दलबीर सिंह बराइली 'घायल'
खण्डहर जिन्दगी
सागर लामो समयपछि घरमा आएको थियो । आधिरातसम्म कुराकानीमा बितेकोले घाम माथिसम्म आई सक्दा पनि निद्रा खुलेको थिएन । चराहरूको चिर्वीर आवाजले ऊ व्यूँझिन्छ । आङ तान्दै ऊ झ्यालको पर्दा हटाई बाहिर चारैतिर दृष्टि दौडाउँछ । बिहानी सूर्यको किरणमा डाँडा काँडा नवदुलही झैं सिंगारिएका थिए । वातावरण एकदम शान्त थियो । तैपनि किन हो कि उसलाई उराठ लागिरहेको थियो । जब सागरको दृष्टि सरिताको घरमा पर्छ: तब उसको मनभित्र अनौठो आँधी चल्न थाल्छ । मानौं, यो धर्ती नै तहशनहस भएको छ । अतितका लाखौं तिता मिठा यादहरू समुद्रको छाल झैं आउँने जाने क्रम चल्न थाल्यो । एक्कासि मुटुको धड्कन तेज हुन्छ ।
उदण्ड छन् माननिय कानुनको बार छैन ।
उदण्ड छन् माननिय कानुनको बार छैन
यो देशमा नैतिक्ता र कुनै शिष्टचार छैन
जहाँबाट मर्यादाको उदाहरण दिनु पर्थ्यो
त्यहिभित्र ताण्डव छ यस्तो त संसार छैन
ईतिहास बनाउँने जिम्मेवारी सुम्पेका थ्यौं
कर्तव्य बोध हुन्न छोड बस्ने अधिकार छैन ।
‘मेरो गोरु बाह्रै टक्का’ कतिदिन गर्छौ भन?
बर्षौं भयो देश लुट्या अझै वार-पार छैन ।
‘घायल’झैं दुनियाँले यहि प्रश्न सोधेका छन्
जनताप्रति नेताहरु किन जिम्मेवार छैन?
दलबीर सिंह बराइली ‘घायल’
गुप्तेश्वर-३,रामेछाप
हाल:अलऐन,युएई
सर्वाधिकार©घायल
बौद्धिक्ताका ठेकेदारी बढेका छन् अचेल
बौद्धिक्ताका ठेकेदारी बढेका छन् अचेल
कुरा काट्ने रोजगारी बढेका छन् अचेल
आफ्नैबाट उक्साईन्छन् धन धेरै जोड्न
प्रमाण हो, भ्रष्टचारी बढेका छन् अचेल
भड्काउँने पोशाकले मात्र कहाँ हो र?
घरैभित्र बलत्कारी बढेका छन् अचेल
गरिबको नाम लिंदा तिम्रा भुँडी फुल्छन्
कर्णालीमा भोकमारी बढेका छन् अचेल
साहित्यको कख लेख्दा धेरै माया पायो
‘घायल’को जिम्मेवारी बढेका छन् अचेल
गुप्तेश्वर-३, रामेछाप
हाल:अलऐन,युएई
आखिर किन ताराले आत्महत्या गर्यो ?
पोहोर साल यसै बेला छुट्टी गएको थिएँ र यस पटक पनि जाने तयारी गर्दैछु । तर यो साल देखि काठ्माण्डौतिर नै स-परिवार बसोबास सरेकोले गाउँ जाँदा हिंड्नु पर्ने दुख हुने छैन साथै यात्राको क्रममा हुने आनन्दनुभूति पनि प्राप्त हुने छैन ।
गतसालको दशैमा झरी पानी परेको कारण कच्ची बाटोमा बस चलेको थिएन । जिरीदेखि करिब एक दिनको बाटो हिड्नु कम चुनौतीपूर्ण थिएन म जस्तो यो खाडीमा लागेको फोक्से मासुको शरिर भएको मान्छेलाई…। गाउँबाट मेरो भारी लिन आउँने मान्छेको व्यबस्था गर्न करिब ४-५ दिन नै लाग्यो । अनि बल्ल गाउँबाट मान्छे आउँने पक्का भएपछि म जिरीको गाडी चढें ।
यो आँसुको भेल छेक्न
किन हाम्रो सम्बन्धमा पर्खाल छोडेर गयौ
यो आँसुको भेल छेक्न रुमाल छोडेर गयौ ।
यो दिलमा बास दिएँ दिलकै खजना लुट्यौ
खाली खाली छु म यस्तो कंगाल छोडेर गयौ ।
सम्झनाले पोल्छ छात्ति धड्कन बढेर जान्छ
तिमी साँच्चै निष्ठूरी हौ बेहाल छोडेर गयौ ।
तिमी कति टाढा पुग्छौ भागेर मसँग हेरौं
त्यो रित्तो शरिर लिई नेपाल छोडेर गयौ ।
‘घायल’यो मुटुभित्र उम्लेको ज्वालामुखी छ
केके हुने हो धर्तिमा सवाल छोडेर गयौ ।
गुप्तेश्वर-३,रामेछाप
हालःअलऐन,युएई
Copyright©घायल
‘घायल’ झैं धैर्य गरौं
मुटुभित्र दु:ख पीडा खातैखात किन हुन्छन् ।
शत्रुभन्दा आफ्नैबाट बिश्वासघात किन हुन्छन् ।1।
मल हाल्दा आशा गर्छौं बगैंचामा फूल फूलुन्
फूलभन्दा सप्रिएका झारपात किन हुन्छन् ।2।
शक्तिशाली साँढेहरू आपसैमा जुध्छन् यहाँ
निर्दोष ति गाई बाच्छा हाताहात किन हुन्छन् ।3।
दुनियाँमा पिरतिका कति अमर नजिर छन्
आजभोलि जवानीका अन्धो मात किन हुन्छन् ।4।
पाहुना भै आएका छौं यो धर्तिमा सबै प्राणी
ए मान्छे हो तिम्रो मात्रै थरजात किन हुन्छन् ।5।
छेपारोले फेरे जस्तै स्वार्थिहरू रङ्ग फेर्छन्
साँचो कुरा सुन्नु पर्दा ति हठात किन हुन्छन् ।6।
‘घायल’ झैं धैर्य गरौं देखिनेछ चरित्र त्यो
चार मिक्तक
1,
भद्रगोल देश बिरामी नेता
जनता भयौं उता न यता
के हाल भयो नेपाली हाम्रो
पहिले भन्थे बिश्व बिजेता ।
2,
पानीमा धमिलो मिसाउँछ मुर्ख
क्यै भने झनक्कै रिसाउँछ मुर्ख
उकाली ओराली बुझेन केहि नि
भिरैमा जिन्दगी बिसाउँछ मुर्ख ।
3,
व्यस्त हुन्छु आजभोलि केहि फुर्या छैन
सबै सँग बोल्ने साईत अझै जुर्या छैन
सम्झेको छु सबै लाई यही वाल बाट मैले
यो समय निष्ठुरी छ मलाई कुर्या छैन ।
4,
सम्झनाको तरेलीमा फूल्नु सँधै तिमी
मनको बेली चमेलीमा फूल्नु सँधै तिमी
अलिकति हाँसोसँगै खुशी थप्नु त्यस्मा
पुर्णिमाको जुनेलीमा फूल्नु सँधै तिमी ।
गुप्तेश्वर-३,रामेछाप
हाल:अलयेन,युएई
मेरो चैं भाग्यमै खोट छन्
मेरो चैं भाग्यमै खोट छन् तिमीसँग छैनन्
मुटुमा हजारौं चोट छन् तिमीसँग छैनन्
ऊ माथि नियाली हेर त! आकासको जुन
हो त्यहाँ आशाका बोट छन् तिमीसँग छैनन्
हतास छ मन अझै नि केके हुन्छ भोलि
फेरि नि बाँच्ने अठोट छन् तिमीसँग छैनन्
भोकै यो जिन्दगी चल्दैन यति बुझि राख
बाँच्छु म हरियो नोट छन् तिमीसँग छैनन्
मायाको न्यानोले तुषारो छेक्छु भन्छौ,हेरौं
जाडोमा मसँग कोट छन् तिमीसँग छैनन् ।
गुप्तेश्वर-३, रामेछाप
हाल:अलऐन,युएई
