Skip to content

विश्व साहित्य महासंघद्वारा विजेता कविहरूलाई पुरस्कार प्रदान

  • by
20110807_FNN_News_01


काठमाडौ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तिलविक्रम नेम्बाङ (बैरागी काइला)ले नेपाली भाषासाहित्य र कलासंस्कृतिको प्रवर्द्धन र विस्तारका लागि नयाँ प्रविधि प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको छ ।

विश्व नेपाली साहित्य महासंघले काठमाडौमा गरेको नेपाली साहित्यमा डायास्पोराको भूमिका विषयक अन्तरकृया तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै कुलपति नेम्बाङले नेपालीहरू नेपालबाट बाहिरिँदा एक्लै हुने भए पनि बाहिर पुगेर संगठित हुने क्रम बढेकाले विश्वभरका नेपालीलाई समेट्न नयाँ प्रविधि प्रयोग गर्नुपर्ने बताउनुभएको हो । कार्यक्रममा कुलपति काइँलाले नेपालीहरू जुन देशमा पुगे पनि नेपाली भाषा, कला, संस्कृतिलाई विश्वभर पुर्याउने काम गर्नु नेपालका लागि महत्वपूर्ण भएको बताउनुभयो ।

महासंघका महासचिव विश्वासदीप तिगेलाले विभिन्न मुलुकमा छरिएर रहेका लाखौ नेपाली स्रष्टाहरूलाई एकताबद्ध बनाएर नेपाली भाषासहित्य र कलासंस्कृतिको विकासमा योगदान पुर्याउन विश्वभरका नेपाली लागेको बताउनुभयो । यहाँले महासंघको हालसम्म दर्जन बढी मुलुकमा शाखा विस्तार भइसकेको जानकारी दिदै आधा दर्जन बढी साहित्यिक संस्था आवद्ध भएको बताउनुभयो । महासंघले आयोजना गरेको विश्वव्यापी अडियो कविता प्रतियोगितामा विश्वका विभिन्न १९ मुलुक र नेपालको २७ जिल्लाका कविहरूले भाग लिएको जानकारी दिनुभयो । महासङ्घका महासचिव तिगेलाले महासङ्घले विश्वमा रहेका नेपाली भाषा बोल्ने र लेख्ने विदेशी सङ्घ/सङ्गठन, व्यक्ति, स्रस्टा सबैलाई समेट्दै लैजाने उद्देश्य राखेको जानकारी दिनुभयो ।

महासंघले भानु जयन्तीका अवसरमा आयोजना गरेको कविता प्रतितियोगितामा चर्चित ढुंगेल प्रथम, स्वप्नील स्मृति द्वितीय र रमा अधिकारी तृतीय भएका थिए । उनीहरूलाई २० हजार, १० हजार र ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा अडियो कविता प्रतियोगितामा लिम्बू भाषामा उत्कृष्ट धनकुटाका भरत योक्लेस र राई भाषामा उत्कृष्ट असिम बान्तवा राईलाई एक एक हजार सहित प्रमाणपत्र प्रदान गरियो । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट २० जनालाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा १९ देश र नेपालका २७ जिल्लाबाट आठ भाषामा गरी २०० कविता प्राप्त भएका थिए ।

साहित्यको विस्तारमा नेपाली डायास्पोराको योगदानको विषयमा प्रा डा.गोविन्दराज भट्टराईले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा रहेका साहित्यकार जस्तै विदेशमा बस्ने साहित्यकारले पनि नेपाली साहित्यमा योगदान दिएकाले विश्वविद्यालय वा एकेडेमीले मात्र होइन, परराष्ट्र मन्त्रालयले पनि एक डायास्पोरिक विङ्गको स्थापना गर्नुपर्ने बताउनुभयो ।
कार्यपत्रमाथि डा. कुमार कोइरालाले टिप्पणी गर्दै नेपाली भाषा र साहित्यको विकासमा स्वदेशमा र विदेशमा बस्ने नेपाली दुवैको योगदान रहेकाले कसैको भूमिकालाई कम आँक्न नहुने बताउनुभयो ।

मुल्याङ्कनकर्ताहरूकातर्फबाट कार्यक्रममा प्राज्ञ कवि श्रवण मुकारुङ र प्राज्ञ डा. बेन्जु शर्मा विश्व नेपाली साहित्य महासंघले आयोजना गरेको प्रतियोगिता नयाँ खाले भएको भन्दै कार्यक्रम निकै प्रभावकारी भएको बताउनुभयो । उहाँहरूले पछिल्लो पुस्ता साइबर संसारमा अभ्यस्त भइसकेकाले नेपाली भाषासाहित्य र कला संस्कृति विस्तारमा नयाँ प्रविधि प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय गानका सर्जक ब्याकुल माइला, साहित्यकार युवराज नयाँ घरे, राधेश्याम लेकाली, प्राज्ञ अमर तुम्याहाङलगायतको उपस्थिति थियो ।

कवि एवं गीतकार रमेश पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा दिनेश बस्नेतले सहभागीहरूलाई स्वागत गर्नुभएको थियो भने साहित्यकार उमा सुवेदीले संचालन गर्नुभएको थियो ।

राष्ट्रिय गान र महासंघका कोषाध्यक्ष सुरेन्द्र इङ्नामको सुमधुर बासुरी बादनबाट सुरु गरिएको कार्यक्रममा गत वर्ष निधन भएका ज्ञात अज्ञात साहित्यकारहरूको स्मरणमा एक मिनेट मौन धारण गरिएको थियो ।

FNN.com.np(fnnews@gmail.com)बाट प्राप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *