Skip to content

शरण आँसु

तिमी नहुँदा यो घर शुन्य छ

तिमी नहुँदा यो घर शुन्य छ
निष्प्राण मेरो रहर शुन्य छ!

तिम्लाई देख्दा उर्लने मनका-
नदीहरुमा, लहर शुन्य छ !

पिरतीका श्वरहरुले गुन्जने
कौसी अनि यो डहर शुन्य छ !

छैन तिम्रो मायाँ मारेको

छैन तिम्रो मायाँ मारेको
चोखो मायाँ अन्त सारेको!

त्यसै शंकालु आँखा नतर
छैन तिम्लाई एक्लो पारेको !

अर्कैसित हिंडे नि बाटोमा
छैन उल्लाई खोली तारेको!

समयको शिशिरमा शीत भै खस्न सक्छु

समयको शिशिरमा शीत भै खस्न सक्छु
समयकै जहरले तिमीलाई डस्न सक्छु !

समय नि यति सार्है रोकिएर बग्यो भने
समयकै रहरले तिमीलाई कस्न सक्छु !

सपनीमा आज पनि धेरै बर्बराई रहें
नजाने यो अँधेरीकै समयमा पस्न सक्छु!

खडेरीले माटोसरि मुटु जलायो

खडेरीले माटोसरि मुटु जलायो
चैत मासा खडेरीमै पात पलायो!

देखिएन मङ्सिरमा माया पिरती
पिरतीको रानी महल कल्ले ढलायो?

फेरिएन बैशाखमा नयाँ काँचुली
जिन्दगीले पुरानै त्यो खाता चलायो!

मान्छेभित्र मायाँ राख्ने मन छैन आजभोलि

मान्छेभित्र मायाँ राख्ने मन छैन आजभोलि
मनभित्र हरियाली वन छैन आजभोलि!

मागी खाने भाँडो बोकी हिंडेका छन् मान्छेहरू
कुबेरको घरमा पनि धन छैन आजभोलि!

नलेखिएको कविता

म कविताहरुको माझमा छु
कविता छ -ढुंगाहरुमा
निष्प्राण सेतीको पानीमा र
बगर झैं बनेको मेरो रहरमा !
कविता बगिरहेछ
कविता रोइरहेछ -मृत्युमा

जहाँ गए पनि
कविता मृत्युको स्पन्दन
यहीं छ –
यही हृदयको अन्तर गहिराइमा !

यहाँ देश चोर्नेहरूको स्वर ठूलो छ

यहाँ देश चोर्नेहरूको स्वर ठूलो छ
ठूलै भाग सोर्नेहरूको स्वर ठूलो छ !

ढाँटेर, ठगेर, अरुलाई मारेर भए पनि
अकूत सम्पति जोर्नेहरूको स्वर ठूलो छ !

ऋण माथि ऋण थोपर्दै जनताको टाउकोमा
तिनकै टाउको फोर्नेहरूको स्वर ठूलो छ !

नेपाललाई सुन्नु पर्यो

नेपाललाई सुन्नु पर्यो
तिनलाई दुख्दा रुनु पर्यो!

नेपाललाई पिरतीको
पियुषले धुनु पर्यो !

दासताको दाम्लो अब
सबै मिली फुनु पर्यो !

नालापानी सम्झिएर
सुनपानी छुनु पर्यो !

मायाँ त्यो अधुरो वीचमै तोडौं नभन

मायाँ त्यो अधुरो वीचमै तोडौं नभन
जिन्दगीको बाटो अब मोडौं नभन !

लाए पछि नौलो मायाँ, नौलो पिरती –
पुरानो मायाँको कुरा त्यो छोडौं नभन!

सम्झनाका झारहरू उम्रे ठीकै छ –
छुट्टाछुट्टै मनको बारी गोडौं नभन!

भैंसी बेचेर भिसा किन्छ सन्ते

भैंसी बेचेर भिसा किन्छ सन्ते
खाजा सामल सातु पिन्छ सन्ते !

भिरमा के फुल्थ्यो र जिन्दगी
भन्दै त्यो झीरमै उनिन्छ सन्ते !

मीठो मायाँ दमिनी साइँलीको –
अनि आमाको आश छिन्छ सन्ते !

अहँ, केही छैन खोट यो मनमा

अहँ, केही छैन खोट यो मनमा
तथापि छँदैछ चोट यो मनमा !

ठान्छु यो नियतिको खेल होला
उम्रन्न फूलको बोट यो मनमा !

लाग्छ मायाको चिजै यस्तो-
हुँदैन हाँस्ने अठोट यो मनमा !

चार हाइकु

१. पीर मुटुमा
तिमीलाई सम्झेर
हाँस्छु बेसरी !

२. जोडी चखेवा
ब्ल्याक होल केमिस्ट्री
देख्छ ईश्वर !

३. अच्छा लेकिन
राम्रो छ दार्जिलिंग
भाषा नेपाली !

मन यो सुकेको खर झैं सल्किन्छ

मन यो सुकेको खर झैं सल्किन्छ – नहेर
स्वप्निल तिम्रो छायामा पल्किन्छ – नहेर !

आँखाहरूबाट बर्सन्छ क्याटरिना ‘
मनताल को डुंगा ढल्किन्छ – नहेर !

कोलाजको लाज पोत्छ रंगले
आँखैमा इन्द्रेनी छल्किन्छ – नहेर !

प्रियसी ! तिम्रो पलपल जिन्दगी
मायाले बल्झेको झल्किन्छ – नहेर !

20101102_SharanAnsu_Report-02

संरक्षण कविता आन्दोलन ०५५ को ५१ औ र ५२ औ शृंखलाका कार्यक्रमहरू सम्पन्न

संरक्षण कविता आन्दोलन नेपाली कविताको मौलिक राष्ट्रिय आन्दोलन हो । कविहरूले कुनै ठाउँको प्रकृति, सुख दु:ख, मूल्य मान्यता आदि विम्वहरूलाई टिपेर कविता लेखे पछि त्यो कविताको प्रथम पाठक या श्रोता हुने अधिकार पनि त्यही ठाउँको मानिसमा नै रहन्छ भन्ने सोच बाट अभिप्रेरित भै नेपाल गाउँ नै गाउँले भरिएको मुलुक भएकोले कविता विम्वका थुंगाहरू गाउँमा नै गएर टिपिनु पर्छ र कविहरूले कविताका माला उनेर तदस्थानीय मानिसहरूलाई नै पहिर्याइ कविता यात्राको माध्यमबाट वालवालिका तथा जनमानसमा कविता र यसमा अन्तर्निहित वस्तुहरू प्रतिको अनुराग बढाउदै लानु पर्छ भन्ने राष्ट्रिय भावनाका साथ नेपाली वांमयका चम्किला नक्षत्र एवं कवि सरुभक्तद्वारा संरक्षण कविता आन्दोलनको सूत्रपात भएको हो।

पाएको थें खुशी सारा दिलाउने साथी

पाएको थें खुशी सारा दिलाउने साथी
च्यातिएको मुटु सँगै सिलाउने साथी !

थाहा छैन कहाँ गयो, कता हरायो –
उकालीमा चिसो पानी पिलाउने साथी !

सिमलीको छाया मुनि सितलमा बसी
निदायो कि घैया बारी जिलाउने साथी !

सालको पात बजाउँदै झर्यो कि त बेसी
दु:ख परे पनि सधैं झिल्मिलाउने साथी !

समय र इतिहास

समय शाश्वत

इतिहास त्यसैमा आशक्त छ ।

समयले जन्माएका
आइन्स्टाइनहरू
समय झैं
शुन्यमा ठोकिए
किनकि
ईश्वर शुन्य हो ।
तिनको इतिहास हुँदैन ।

प्रिय ! तिम्रो आँखा पनि यति पोखियो

प्रिय ! तिम्रो आँखा पनि यति पोखियो कि आज
त्यही आँसुले मेरो सबै पाप चोखियो कि आज !

झरी पर्न थालेपछि तिम्रो आँखामा-
धरतीमा घाम आउने बाटो रोकियो कि आज !

दुवै मिली जोड्यौं कति मायाँ जिन्दगीमा-
जोड्दा जोड्दै मायाँ सित मायाँ ठोकियो कि आज !

ज्यानमायालाई आज भेटूं कि

ज्यानमायालाई आज भेटूं कि
फूलै फूलको माझ भेटूं कि !

दिनै भरि झल्को लाग्यो
चौतारीमा साँझ भेटूं कि !

पछ्यौरीले मुख छोपी
लुकाएको लाज भेटूं कि !

बुकी फूल फुल्दा म फुलें लेकमा

बुकी फूल फुल्दा म फुलें लेकमा
हिउँ खोली तर्दै कति डुलें लेकमा !

घुम्दै आएँ रारा देखि च्छोरोल्पा सम्म
फूलमा भुल्ने भमरा झैं भुलें लेकमा !

कति राम्रो रैछ आहा! रुपै रानीको
मन मस्त भई म त झुलें लेकमा !