मझेरी भलाकुसारी, अंक ०५ (सुषमा मानन्धर)

ShushmaManandhar-03


शुरुमा यहाँको व्यक्तिगत तथा साहित्यिक परिचय पाऊँ न ।

धन्यवाद कुमार जी । आफ्ना कुराहरू राख्ने मौका दिनु भएकोमा आभारी छु । हल्का कलम चलाउनुको अलावाम एक कर्मचारी पनि हुँ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा प्रशायकीय अधिकृत छु । हाल केही महिनादेखि भने कर्मचारी प्रशिक्षण प्रतिष्ठानमा जावलाखेलमा काजमा कार्यरत छु । घर मेरो ललितपुर कुमारीपाटीमा छ र सपरिवार बस्छु ।

साहित्यतिरको कुरामा, साहित्यप्रेमी भएर पनि समय अभावको कारणले साहित्यिक जमघटहरूमा गैरहन पाउँदिन । यसकै लागि भनेर समर्पित भै लाग्न नसकेको र धेरै जसो समय अफिसकै कार्यमा व्यस्त रहनु पर्ने हुँदा मैले चिन्ने साहित्यिक अनुहार र शायद मलाई चिन्नेहरूको सन्जाल पनि सानै छ । समय परिस्थिति अनुकुल नहुने र पर्याप्त नपाउनाले चाहे अनुरुप निरन्तर लेख्न सकेकी पनि छैन । धेरै कथाहरू दिमागमै उम्रन्छन् र लेखिन नपाउँदै सुक्छन् पनि । तैपनि दुईचार जनाले साहित्यकार मानिदिनु भएको छ, साह्रै खुशी लाग्छ ।

तपाईंको लागि साहित्य के हो किन यसमा लाग्नु भयो ?

साहित्य मेरो लागि एउटा भोगाई हो । एउटा जीवन मैले आफैंले वा अरु कसैले भोगेको । यो समाजको प्रतिविम्ब हो । समाजमा जे जस्ता कुरा घटिरहेका हुन्छन्, साहित्यले त्यसैलाई प्रतिविम्बित गर्छ । प्रत्येक व्यक्ति म खुद आफैं साथीभाइ वा कुनै अर्को व्यक्तिले भोगेका सुख दुःखका अनुभवहरू, इच्छा, सपना र कल्पनाहरू शब्दमा उनिएर साहित्य बन्छ । साहित्य मेरो लागि नशा पनि हो ।

मैले कहिलेदेखि लेख्न शुरु गरें मलाई याद छैन । जानी-नजानी कविताबाट शुरु गरेको साहित्यको यात्रामा अझै पनि सिक्दै छु । सानैदेखि लेख्थें र त्यसलाई प्रशारण गर्न रेडियो नेपाल वा प्रकाशनको लागि पत्रिकाहरूमा पठाउँथें । रचना प्रशारण भएमा म पुन अर्को लेख्न हौसिन्थें, नभए फेरि अर्को हप्तासम्मको लागि बाँकी रहन्थ्यो एउटा तीव्र पर्खाई । यसरी लेख्ने र प्रतिक्षा गर्ने गर्दा-गर्दै बानी बस्यो र यो बानी नै पछि गएर नशा बन्यो । अचेल यो नशाा यति हावी बनेको छ अलि बढी दिनसम्म लेख्न पढ्न पाईनँ भने छट्पटाहट् हुन्छ ।

तपाईंले कविता, गजल, लघु कथा, कथा आदि विधामा कलम चलाउनु भएको पाइन्छ । आफैंले चाहिँ कुन विधालाई विशेष आफ्नो विधा बनाउनु भएको छ । अनि भविष्यमा के कस्ता लेखनमा लाग्ने बिचार छ ?

Jack of all, master of none हुँला कि भन्ने पो डर लाग्छ मलाई । तपाईंले भन्नुभए जस्तै धेरैतिर रुचि छ र हात पनि हालेकी छु । भविष्यमा पनि यी सबै विधामा लेखिरहे पनि आफ्नो विशेष विधा कथालाई बनाउन चाहन्छु, सकेसम्म यसैलाई निरन्तरता दिन्छु ।

ल्पट कसरी खोज्नु हुन्छ ?

लेख्नेहरूको मनमस्तिष्क जहिले पनि भोकाएकै हुँदो रहेछ । लेखकहरूले कुनै पनि कुरामा ल्पट खोजिरहेका हुन्छन् । तपाईंसँगको कुराकानी गर्दा वा तपाईंका हाउभाउलाई पनि ल्पट बनाउन सकिन्छ कि भनी लेखकको आँखाले हेरिरहेको हुन्छ । हरेक दिन घट्ने घटना, पत्रिकाको खबर वा कसैले सुनाएका प्रसंग…। यतिमात्र हैन घरभित्र, बाटो हिँड्दा-हिँड्दै र अफिसमा सहकर्मीहरूबाट पनि ल्पट पाएकी छु । देख्ने सुन्नेका लागि साधारण होलान्, तर म हरेक सुखद र दुखद क्षणमा व्यक्ति र घटनामा पनि ल्पट खोजि र सोचिरहन्छु ।

कस्तो बेलामा लेख्नुहुन्छ ? लेख्न भनेरै बस्नुहुन्छ कि भावना जाग्यो भने लेख्न थाल्नुहुन्छ ?

यो प्रसंगमा एउटा कुरा भन्न मन लाग्यो । अलि अगाडि दुईटा लेख लेखेथें…। लेख्ने मूड र लेख्छु भन्दाभन्दै । त्यसमा मैले यिनै कुरालाई लेखेकी छु । मलाई बास्तवमा यो लेख्ने मूड र समय वीच तालमेल मिलाउन निकै गाह्रो पर्छ । जब लेख्ने मूडमा हुन्छु, समय नै हुन्न । लेख्नै पर्यो भनेर समय मिलाउँछु, पटक्कै लेख्ने मूड आउँदैन । लेख्छु नै भनेर यसरी बस्दा लेख्न नसकिने भने हैन। तर त्यो लेखाइमा न्याय गर्न सकें जस्तो लाग्दैन । त्यसैले भावना पलाएमा नै म लेख्न बस्छु । मान्छेका लेख्ने विभिन्न ठाउँ हुन्छन् । म चैं भान्छा कोठामा बसेर पढ्छु,लेख्छु । भान्छाकोठा मेरो सानो संसार हो । खाना पकाउँदै, तरकारी ओइरदैं, म धेरै कल्पना पनि पकाइरहेकी हुन्छु । घरको भान्छामा उत्तरतिर फर्केको झ्याल छ, जहाँबाट म प्रकृति र ल्पट खोजिरहन्छु । मेरा धेरै कथा-कवितामा यो झ्यालको प्रसंग छ, भ्यालबाट देखिने दृष्य छन् ।

तपाईंका प्रेरणाका स्रोत बनेका पुस्तकलेखक आदि छन् भने भनिदिनुस् न ।

त्यस्तो प्रेरणाका स्रोत नै भनेर देखाउन मसँग एउटै पुस्तक र व्यक्ति त छैनन् । शुरुशुरुमा म पुस्तक धेरै पढ्थें । हरेक रात दुईवटा उपन्यास सकेर मात्र निदाउँथे । त्यसका स-साना कुराले पनि मन छुन्थ्यो र म रुन्थें । अनि लामो समयसम्म त्यो दिल-दिमागभित्र रहिरहन्थ्यो । अहिले त तिनका नाम पनि बििर्ससकें । व्यक्ति नै किन र! कैलेकाहीँ त कुनै घटनाले पनि मलाई लेख्न प्रेरित गरेका छन् । साथीहरूले सुनाएका अनुभवलाई थीम बनाएर पनि मैले कथा लेखेकी छु । अहिले चैं अफिसमा मेरो मित्रमण्डली छ जसले मलाई लेख्न सुझाव दिइरहन्छन् । लेखकहरूमा मलाई पारिजात असाध्ये मनपर्छ । अमृता प्रितम, तसलिमा नसरिन, सुरजित एच के पासा, चेखोवका केही रचना निकै मनपरेका छन् । “चपाइएका अनुहार”, “आमा”, “मन”, “अर्को जन्म”, “शार्लेटस् वेभ”, “दि डेभिलस् लेडि” आदि पढिएका पुस्तकमा केही राम्रा र रमाइला पुस्तक हुन् ।

तपाईं आफैंका लेखहरूमा विशेष आत्मसन्तुष्टि मिलेका रचनाहरू छन् भने बताइदिनुस् न । त्यसमा तपाईंले के सन्देश दिन खोज्नुभएको छ? अनि कति हदसम्म त्यसलाई चित्रण गर्न सफल भएँ जस्तो लाग्छ ?

म भावना फुर्दा मात्र लेख्छु । त्यसैले मेरा रचना संख्यामा थोरै छन् । आफ्ना वरिपरी घट्ने घटनाहरूलाई नै मैले कथाको रुप दिने कोशिश गर्दै आएको छु । तिनलाई आफूसक्दो यथार्थ बनाउने मेरो प्रयासमा म कत्तिको सफल भएँ आदरणीय पाठकहरूले मूल्याँकन गर्नु हुने छ ।

साहित्यले तत्कालिन समाजको बस्तुस्थिति, चलनचल्ती, अवस्थालाई मात्र उजागर गर्ने हैन कि, त्यसले समाजलाई सकारात्मक सन्देश पनि दिनसक्ने हुनुपर्छ जस्तो लाग्छ । केही महिना अघि निस्किएको गरीमाको नारी अंकमा छापिएको मेरो पछिल्लो कथा “आ-आफ्नो धरातल”मा अचेल मान्छेहरू बिहे जस्तो अहम् कुरालाई सुख र भोतिक खुशीको चाहनामा सम्पन्न अनि बिदेशबाट फर्केका अत्याधुनिकहरूसँग गाँस्न लालायित रहन्छन् भन्ने चित्रण गरेकी छु । विवेक नराखी कुनै पनि कुराको निर्णय गर्नु उचित हैन भन्ने मैले यसमा सन्देश दिन खोजेकी छु ।

लेखन क्षेत्रबाट कत्तिको सन्तुष्ट हुनुहन्छ के कस्ता कुराहरू भैदिए हुन्थ्यो जस्तो लाग्छ ?

कतै पढेकी थिएँ – सन्तुष्टि भनेको पूर्णविराम हो । त्यसैले हामीले सन्तुष्ट हुनुहुँदैन । किनकि सन्तुष्टिपछि अर्को प्रयास गरिँदैन । आफूलाई त लेख्न भर्खर शुरु गर्दैछु, सिक्दैछु जस्तो लाग्छ। त्यसैले अहिले नै कसरी सन्तुष्ट छु भन्नु ?

म बेला-बेला कल्पना गर्छु कुनै रमणीय स्थल, हरिया रुख र डाँडाको फेद, शान्त वातावरण, तातो चिया, साथमा मात्र कपी र कम्पयुटर अनि जिम्मेवारी विना म । सोच्छु यदि यस्तो हुँदो हो, म कत्ति लेख्थें ।

जागीर पनि गर्नुहुन्छ क्यारे । लेखेरै जीविकोपार्जन गर्न सकने स्थिति आछैन र ?

हो जागीरे छु । जागीरका पनि आफ्ना धर्म, नियम, काइदा, कानून हुन्छन् । कर्मचारी परें, अहिले नै खाँदै गरेको जागीर चटक्कै छाडेर साहित्यमा डुब्ने र यसैबाट आफ्नो जीवन धान्न सक्ने स्थिति मेरो मात्र हैन नेपालमा कसैको पनि बनिसकेको मलाई चैं थाहा छैन । जति पनि नाम चलेका आदरणीय साहित्य सर्जकहरू हुनुहुन्छ, अधिकाँश कुनै न कुनै काम र पेशासँग आबद्ध हुनुहुन्छ । तर बिदेशमा जस्तो भोलि त्यो दिन जरुर आउला, जब नेपाली साहित्यकारहरूले लेखाइलाई नै आफ्नो जागीर बनाउन सक्नेछन् ।

नेपालमा बस्नुहुन्छ । बिदेशमा हुने साहित्यिक गतिविधिवारे कत्तिको जानकार हुनुहुन्छ ?

फरवार्ड इमेलबाट यस्तै मझेरी खोल्दा र कुनै इमेल साथीले दिएका जानकारीभन्दा बढी नढाँटी भन्नु पर्दा त्यस्ता गतिविधिवारे थाहा पाउँदिन, थाहा हुन्न ।

समकालीन लेखकहरूसँग कत्तिको सम्बन्ध छ बिशेष अन्तरकृया गर्ने साहित्यकारहरू छन् के कस्ता विषयमा छलफल गर्नुहुन्छ ?

दिनभरी अफिसकै समयमा बाँधिन्छु । लेखकमित्रहरूसँग प्रत्यक्ष बसेर भेटघाटछलफल र गफ गर्न ठूलै साइत जुराउनु पर्छ मलाई । तैपनि इमेल र फोनबाट सम्पर्क चैं गरिन्छ । सहयोगी र धेरै पुरानो लेखकमित्र हुनुहुन्छ- प्रकाश सायमी । वहाँले लेख-रचनामा राम्रो प्रतिकृया दिनुहुन्छ । साहित्यकार निशा के.सी. मिल्ने साथी हो । ऊसँग आफ्नो लेखाईवारे ड्राफ्टदेखि नै छलफल शुरु हुन्छ । अफिसमा पनि साहित्य अनुरागी साथीहरूको समूह छ जसले मेरा रचनाहरू पढेर टिप्पणी गरी प्रेरित गर्छन् । बलराम अधिकारी, बेद पौडेल, तेज कुमार श्रेष्ठ, भवानी पौडल, कल्पलता दाहाल र आशुतोषजीले दिँदै आउनु भएको अमूल्य सुझावप्रति म सधैं आभारी रहन्छु ।

नेपाली साहित्य कस्तो दिशातर्फ लागेको छ जस्तो लाग्छ ? अनि विशेष आश गर्न सकिने स्रष्टाको नाम लिन पर्दा कसकसको नाम लिनु हुन्छ ?

नेपाली साहित्य पहिले भन्दा व्यापक र सम्पन्न भएको कुरामा शँका छैन । तर यसमा कोही आफ्नो र पराई हुँदैन । साहित्य सबैको हो र कुनै विशेष वर्गको मात्र पेवा नभै सबैको लागि साहित्य हो । अलि दुखलाग्दो कुरो- साहित्यभित्र चलखेल केवल नाम चलिसकेका र स्थापित लेखकहरूको मात्र हुन्छ जस्तो फिल गरेकी छु । कुनै पनि मिडिया, माध्यम र अवसरहरूमा प्रवेश गर्नको लागि बनेको चक्रव्यूह तोड्नु अन्य उदियमान, संघर्षरत लेखकहरूलाई गाह्रो छ । एक्सपोजर हुने उचित मौका पाइँदैन । त्यसैले धेरै प्रतिभाहरू गुम्सिएरै हराउँछन् । उदियमान लेखकहरू धेरै हुनुहुन्छ । केहीका मात्र नाम लिनु भन्दा सबैप्रति आशावादी होउँ र स्थापितहरूहरूले नयाँ पिढीलाई उत्प्रेरित गर्छन् भन्ने आशा पनि गरौं ।

नेपाली साहित्यको मार्केट बढाउन के गर्नुपर्छ जस्तो लाग्छ ? के लेखकले पाठकहरूले खोजेका खुराकहरू पस्किन सकेका छैनन् त ?

हामीकहाँ कमै मात्र त्यस्ता किताब छन् जसको जोर-शोरले विज्ञापन चर्चा परिचर्चा पाउनुको साथै बजारमा आउने वित्तिकै बिकोस् । हामीकहाँ न त राम्ररी पब्लिसिटी नै हुन्छ, न त किताबको आकर्षक कवरेजडिजाईनमा नै ध्यान दिइन्छ । अलिकति खर्चेर किताबलाई बढी आकर्षक बनाउन सकिएमा कम्तीमा पाठकको ध्यान आकृष्ट गर्न सकिन्छ । त्यसपछि मूल्याँकन गर्ने पाठकहरू नै त हुन् नि । केही मात्रामा पाठकहरू जागरुक भए पनि कुनै विशेष किताब, लेखकहरूको वारेमा चासो सोधीखोजी गर्ने र आउँदो प्रकाशनको अधैर्य प्रतिक्षा गर्ने पाठकहरू हामीकहाँ कमै छन् । पाठक र लेखकको वीचमा फीडब्याक आदानप्रदान हुने गरेमा मात्र लेखकले पाठकको रुचि अनुसारको सामग्री राख्न सक्छ । यता लेखकहरूले आफ्नो भावना बमोजिम लेख्छन्, उता पाठकहरू आफ्नो रुचिका किताब खोज्छन् । यसो भएमा मिलन बिन्दु कहाँनिर हुन्छ ? तर फेरि पूर्णतया बजारकै मात्र रुचि हेर्न थालियो भने व्यवसायिक लेखक त जन्मला, तर यथार्थ लेखक भने ऊभित्र मर्छ । त्यसैले विशुद्ध साहित्यिक पत्रिकाहरूको संख्या बढाउने, ईपत्रिकाहरू चलाउने, पाठक क्लबहरूको स्थापना र पाठकहरूको पनि रुचिलाई ध्यानमा राखेर लेखकहरूले केही कम्प्रोमाइज गरी लेख्ने गरिए साहित्यको मार्केट बढ्थ्यो कि !

लेखक पाठकको दूरी कत्तिको रहेको महशुश गर्नु हुन्छ ? त्यो हटाउन के गर्नु आवश्यक छ ?

लेखक-पाठक वीचको दूरी टाढा नभए पनि नजिक पनि छैन । लेख रचना पढियो, राम्रो लाग्यो/लागेन, के कस्ता कमी छन्, भन्ने जानकारी हामी लेखक समक्ष पुर्याउँदैनौं, जसले गर्दा लेखकले आफ्नो लेखाइमा भएका त्रुटीलाई सुधार्न पाउँदैन । हुन त लेखकसम्म पुग्ने माध्यमका अभावले पनि यस्तो हुन सक्छ । अचेल इमेल, फोन र फेसबुक छन्, कुनै न कुनै माध्यमबाट सम्पर्क गर्न सकिहालिन्छ । पाठकहरूले पस्किएका रचनाहरू पढेपछि लेखकलाई आफ्नो धारणा बताउने र लेखकहरूले पनि तिनलाई उचित सम्मानसाथ लागु गर्ने हो भने दूरी नजिक भैहाल्छ नि ।

अनि तपाईंको आफ्नै वारेमा कुरा गर्दा, पाठकहरूबाट प्रतिकृयाहरू आइरहन्छन् कि? के कस्ता टिप्पणीहरू पाउनुहुन्छ ?

पाठक प्रतिकृया मेरो लागि ठूलो निधि हो । आफ्नो लागि आउने प्रतिकृयाको मलाई असाध्यै चासो रहन्छ । रचना प्रकाशनपछि प्रतिकृया आउने हो वा हैन कस्तो आउने हो भन्ने डर र कौतुहल दुवै रहन्छ । कतिपय आदरणीय पाठकहरूले पत्रिकामै, वेबसाइटमै र कतिपयले चैं इमेल गरेर र फोनमा पनि प्रतिकृया जनाउनु हुन्छ । राम्रो भनेर प्रशंसा गर्नेहरू पनि हुनुहुन्छ र त्यति स्तरीय हुन नसकेको भनेर बताउने पनि हुनुहुन्छ । कतिपयले अचेल किन नलेख्नु भा’को? भनेर झक्झक्याउनु पनि हुन्छ । बिराटनगरका डा. चुन्नी यस्तै एकजना पाठक हुनुहुन्छ जसले लामो समयदेखि प्रत्येक बिहान नबिराइकन एसएमएस गरेर शुभकामना व्यक्त गर्दै आउनु भएको छ र मेरा रचनाहरू कहाँ कतिबेला छापिन्छन् जानकारी लिइरहनु हुन्छ ।

आजकल निकै भयो मझेरीमा देखिन छाड्नुभो । केही विशेष साहित्यिक गतिविधिमा लाग्नु भएको पो हो कि ?

हेर्नुस् न! इच्छा हुँदाहुँदै पनि मझेरीमा चियाइरहन पाउँदिन । अफिसको व्यस्तताघरको जिम्मेवारी, बाँकी काम लोडसेिडङले गरिदिन्छ । गुनासोयुक्त टिप्पणीको लागि धन्यवाद कुमार जी । अब चैं झुल्किरहने कोशिश गर्छु । यो वर्ष कथा-संग्रह निकाल्छु भन्ने योजना छ । समय अभावका कारण मेरो इच्छा योजनामा मात्र सिमित नरहोस् भन्ने शुभकामना पनि दिनुस् न प्लीज ।

अवश्य, हाम्रो शुभकामना छ यहाँलाई। अर्को प्रश्नतिर लागौं, मझेरी कत्तिको हेर्नुहुन्छ यहाँ राखिने लेख रचना कत्तिको स्तरीय लाग्छ ?

हेर्छु कहिलेकाहीँ । धेरै दिनपछि अस्ति हेरेथें । पहिलेको भन्दा परिवर्तित र राम्रो लाग्यो । फोटोहरू पनि दिन थाल्नु भएछ । छापिएका रचनाहरू स्तरीय पनि छन्, स्तरीय बन्न बाँकी पनि छन् ।

मझेरीलाई अझ प्रभावकारी बनाउन के सल्लाह दिनुहुन्छ ?

यसलाई प्रभावकारी बनाउन समसामयिक परिवर्तनहरूतिर पनि ध्यान दिँदै जानुपर्छ । आकर्षक वेबडिजाइन, नयाँ-नयाँ शिर्षक र विधाहरू पाठकहरूबाट प्रतिकृयाहरू लिने र सकेसम्म स्तरीय रचनाहरू छापिनको लागि कुनै क्राइटेरीया तोकिदिनु भयो भने अझ राम्रो हुन्थ्यो ।

मझेरीको लेखकको हैसियतले पाठकहरूलाई के सन्देश दिन चाहनु हुन्छ ?

लेखक जिउँदो पाठककै कारणले हुन्छ । यदि पाठकहरूले नै अस्वीकार गरे लेखकको के अस्तित्व र औचित्य ? त्यसैले जति बढी पाठक छन्, त्यति नै लेखक सफल हुन्छन् । अतः आदरणीय पाठकहरू तपाईंहरूले कुनै पनि रचना पढेपछि राम्रो-नराम्रोको सही प्रतिकृया गरेर लेखकलाई दिशानिर्देश गरिदिनु भयो भने लेखाइहरू फिल्टर हुँदै जान्छन् र समाजले स्तरीय साहित्य पाउन सक्छ ।

अन्तमा केही भन्न चाहनु हुन्छ भने बताइदिनु होला ।

सबैले लेख्छन्, तर लेख्न सजिलो छैन । सबै लेख्नेहरू सफल पनि हुँदैनन् । त्यसो भन्दैमा नलेखीकन लेखक पनि बनिँदैन । लेख्नुपर्छ र धेरै लेख्नुपर्छ । लेख्नेले हरेश चैं खानु हुँदैन । निरन्तर बग्ने नदी नै निर्मल हुन्छ । कुनै पनि कुरा मिहिनेतका साथ गरिन्छ भने प्रतिफल जरुर मीठो हुन्छ । मझेरीका लेखक र पाठक मित्रहरू एक अर्काको शुभचिन्तक बनेर एक अर्कालाई सहयोग गरौं । राम्रो साहित्यको लागि हामीलाई लेखक र पाठक दुवै चाहिन्छ ।

अन्तमा, कुमारजी तपाईं लगायत मझेरीका सम्पूर्ण पाठकलाई दशैं तिहारको शुभकामना ।

धन्यवाद ।

शुषमा मानन्धर
[email protected]
[email protected]

सुष्माजी, यहाँलाई पनि अमूल्य समय दिनुभएकोमा हार्दिक आभार र दशैं-तिहारको शुभकामना!

सुषमा मानन्धरका लेख/रचनाहरू पढ्न यता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

9 thoughts on “मझेरी भलाकुसारी, अंक ०५ (सुषमा मानन्धर)”

  1. शुष्मा तीर्थ
    शुष्मा तीर्थ गोर्खेसाइँलाजस्ता स्रष्टाहरूका कुरा पढ्दा उर्जा भेटियो
    यहाँ चै विशेष शुष्माज्यूको सामाजिक यथार्थवाद र आदर्शोन्मुख समाजको परिकल्पना र समाधान सहितको सृष्टिका चाहनाको आशयलाई हार्दिक धन्यवाद र बधाई नदिई रहन सक्दिनँ

  2. सुस्मा जी, भलाकुसारी राम्रो
    सुस्मा जी, भलाकुसारी राम्रो लग्यो. बरु मझेरी डट कममा अल्ली पातलिदै जानु भयको जस्तो लागेक छ. अल्ली रचना हेर्न पाय हुन्थ्यो कि… हुन त मेरो अबस्था नि तेस्तै छ. भलाकुशारी प्रकाशन गर्ने जमर्को गर्नु हुने मझेरीका संचालक कुमार जी लाइ हार्दिक धन्यवाद. आगामी दिनमा नि यस्तै आशा छ

  3. सुषमाजी जस्तो नेपाली वाङ्मयको
    सुषमाजी जस्तो नेपाली वाङ्मयको जल्दोबल्दो र प्रमिसिङ् व्यक्तित्वको अन्तर्बार्ता राख्न पाउँदा हामी गौरवान्वित छौं। अवश्य पनि पाठकहरूलाई सुषमाजीको लेख रचनाहरूका अलवा पर्दा पछाडिका पक्षहरूको बारेमा जानकारी हुनेछ। म आफैंलाई पनि निकै जानकारी मिल्यो ।

    सुषमाजीले निकै समय खर्चेर उत्तर दिनुभा’छ र त्यत्तिकै समय लगाएर टाइप गरेर पठाउनुभा’छ। वहाँलाई धेरै धन्यवाद छ, र उत्तरोत्तर प्रगतिको कामना छ।

  4. malai padhnu hune sabai
    malai padhnu hune sabai adaraniya pathakharuprati aabhari chhu ra sadar dhanyabad.aashaa chha agun dinma pani mera lekhaima comment garnu hunechha ra sujhab dinu hune chha.
    shushma manandhar

  5. प्रतिकृया दिने साथीहरू सबैलाई
    प्रतिकृया दिने साथीहरू सबैलाई धन्यवाद छ। मझेरीको यस स्रष्टासँग भालाकुसारी छेउलाई निरन्तर दिने प्रयास गर्नेछौं ।

  6. नयाँ भलाकुसारीको व्यग्र
    नयाँ भलाकुसारीको व्यग्र प्रतिक्षामा KBS SIR.
    पाकाहरूका कुरा त धेरै पढ्यौ
    युवा जोस भएका कुरा पढ्ने रहर छ
    चाँडो आए हुन्थ्यो भन्छु 0मैले भन्दामा नहुने
    शुष्माजीलाई पटकपटक पढियो THANKS.

  7. यस भलाकुसारीमा केकी अधिकारी
    यस भलाकुसारीमा केकी अधिकारी लै बोलाए हुने थियो नि हुदैन ?

    Basu Subedi

  8. अनवरतरूपले साहित्याकाशमा
    अनवरतरूपले साहित्याकाशमा विचरण गरिरहेका ऊर्जाशील जो कोहीका विचारोत्तेजक र फलदायी संवादको अपेक्षा मझेरीका पाठकले गरिरहेको कारणले वासुजीले उठाउनु भएको मतमा दुई मत नआउला !
    कि कसो मित्रहरू ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *