Skip to content

नलेखिएको कविता


म कविताहरुको माझमा छु
कविता छ -ढुंगाहरुमा
निष्प्राण सेतीको पानीमा र
बगर झैं बनेको मेरो रहरमा !
कविता बगिरहेछ
कविता रोइरहेछ -मृत्युमा

जहाँ गए पनि
कविता मृत्युको स्पन्दन
यहीं छ –
यही हृदयको अन्तर गहिराइमा !
धान फुलेर मङ्सिर झुल्न बाँकि छ
बस, यो असमयको
इतिहास रेटिन बाँकि छ
अविरल नदीमा समाहित
अविरल मनको मृत्यु
बेहिसाब जीवनको कथा सित
साटिन बाँकि छ
बस, एउटा कविता लेखिन बाँकि छ !
पहराको ठुटो रुखबाट
एक जोर गिद्धहरु
मृत्यु उत्सव हेरेर
खण्डहर जीवनको त्रासदी लुट्न तयार छन्
बस, एउटा सिमलको रुख लेखिन बाँकि छ
डेक्लोफ्यान मेटिन बाँकि छ !
फूल छ , पन्छी छ ,
जीवन ,मृत्यु र भोगाइहरु छन्
र मेरो देश
कविको अनुहार चपाएर मक्ख छ !
हराभरा तरेली परेका गराहरुमा
जून पोखिन बाँकि छ

विस्मृत मन / मस्तिस्कहरुमा
स्मृतिको कविता लेखिन बाँकि छ !
दुरुह जीवन यात्रामा
फेला नपरेर
बस, यति नजिकै ओझेल परेको
यो सुनाखरी झैं सुन्दर नगरी
यसको कविता त लेखिन बाँकि नै छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *