिर लाग्ने बिचार छ । गीत, संगीतको क्षेत्रमा आजन्म लागिपर्ने सोंच छ ।


मझेरीका संसारभरि छरिनुभएका लेखक तथा पाठकहरूलाई केही सन्देश दिन दिनुस् न!

संसारभरी छरिएर रहनु भएका मझेरीका सम्पूर्ण पाठक र मझेरीलाई रचना पठाएर सहयोग गर्नु हुने सम्पूर्ण श्रष्टाहरूलाई के भन्न चाहन्छु भने सबैको सहयोगले नै कसैको पनि उद्देश्य र काम सफल बन्छ । मझेरी पनि यस्तै सहयोगको अपेक्षामा बाँचेको छ । नेपाली साहित्यलाई माया गरेर उभिएको यो मझेरी हामीसबैको चौतारी हो । यस्लाई नबिर्सौं । उत्साह र हौशला दिऊँ । यस्लाई स्तरीयतातिर लैजान स्तरीय रचनाहरू प्रेषित गरौँ ।


अन्तमा, केही भन्न चाहनुहुन्छ भने बताइदिनुहोला।

अन्त्यमा भन्नै पर्दा नेपाली साहित्य/ गीत/ संगीतलाई माया गरौँ । जहाँ छरिएर हामी नेपाली रहे पनि एकार्कामा सद्भाव बाँडौँ । बिदेशमा रहेर पनि नेपालीभित्र नै जात भात/ पूर्व/ पश्चिम भन्ने बैमनष्यताका कुराहरू नउठाअौं । देशको स्थिति राम्रो होस् भन्ने कामना गरौँ । देशलाई माया नमारौँ । बिभिन्न वेब साइट नेपाली पत्रिकाहरू पढ्ने बानी बसालौँ ।

बोनस: गीत (किन तिमी)
शब्द: आचार्य प्रभा, स्वर: सरिष्मा आमात्य, संगीत: अनिल शाही




आचार्य प्रभाका लेख/रचनाहरू

आचार्य प्रभा फेसबुकमा

12 thoughts on “मझेरी भलाकुसारी, अंक ०३ (आचार्य प्रभा)”

  1. euta kitchen bata pani bishal
    euta kitchen bata pani bishal shabdako parikaar pakiraheko chha.yasaka pachhadi desko mayaa pani ek kaarak tatwa rahechha.Ahile online sahitya atinai fastairheko bela yasle nepali sahityaka bibhinna hastiko bhetghat garna paiyine rahechha.yo artha ma nepali sahitya athaha bishal chha.
    yaslko ajha bistar hos…des nepali bhasako sambriddha hos..

    Majerile uahako interview rakhera atyantai nyaaya gareko maile mahasus gareko chhu.

    Thanks
    Dasharatha Rumdali

  2. प्रभा दिदी को लागि म सँग कुनै
    प्रभा दिदी को लागि म सँग कुनै शब्द नै छैन म उहा को फेसबूक मित्र पनि उहा का रचना पढन पाउदा मलाई आन्नद आउछ

  3. गजल-गीत स्रष्टा प्रभाज्यूको
    गजल-गीत स्रष्टा प्रभाज्यूको राष्ट्रप्रेमी विचारलाई अभिवादन
    आचार्य प्रभाज्यू,
    तपाईँका मन छुने विचार पढ्न पाउँदा अघोरै आभारी भएँ
    भौतिक शरीर भौगोलिक दुरीमा भए पनि मन भने नेपाल र नेपालीकै सेरोफेरोमा रहेको भनाइलाई स्वागत गर्ने ध्येयले एकाध शब्द खर्चने मन भयो
    गजल लेख्न कोमल मन चाहिन्छ कोमल शब्द खेलाउने दक्षता चाहिन्छ कोमल कुरालाई गजलले मज्जाले स्वीकार्छ भन्ने अवधारणा मेरो मनमा जन्म्यो के यो सोच ठीक हो त

  4. सर्व प्रथम त मझेरी डटकम वेब
    सर्व प्रथम त मझेरी डटकम वेब पत्रिकालाई हार्दिक धन्यवाद् !! हाम्रा आदरणिय एवम् हामी जस्ता नयाँ जोशहरूलाई एकदमै प्रेरणा प्रदान गरिरहनु हुने आचार्य प्रभाज्यूको अन्तर्वार्ता प्रकाशित गरिदिनु भएकोमा !! प्रभाज्यूको प्रेरणाबाट नै मैले अगि बढ्ने साहस लिन सकेको हुँ नत्र त म कुनै कुनामा थन्किएर बसेको हुने थिएँ, सायद । मलाई अहिले लागेर आएको छ कि मैले गर्नु पर्ने धेरै नै रहेछ अनि मैले चुपचाप बस्न हुदैन । यस्ता मुर्धन्य व्यक्तित्वको अन्तर्वार्ता प्रकाशित गरेर ठूलो गुण लगाउनु भएको हो भन्ने मलाई लागेको छ ।

    हार्दिक-हार्दिक धन्यवाद https://www.majheri.com परिवारलाई !!(-_-)!!

  5. प्रथमत: प्रभाजीलाई यस
    प्रथमत: प्रभाजीलाई यस अन्तर्बार्तामा भाग लिन मन्जुर गरिदिनुभएकोमा धन्यवाद छ।

    सधैंको अंक झैं यस पटक पनि स्रष्टाको व्यक्तिगत जीवनी अनि बिचारहरूलाई प्रतक्ष्य रुपमा जान्ने बुझ्ने मौका पाइयो। प्रभाजीको जिवनी हामीजस्ता सर्वसाधारण पाठकलाई प्रेरणादायी छ। अँझ, यस अन्तर्बार्तामा बिदेशमा बसेर मातृभूमि सम्झने पाठकहरूले त आफ्नै कथाहरू भेट्नुभयो होला जस्तो लाग्छ। आशा छ अन्य लेखक/पाठकहरूले पनि वहाँबाट केही सिक्ने पाउनुभयो होला। प्रभाजीको साहित्यिक यात्राको शुभकामना सहित आगामी दिनमा पनि मझेरीमा सकृय सहभागिताको अपेक्षा गर्दछौं।

    माथि, मझेरीलाई प्रशंसा गरिदिनुभएकोमा प्रतिकृया दिनुहुने महानुभावहरूलाई पनि धन्यवाद दिन चाहन्छौं। र, आगामी दिनमा पनि यस स्तम्भलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दछौं। आगामी अंकमा समावेश गर्ने प्रश्न अनि स्रष्टाबारे सुझाब भए हामीलाई हाम्रो सम्पर्क ठेगाना (info@majheri.com) मा पठाउनुहोला।

  6. यथार्थपरका..जिन्दगीका झंकरहरु
    यथार्थपरका..जिन्दगीका झंकरहरु उखेलेको पाए यो अन्तरबार्तामा प्रभा दिद्ज्युको..मान्छे जहाँ बसे पनि मन नेपाली हुन कहिल्यै छोडदैन भन्ने कुराको स्पष्टोउक्ति काफी छ दिदी हामी जस्ता लाखौ परदेशिएका मनहरुलाई भावनात्मक देशप्रेममा डुब्लुकी मार्नको लागि..अरु आउने दिनमा पनि पडन पाईरहियोस यस्ता अनुभबहरु..अरु शुभकामना दिदी यहालाई…
    सम्मर खड्का

  7. कुमार जी
    आचार्य जी संगको

    कुमार जी
    आचार्य जी संगको कुराकानी समाबेश गर्नु भयको मा खुशी लग्यो.धेरै कौतुहलता मेटीयको छ आचार्य जी लाइ समेत धन्यवाद

  8. आचार्य प्रभा विदेशमा बसेर पनि
    आचार्य प्रभा विदेशमा बसेर पनि देशका लागि मरी मेटेर साहित्यमा लाग्ने एक मात्र नेपाली नारी हुन् जस्तो लाग्छ । प्रभा जीका साहित्य प्रतिको समर्पणले नयाँ पिँढीहरूमा जोस जागरण भरेर सिर्जनाका लहर वा तरंगहरू फैल्याउन सहयोग गरेको छ । अति राम्रो वा उपयोगी भलाकुसरीका लागि मझेरीलाइ पनि धन्यवाद ।

  9. प्रथम त मझेरी डट कमलाई
    प्रथम त मझेरी डट कमलाई धन्यवाद । सम्पूर्ण पाठक बर्गलाई ह्रिदयबाट नै सहि सुझाव र प्रेरणाकोलागी नतमष्तक भइ धन्यवाद दिन चाहन्छु । मझेरीका हर प्रश्नमा मैले खुल्ला मन र सहि सोंचले नै जवाफ दिएकी हुँ । कुनै बनावटी उत्तर छैन । उदेश्य त यही छ तर परिस्थितीले के कसो गर्छ थाहा छैन । यहाँहरुको आशिर्वादले मेरो लक्ष पूरा अवश्य हुने नै छ । धन्यवाद मझेरी ।

  10. Thank you Majheri.com for
    Thank you Majheri.com for publishing this interview with Prabha Acharya. She has come a long way in nepali literature and I always admire her for the fact that she has not quit writing and contributing to the literary community despite her busy schedule.

  11. comment
    prabha didiko interview padhan pauda khusi lagyo uhako bare ma dherai gankari diyako lagi majheri lai dhanya baad srishma le gayako geet pani dami lagyo

  12. प्रभा जी लाइ साहित्यको
    प्रभा जी लाइ साहित्यको क्षेत्रमा भएको योगदान र यसैमा लागिपर्ने प्रतिबद्धताको लागि धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *