मझेरी भलाकुसारी, अंक ०२ (नन्दलाल आचार्य)

NandalalAcharya-02

शान्ति नै मेरो प्राप्तिको अनमोल अस्त्र हो। शान्तिमा फूल फुल्छ, अशान्तिमा ओइली झर्छ।

अर्यालको जयभोलिले सिकाएको दर्शनले गर्दा मलाई भविष्यमा कुनै लोभ छैन । म आज साँचो जीवन बाँचेर भोलि जिउँन चाहन्छु । आज नबाँची भोलि बाँच्ने चाहना राख्नु मूर्खतापूर्ण व्यवहार हो भन्ने मेरो ठहर छ। साहित्य (कलम)बाटै जसोतसो बाँचेको छु, बाँचिरहन्छु र मलाई लाग्छ म आज बाँच्न सकेँ भनेँ स्वतस्फुर्तरूपले भोलि जिउन पनि सक्छु ।

विल्कुलै प्रगतिन्नोमुख बाटोमा नेपाली साहित्य छ विश्व साहित्यसँग पौँठेजोरी खेल्ने हैसियत भइसकेको छ तर दुर्भाग्य भन्नुपर्छ कि मुखमा मस्तिष्क हुने नेताहरूको बाहुल्यताले कला, साहित्य धरासायी भएको छ ।

मानवीय जीवन नै नाटक हो। संसार रंगमञ्च हो हर घडी हामी अभिनय गरिरहेछौँ हामी जे गर्छौँ त्यसलाई हुवहु उतार्ने सक्षम र सजिलो विधा नाट्यविधा हो अन्य विधामा फूलबुट्टा धेरै चाहिन्छ फूलबुट्टाले सजाएको कृतिम रूपभन्दा प्राकृतिकताको कुरूप रूपको दर्शनाभिलाषी हुँ म ।

मझेरीले विशाल साहित्य भण्डारण गरेको देख्छु। शिष्ट र प्रगतिवादी विचार वर्णविन्यासीय कसीमा तौलेर मझेरीलाई सजाउँदै गए कोहीभन्दा कम हुन्न । राम्रो र हाम्रो मझेरी बनाउन इन्टरनेटको नाक मुख नदेखेका स्रष्टालाई पनि समेट्ने अभियान तीव्र पार्नुपर्छ।

देशलाई विक्री हुनबाट बचाउन बौद्धिक क्रान्तिमा सहभागी बनौँ काल मनधारीका कर्तुतको भण्डाफोर गरौँ। कलमबाट भा पनि नयाँ नेपाल बनाऔँ ।

-नन्दलाल आचार्य

शुरुमा, आफ्नो व्यक्तिगत तथा साहित्यिक परिचय दिनुस् न।

दुबैमा नाम नन्दलाल आचार्य हो । यदाकदा अक्षान्त एनेल, ललादन्न नामले पनि लेखेँ। संकटकालका बेलामा नाम लुकाउँदै लेख्दै गर्थेँ। कायरतापूर्वक इच्छुकको हत्या गरेर समय उल्टो घुमेको आभाष दिँदा उल्टो नाम रोजेको थिएँ । साहित्यलाई छोडेको कल्पना गर्दा जीवन नै छैन कि जस्तो लाग्छ।


साहित्य क्षेत्रमा कसरी प्रवेश गर्नुभयो?

अग्रजहरूको नक्कल गर्दा र समाजका विकृत पाटाले झटारो हान्दा रिस फेर्ने माध्यम साहित्यलाई बनाउँदा बनाउँदै प्रवेश गर्न पुगेँ।


नेपाली तथा अन्तराष्ट्रिय भाषाका साहित्यमा मनपर्ने लेखक को हुन्?

पढेका प्रायः सबै मन पर्छन् तापनि विशेष गरी प्रगतिशिल विचार बोक्नेलाई नमन गर्ने मन हुन्छ। लेखनाथको नैतिक, आदर्श देवकोटाको विशाल भावना, भूपि, रिमाल, कृष्ण सेन इच्छुकहरूको प्रगतिशिल विचार साथै ओशोको साँचो जीवनवादी विचार, गोर्कीको क्रान्तिकारिता, शेक्सपियरको नाट्यकला सबै मैले मन पराउने र शिरोधार्य गर्न खोजेका पक्ष हुन् प्रेम प्रणयका पक्षलाई मात्र लेखनीको हतियार बनाउनेरूलाई त म स्रष्टा नै मान्दिनँ।


तपाईंका हालसम्म प्रकाशित गर्नुभएका कृतिहरू बारेमा बताइदिनुहुन्छ कि?

ज्ञान र धन दुबै हुँदा कृति प्रकाशन हुँदा रहेछन् । ०५९ फाल्गुन ९ सम्म जे कमाएको थिएँ शाहीसेनाले खरानी बनाइहाल्यो । स्पष्टरूपमा भन्दा मैले पुनर्जीवन पाएको हुँ एसएसपी नवीन अधिकारीको मानवीय संवेदनाले । त्यसपछि अंकुशमा परेँ र लेखन नै त्याग्न लागेको थिएँ । नशा त्याग्न नसकिँदो रहेनछ । युग उचाल्ने अक्षरकर्मीको अवसान नाट्यसंग्रह प्रेशमा छ । अहिलेसम्मको साहित्यिक खेती यत्ति नै हो । कथाको कृति निकाल्नु छ।


तपाईंलाई कस्तो समयमा भावना फुर्न र लेख्न आउँछ?

राजविराजको गर्मी, मच्छडको प्रकोप र बिजुलीको सास बन्द अनि प्राइभेट जागिरको चटारो सबैका कारणले खान त समय आउनुपर्छ । लेख्न त रहरको क्षेत्र हो विदाको दिन कुर्नुपर्छ । जीवनलाई चिमोट्ने प्रसङ्गले गाँज्न थाले पछि समय र एकान्त पाउना साथ लेख्न बस्छु । विशेष गरेर राम्रा रचना रातको समयमा सिर्जेको छु। कोलाहल त मेरो शत्रु हो। शान्ति नै मेरो प्राप्तिको अनमोल अस्त्र हो। शान्तिमा फूल फुल्छ, अशान्तिमा ओइली झर्छ।


निकट भविष्यमा केही विशेष योजना छ?

भविष्य धोका हो । यसको पछि लाग्दा दशकौँ पछि परियो । अर्यालको जयभोलिले सिकाएको दर्शनले गर्दा मलाई भविष्यमा कुनै लोभ छैन । म आज साँचो जीवन बाँचेर भोलि जिउँन चाहन्छु । आज नबाँची भोलि बाँच्ने चाहना राख्नु मूर्खतापूर्ण व्यवहार हो भन्ने मेरो ठहर छ। साहित्य (कलम)बाटै जसोतसो बाँचेको छु, बाँचिरहन्छु र मलाई लाग्छ म आज बाँच्न सकेँ भनेँ स्वतस्फुर्तरूपले भोलि जिउन पनि सक्छु ।


शिक्षण पेशा गर्नुहुँदो रहेछ। साहित्यको लागि समय कसरी निकाल्नुहुन्छ?

शिक्षण र साहित्य एक अर्काका परिपुरक हुन् । थरिथरीका मान्छेसँग निकटता हुनु पनि साहित्यिक खुराक पाउनु हो। खुराकलाई साहित्यमा रूपान्तरण गर्न सकेको भने छैन । दिनको भागमा शिक्षण आउँछ र रातकोमा साहित्य। दिनलाई व्यवहारिक पाटोले वाधा पार्छ भने रातलाई निद्रादेवीले । सबैलाई समायोजन गरी जीवनरथ हाँक्नुको विकल्प छैन । एकलकाँटे जीवन विताउन पाए त साहित्यलाई उर्जा नै हुने थियो तर त्यसो गर्न सम्भव छैन ।


इन्टर्नेटतिर देखिने नेपाली ब्लगहरू हेर्ने हो भने अधिकांश लेखहरूमा ह्रस्व-दीर्घका गल्तीहरू भेटिन्छन्। यस्ता अशुद्धीहरू किन हुन्छन् जस्तो लाग्छ? नेपाली भाषा अलि जटिल छ, वा विद्यालयको नेपाली शिक्षण प्रभावकारी छैन?

मातृभाषीलाई हैन विमातृभाषीलाई कराल पहाड हुन्छ । त्यही कराल पहाड चढाउने ध्याउन्नमा छु। भावनाका अघि शुद्दता निम्न कुरा हो । भावनाको कदर र प्रशंसा हुनुपर्छ वर्णविन्यास सम्बन्धी शुद्दताको होइन । सम्पादन मण्डलले हेक्का र धैर्यता राख्न सके र लेखकहरूलाई नै सुझाव दिन सके देखिने कमजोरी स्वतः हट्दै जान्छन्। नेपाली शिक्षण प्रभावकारी भए नभको कुरा एकै जनाले भन्दैमा पुष्टि हुने कुरा होइन दोषी म पनि हुँला ।


नेपाली साहित्यको हालको स्थितिलाई कसरी मूल्यांकन गर्नुहुन्छ? साहित्यक्षेत्र उचित दिशातर्फ गइरहेको जस्तो लाग्छ?

विल्कुलै प्रगतिन्नोमुख बाटोमा नेपाली साहित्य छ विश्व साहित्यसँग पौँठेजोरी खेल्ने हैसियत भइसकेको छ तर दुर्भाग्य भन्नुपर्छ कि मुखमा मस्तिष्क हुने नेताहरूको बाहुल्यताले कला, साहित्य धरासायी भएको छ । बाबुराम, नरहरी, गगन, झलनाथ, हृदेश, रामकुमारीजस्तालाई देशको नेतृत्व दिई काम गर्ने मौका दिएमा पूरै देश र साहित्यले काँचुली फेर्छ कि जस्तो लाग्छ नत्र भने साहित्यफाँटलाई खगेन्द्र संग्रौलाहरूले उठाउनुपर्छ ।


कम स्रष्टाहरूले हात हालेको नाटक र एकांकी विधामा पनि लेख्नुहुन्छ। अन्य विधाभन्दा नाटक/एकांकी लेखनमा के फरक छ?

अन्यको तुलनामा नाट्यविधामा पकड बनाउँदा उत्तम भन्ने धीरकुमार श्रेष्ठज्यूको सल्लाहलाई मनन गरेर हात हालियो। यसैमा समाजको चित्र उतार्न सजिलो लाग्छ । मानवीय जीवन नै नाटक हो। संसार रंगमञ्च हो हर घडी हामी अभिनय गरिरहेछौँ हामी जे गर्छौँ त्यसलाई हुवहु उतार्ने सक्षम र सजिलो विधा नाट्यविधा हो अन्य विधामा फूलबुट्टा धेरै चाहिन्छ फूलबुट्टाले सजाएको कृतिम रूपभन्दा प्राकृतिकताको कुरूप रूपको दर्शनाभिलाषी हुँ म ।


उदयपुरमा के-कस्ता नेपाली साहित्यिक गतिविधिहरू गर्नुहुन्छ? कुनै समय काठमाण्डौंतिर निस्कने बिचार पनि छ कि?

उदयपुर मेरो सर्वस्व हो तर म निकष्ट धोकेवाज हुँ। यसले नै जीवन दियो र पुनर्जीवन पनि दिलायो तापनि मेरो खुन सप्तरीका लागि सुकिरहेछ । राजविराजमा पसिना बगिरहेछ । ०४८ देखिको मेरो यात्रा यत्तै चलिरहेछ। यहीँको उत्थानमा स्वर्णिमकाल मरिरहेछ र पनि यदाकदा सामन्ती पहाडियाको उपाधी पाउँदै छु । जे सिकेँ यहीँको माटोमा सिकेँ। जे दिएँ यहीँको माटोलाई दिएँ । गाइघाटका कार्यक्रममा यदाकदा पुग्छु। खास पहिचान बनेको छैन ।



नेपाली साहित्यलाई इन्टेर्नेटको कत्तिको प्रभाव देख्नुहुन्छ?

म कृष्णगर्तमा हुर्केको मान्छे पछि छेउछाउ देखिएँ। अहिले इन्टरनेटको कमालले विश्व कोठा छ । म यसकै साथी भा’को छु।


मझेरीलाई तपाईंले कस्तो मूल्यांकन गर्नुभएको छ? यसलाई कसरी अँझ प्रभावकारी बनाउन सकिन्छ?

मझेरीले विशाल साहित्य भण्डारण गरेको देख्छु। शिष्ट र प्रगतिवादी विचार वर्णविन्यासीय कसीमा तौलेर मझेरीलाई सजाउँदै गए कोहीभन्दा कम हुन्न । राम्रो र हाम्रो मझेरी बनाउन इन्टरनेटको नाक मुख नदेखेका स्रष्टालाई पनि समेट्ने अभियान तीव्र पार्नुपर्छ। अन्यत्र लिँक भए वेश सम्पूर्ण स्रष्टाका लागि ।


मझेरीका संसारभरि छरिनुभएका लेखक तथा पाठकहरूलाई के सन्देश दिन चाहनुहुन्छ?

साहित्यमा जीवन लुकेको हुनुपर्छ, जीवनको रहस्य खोल्नुपर्छ! हरेक पाठकको जीवनभित्र साहित्य बसेको हुनुपर्छ । पाखण्डको उठिबास र मानवीय मूल्य मान्यता, राष्टियताको स्तुतिगानमा शब्दको खेती गर्नु आवश्यक छ ।


अन्तमा, केही भन्न चाहनुहुन्छ भने बताइदिनुहोला।

सन्दर्भलाई विचार नगरीकन हिँड्दा बेलगाम घोडा होला । देशलाई विक्री हुनबाट बचाउन बौद्धिक क्रान्तिमा सहभागी बनौँ काल मनधारीका कर्तुतको भण्डाफोर गरौँ। कलमबाट भा पनि नयाँ नेपाल बनाऔँ । इच्छुकहरूको नाक राखौं।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

14 thoughts on “मझेरी भलाकुसारी, अंक ०२ (नन्दलाल आचार्य)”

  1. बधाई छ नन्दलालजी तपाईँलाई !

    बधाई छ नन्दलालजी तपाईँलाई !

    बधाई छ नन्दलालजी तपाइँलाई स्वदेशमा भन्दा पनि बढी बिदेशमा बसेका लाखौँलाख नेपाली साहित्यकर्मी दाजुभाई एवम् दिदी बहिनीले प्रयोग गर्ने नेपाली साहित्यिक रचना भण्डारहरु मध्ये सबै भन्दा ठूलो नेपाली साहित्यिक रचना भण्डार मझेरी डट कमले स्रष्टासँगका कुरकानीको सुरुआत गर्ने बित्तिकै तपाइँले दोस्रो स्थान प्राप्त गर्नु भएको छ । त्यसैले नै तपाई बधाईको पात्र हुनु भएको छ । जहाँ आफुले आफ्नै जीवनमा भोगे गरेका तिता-मिठा यथार्थतालाई प्रस्तुत गर्ने जमर्को गर्नु भएको रहेछ । जस्को कारण विगतलाई सम्झाउँछ,यो सबै ठिक छ र स्तरिय पनि छ ।
    अनि नन्दलालजी आजकत्त युग अर्थात २१ औँ शताब्दीमा जोकोही मानिसले पनि एउटा राजनीति अँगालेकै हुन्छ । तसर्थ साहित्यको पाटोमा राजनीति मुछेर साहित्यलाई धमिलो नबनाउँदा हुँदैन र ? यहाँको उत्तरले अलि बढी राजनीतिलाइ इङ्कित गर्न खोजेको आभाष हुन्छ नी हैनर ?

    मझेरी साहित्यको एउटा नियमित विद्ध्यार्थी
    – गोर्खसाइँलो
    [email protected] Mob. +977- 9855055351

  2. बधाई नन्दलाल जी लाई र
    बधाई नन्दलाल जी लाई र मझेरिलाई पनि……..
    बिल्कुल नयाँ आयामका लागि …अब यो देश स्रस्टाहरुले चलाउनु पर्छ सारा फोहोरी खेल खेल्नेहरुलाई पख लगाएर……

  3. बधाई नन्दलाल जी र मझेरी लाइ

    बधाई नन्दलाल जी र मझेरी लाइ पनि ……

    बिल्कुल नयाँ आयामका लागि …अब यो देश स्रस्टाहरुले चलाउनु पर्छ सारा फोहोरी खेल खेल्नेहरुलाई पख लगाएर……

    प्रधान सम्पादक
    दियालो सा. दैमासिक
    देवचुली-८, सिताबास, नवलपरासी

  4. नन्दलालजी,
    समयको अभाव अनि

    नन्दलालजी,

    समयको अभाव अनि अन्य कठिनाइ बाबजुद पनि अन्तर्वार्तामा सहयोग गरिदिनु भएकोमा धन्यवाद छ। अंक १ मा झैं यस अन्तर्वा्र्ता मार्फत स्रष्टाको वास्तविक जीवन, सोचाइ अनि अनुभवहरू सिधै बुझ्न पाइयो। संघर्ष जारी राख्नुभो भने तपाईंको उज्ज्वल भविष्य सुनिश्चित छ।

    मझेरीमा सधैं स्तरीय लेख रचनाहरू प्रदान गरिदिनुभएकोमा धन्यवाद छ। आउने दिनहरूमा पनि मझेरीमा सकृय सहभागिताको अपेक्षा गर्दछु।

  5. गोर्खेसाइँलो, दियालो सम्पादक
    गोर्खेसाइँलो, दियालो सम्पादक र केबिएसज्यूहरू

    मेरा कुरा सुनेर र बुझेर यत्ति धेरै उत्साहबर्ध्दक विचार राखिदिनुभकोमा मुरिमुरी धन्यवाद। मेरा शब्द र विचारले मझेरी रंगिनुलाई मैले गर्व ठानेको छु । मप्रतिको शुभेच्क्षा मानेको छु ।

    गोर्खेसाइँलोज्यू, कमिकमजोरी औल्याएर सुधार्ने अवसरका लागि पुनः धन्यवाद । तपाईँसँग भलाकुसारी गर्ने, तपाईँका विचार र रचनाका वारे दृष्टिकोण राख्ने मन छ । तर पुरानै शताब्दीको दिमाख भएकाले प्रतिक्रिया लेखे पनि व्यवस्थापन गर्न नजानेर र ठेगाना नपाएर मन खुम्च्याउन वाध्य थिएँ । थोरै लेख्दा चित्तै बुझ्दैन धेरै नलेख्दा हजुरलाई प्रष्ट भएनछ । यहाँ लेख्छु भन्दै छु । मझेरीमा चिप्क्याई धेरैजना पाठकलेखकहरूको बीचमा म सफाइ पाउँथे कि लालच मनमा जागेको छ!

    म राजनीतिमा छैन । मलाई राजनीतिले राष्ट्रलाई उँभो लगाउँछ भन्ने पनि लाग्न छाड्यो । राजनीति फोहोरी खेल भएको छ । गद्दार मान्छे मात्र यसमा घुस्छन् भन्ने बेला भएको म देखिरहेको छु । तर पनि नाङ्गो देसमा कपडा लगाउन मिलेन । एजेण्डाका हिसाबले र केही गर्ला कि भन्ने आशले भोट चै दिने गर्या हो । राजनीतिले नै युवा, साहित्यकार लगायत सबैको यो बेरोजगारी र अनिश्चित भूत, वर्तमान र भविष्य भएको हो यसकै खेलले मेरो मन उतै तानिएको हो । जोसिला र होसिला नेतानेतृको हातमा डाडुपैँयू पर्न गए हामी नेपालीका पनि जयका दिन आउँथे कि भनेको ।

    फेरि अखबारी लेखन पनि पेशामै पर्न आयो र त्यसो हुन गो यसमा मलाई पछुतो छैन । कृण्ण सेन राजनेता नभए र लेखेरै बाँचेका र भौतिक शरीर त्यागेका मान्छे तर युगौँयुग बाँचिरहने मान्छे हुन् । झलनाथ खनाल, गगन थापा, बाबुराम भट्टराई नरहरि आचार्यहरू राजनीतिलाई धर्मनीतिमा रूपान्तरण गर्न आँट गर्न खोज्ने स्वच्छ छवीका राजनैतिक पात्र हुन् । होस सहितको जोस यी पात्रमा केही देखेको छु । फेरि साहित्य राजनीतिबाट अलग रहनै सक्दैन । अलग राखेर मायाप्रितिका बकवास कुरालाई मात्र साहित्यको दर्जा दिने हो भने त के भन्नु र ! पूर्वाग्रह रहित राजनीतिको पक्षमा तपाईँहामीले खुलेर नलागे को लाग्ने ? राम्रोलाई राम्रो भन्नु पनि राजनीति गरेको वा राजनीति घुसाएको ठहर्छ र ?

    गोर्खेसाइँलोज्यू, मैले त तपाईँ भित्रको कलमको टुप्पोमा पनि थुप्रै राजनीति देखेको छु । म पनि पाठक नै हुँ । हो, खुलेर नाम सहित बोल्नु भा’छैन् । तर प्रभावलाई स्वीकार्नु र हुर्काउनु भएको छ । राजनीतिले यो समाजलाई कुरूप नपार्दो हो त हामी विषयवस्तु नै पाउन्नथ्यौ । राजनीति सप्रेमा त्यो धर्मनीति हुन्छ जहाँ कामुक लैङ्गीक प्रेम हैन रचनात्मक प्रेमको उदय हुन्छ, संसार रंगमय हुन्छ । होसले भरिएको जोशको जन्म हरेकमा हुन्छ । त्यसबेला यी भौगोलिक रेखा मेटिन्छन् र जापान पनि उदयपुर बन्छ, बुटबल पनि अमेरिका हुन्छ । त्यसबेला मौलिक पहिचानको जरूरी हुन्न । तर त्यो समयको प्रतिक्षामा अहिले रहनु भनेको मनको लड्डु घिउसँग खानु हो ।

    के गर्ने लेख्न बस्दा पनि मुलुकको चिन्ताले गाँज्न थाल्छ । बेसुरमै लेख्ने लत छ । राजनीतिले सही बाटो लियो र निकास निस्कियो भने मात्र देशले अग्रगामी दिशा लिन सक्छ तब मात्र तपाईँ हामीले लेखेका यी कुराले सार्थक दिशा लिन्छ । नत्र उही रहर मात्र हुन्छ । धेरै लेखेँ तैपनि मन भरिएन ! मनासिव लागेमा स्वीकार्ने र नलागेमा अस्वीकार गर्ने कृपा गर्नुहोला ।

    जिज्ञासाको समाधान दिन नसकेको र गन्थन पढाएर हैरान दिलाउन पुगेकोमा क्षमा चाहन्छु । बिग्रेको बानी सपार्न सकिएन । लेख्दा सामल खाजा नबोकीकन सुरु नगर्ने बानी छ । यस पटक यस्तै भो पुनः पुनः सम्झनुहोला र मझेरीमा मुहार देखाउन आइसकेको एक राजनैतिक एकांकी पढेर विचार पोख्नुहोला । यत्तिञ्जेल मेरा गन्थनमा अल्मलिएर मलाई बुझ्न खोज्ने त्यस धैर्यतालाई हार्दिक अभिवादन ।

    तपाईँहरूकै आसपासमा कलमीरथ हाँक्न लालायित
    नन्दलाल आचार्य
    [email protected]/9842829206
    नमस्ते

  6. मेरो अन्तरवार्ता पढी
    मेरो अन्तरवार्ता पढी सकारात्मक वा नकारात्मक भावना प्रकट गर्ने र नगर्ने सबै मित्रहरूलाई हार्दिक धन्यवाद !
    अन्तमा
    “जो सहजतामा बाँच्छ ,जसको कुनै आदर्श हुँदैन, जो आफ्नो स्वभावमा बाँच्छ, उसको जीवनमा पाखण्ड हुँदैन!”-OSHO

  7. नमस्ते नन्दलाल सर…..
    याहालाई म सानो छँदा बाट चिन्दथें,एक प्राईभेट स्कुलको इमान्दार र लगनसिल शिक्षकको रुपमा तर बिगतका केहि दिन बाट हजुरलाई यसरि साहित्य संजालमा पनि उतिकै लगनशिल र होनहार लेखक र पाठकको रुपमा पाउदा यो खुशीको कुनै सिमा छैन,प्रयास अन्लाईन पत्रिका हुदै हजुर संग अनुहार पुस्तिकामा मित्रता गाँस्न पुगे र आज यसरि मझेरीमा मननीय अन्तर्वार्ता साथ् पाएकोमा अझ नजिक बाट चिन्ने मौका पाएकोमा आफुलाई गौरवान्वित ठानेकी छु,हजुरको लेखन यात्रा यसरि नै अघि बढी रहोस शुभ कामना छ/साथै मझेरी लाई मुरी-मुरी धन्यवाद……..

  8. नमस्ते नन्दलाल सर…..
    याहालाई म सानो छँदा बाट चिन्दथें,एक प्राईभेट स्कुलको इमान्दार र लगनसिल शिक्षकको रुपमा तर बिगतका केहि दिन बाट हजुरलाई यसरि साहित्य संजालमा पनि उतिकै लगनशिल र होनहार लेखक र पाठकको रुपमा पाउदा यो खुशीको कुनै सिमा छैन,प्रयास अन्लाईन पत्रिका हुदै हजुर संग अनुहार पुस्तिकामा मित्रता गाँस्न पुगे र आज यसरि मझेरीमा मननीय अन्तर्वार्ता साथ् पाएकोमा अझ नजिक बाट चिन्ने मौका पाएकोमा आफुलाई गौरवान्वित ठानेकी छु,हजुरको लेखन यात्रा यसरि नै अघि बढी रहोस शुभ कामना छ/साथै मझेरी लाई मुरी-मुरी धन्यवाद……..

  9. नन्दलालजी मैले तपाई‌को
    नन्दलालजी मैले तपाई‌को अन्तर्वार्ता समग्र पढ‌े । पढेर मलाई के अनुभव भयाे भने जसको अन्तर्वार्ता लिइने हो पहिले उसको स‌क्षिप्तमा भए पनि परिचय चाहि‌ अावश्यकै रहेछ । मैले तपाई‌ राजविराजतिर कतै घर हुने वा दुबैतिर बस्तै गरेको स‌कटकालमा हन्डर खाएको व्यक्तिका रुपमा सम्म चिने जो सही हो होइन म भन्न सक्तिन ।
    अन्तर्वार्तामा उचित विचार रहेछन् प्रगतिवादी साेच रहेछ । सारै खुसी लाग्याे । बधाई धन्यवाद ।

  10. नन्दलाल जी अन्तर्वार्ता पढेँ
    नन्दलाल जी अन्तर्वार्ता पढेँ । तपाइँको बारेमा केही जानकारी पाइयो । खुशी लाग्यो ।

  11. Dhanyabad hom & ekadev sir
    Hadbadma dieko antarbarta ho.

    Padidinu bhaechha.
    Aabhari bhae…

    Bhanejastai ma rajbiraj mai badi samay bitai rahechhu.

    Ma jhan utasahit bhae….
    Khushi lagyo…

    Punah…..dhanyabad !

    Nanda lal

  12. कुमार काफ्ले
    नन्दलाल सर हजुरको अन्तरवार्ता दोहोर्‍याएर पढेँ।संघर्षले खारिनुभा’को रहेछ।तपाईंका रचनाहरू निरन्तर पढिरहेको छु।प्रगतिशील लेखनलाई निरन्तरता दिनुहोस् शुभकामना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *