Skip to content

दलबीर सिंह बराइली 'घायल'

नेपाली बहरे गजलमा आजसम्मकै सबैभन्दा लामो गजल

वाचन सजिलोको लागि ( / ) अर्ध बिश्राम (/\) मध्ये बिश्राम

याद होला सबैलाई /दुष्ट राणा हटाएको /राष्ट्रघाती भनेका त्यै /राजशाही भगाएको /\आज नेता नयाँ आए /देश बाँड्दै लुटी खाए /क्रान्तिकारी भएकाछन् /दुख्छ मेरो त्यसैले मन्।
फेरिएको भए शासन /मुर्ख हामी हुनेथेनौं /खास नाताहरूलाई /मात्र जागिर दिनेथेनौ /\भाइचारा बिगार्दै छौ /छट्टु नेताहरू लाखौँ /रूपधारी भएकाछन् /दुख्छ मेरो त्यसैले मन्।

इमान्दार मान्छे महलमा हुँदैनन्

इमान्दार मान्छे महलमा हुँदैनन्
महलमा नपुग्ने सफलमा हुँदैनन् ।

मुटू भित्र पीडा बढेको छ धेरै
नभन्नू न काँडा कमलमा हुँदैनन् ।

खराबी छ तिम्रै नजरमा र भन्छौ
मिठासै अरबको गजलमा हुँदैनन् ।

बोल्यो भने ऊ गिरफ्तार हुन्छ

कठै! मेरो देशको न्यायलयमा भ्रष्टचार हुन्छ ।
अँह बोल्नु हुन्न बोल्यो भने ऊ गिरफ्तार हुन्छ ।

धेरै मिठा देखेका थ्यौं गणतन्त्र पछिका सपना
शिक्षा स्वास्थ्य न्यायमा समान अधिकार हुन्छ ।

व्यवस्थापिका कार्यपालिका न्यायपालिका हेर?
सबै बिक्रिमा छन् पैसामा यसको व्यापार हुन्छ ।

तिम्रो मेरो भेटघाट अन्तिम हुन सक्छ

तिम्रो मेरो भेटघाट अन्तिम हुन सक्छ
सँगै यात्रा आजैबाट अन्तिम हुन सक्छ ।

दिएँ होला दु:ख पीडा तिमीलाई मैले
कस्सम यो मारकाट अन्तिम हुन सक्छ ।

शंकाको त्यो कालो छायाँ देखिंदैछ धेरै
विश्वासको साटासाट अन्तिम हुन सक्छ ।

मनले ठिक हुनै दिन्न बेठिकबाट मलाई

मनले ठिक हुनै दिन्न बेठिकबाट मलाई
नपत्याए हेर्नुस् आई नजिकबाट मलाई

सडक हुँ आऊ कुल्च यो छातीमा के भो र?
छैनन् धेरै पाउने आश पथिकबाट मलाई

भो भो माया नदेखाऊ तिमी आई छेउमा
धोका मात्रै मिलेको छ अधिकबाट मलाई

तीन मुक्तक (चाहेको कुरा पुग्दैनन्)

१,
चाहेको कुरा पुग्दैनन् किन होला
आँखामा आँसु सुक्दैनन् किन होला ?
यो परदेशमा पलपल मर्दैछु साथी
बुझ्नेले कुरै बुझ्दैनन् किन होला ?

करेसामा फूल रोप्दा पलायो रे झार मात्रै

करेसामा फूल रोप्दा पलायो रे झार मात्रै
कहाँ होला बैंस फुल्ने जवानीको टार मात्रै?

तिमी मेरो सम्झनामा सिरानीमा आँसु हुन्छ
अँझै कैलेसम्म भोग्ने सधैं यस्तो हार मात्रै?

उकालीमा याद आए बिसौनीमा पर्खि बस्नू
तिमी एक्लै गर्न सक्छौ नदीलाई पार मात्रै ।

पिएको मातमा पीडा बढी हुन्छन्

पिएको मातमा पीडा बढी हुन्छन्
छ ठेला हातमा पीडा बढी हुन्छन् ।

तिमी बस्ने कहाँ होला? खबर देऊ
म भेट्छू घातमा पीडा बढी हुन्छन् ।

कस्ले सके लड्दालड्दै धरहरालाई रोक्न?

कस्ले सके लड्दालड्दै धरहरालाई रोक्न
सकिंदैन आकासमा उड्ने चरालाई रोक्न ।

काँडे बार लगाएर रोप्छन् फूल सधैं माली
अँझै पनि असफल छन् भमरालाई रोक्न ।

अन्धविश्वासले गर्दा मानवता मर्‍यो यहाँ
को आउँछ रुढीवादी परम्परालाई रोक्न?

नशा हर नजरमा फरक हुँदो रै’छ ।

गाउँ र शहरमा फरक हुँदो रै’छ
प्रवास र घरमा फरक हुँदो रै’छ ।

छाल बनी सयौं किनार चुम्ने गर्छु
ढुँङ्गा र बगरमा फरक हुँदो रै’छ ।

रिसाउँथी छुँदा लजाउँछे अचेल
चाहना र करमा फरक हुँदो रै’छ ।

आफ्नै आत्मा तड्पिएर बेहाल छ यो छातिभित्र

आफ्नै आत्मा तड्पिएर बेहाल छ यो छातिभित्र
माया पाए राख्ने ठाउँ बिशाल छ यो छातिभित्र ।

दुखी भन्छन् दुनियाँले उथल पुथल हुन्छ जीवन
मैले सँधै भोग्ने ठुलो भुचाल छ यो छातिभित्र ।

आज भोलि यो खाडीको घाम धेरै डराउँछ
जैले देखि थाहा पायो हिमाल छ यो छातिभित्र ।

परदेशमा दुःख गर्दा किन ठान्छौ पराय झैं?
हेर मेरो प्यारो देश नेपाल छ यो छातिभित्र ।

‘घायल’को दुःख पीडा सुन्न तयार छैनन् कोही
सुनाउँनै पर्छ भन्ने हड्ताल छ यो छातिभित्र ।

गुप्तेश्वर-३, रामेछाप
हालः अलऐन, संयुक्त अरब इमिरुट्स
©घायल २०१६

पाँच मुक्तकहरू (गाउँ र शहर हराएको मान्छे)

१,
गाउँ र शहर हराएको मान्छे
खुशी र रहर हराएको मान्छे
म जस्तै होलान प्रवासमा कति
सुनौलो प्रहर हराएको मान्छे ।

जोश जाँगर बल सबै त्यो जवानीमा थियो

जोश जाँगर बल सबै त्यो जवानीमा थियो
एउटा नौलो रहर जिन्दगानीमा थियो ।

खै कहाँ के के भयो साथ छोड्यो आँसुले
चिस्सिएको आँसुको दह सिरानीमा थियो ।

साँझ कालो रातले निल्न लाथ्यो धर्ति नै
त्यै अनौठो त्रासदी यो बिहानीमा थियो ।

यो गरिबको सामुमा फुर्ति के देखाउँनू?
मात्र घर तिम्रो ठुलो राजधानीमा थियो ।

दोष देऊ चोट या पार ‘घायल’ यो मुटु
जो बसे मनमा उही भाग्यमानीमा थियो ।

बहर:- मदिद
शुत्र:- २१२२-२१२-/-२१२२-२१२

दलबीर सिंह बराइली ‘घायल’
गुप्तेश्वर-३, रामेछाप
हालः अलऐन, युएइ
©घायल २०१६

पाँच मुक्तक (किन खस्छन् आँसु)

१,
किन खस्छन् आँसु मेरा परेलीका डिलबाट
कैले होला छुट्ने मैले बल्झिने यो खिलबाट
दुख्छ मुटु पोल्छ छाती बेहोस् हुन्छु हरदिन
कसो गरी फालुँ मैले तिम्रो याद दिलबाट?

२,
भूकम्पपछि चिसोले मर्दैछन् जनता
नाकाबन्दीको मारमा पर्दैछन् जनता
किन चाहियो संकटमा यत्रो मन्त्रीहरू?
निकम्मा सरकार! प्रश्न गर्दैछन् जनता ।

अचम्मै छ! तिम्रो कस्तो चाहना हो म बुझ्दिन

अचम्मै छ! तिम्रो कस्तो चाहना हो म बुझ्दिन
मेरो मृत्यु या जीवनको कामना हो म बुझ्दिन ।

सर्बश्रेष्ठ प्राणी मान्छे पत्थर बन्न थाले यहाँ
भगवान या दानवको सिर्जना हो म बुझ्दिन ।

हाँसो खुशी पिलाउँछु आँसुको छ प्यास भन्छौ
साँच्चै भन्छु तिम्रो कस्तो तिर्सना हो म बुझ्दिन ।

मानवता बिक्री हुन्छन् धर्मसँगै गाउँबस्तीमा
गरिबको उद्धार हो कि यातना हो म बुझ्दिन ।

जन्मदिने बाबु आमा भोकै नाङ्गै ‘घायल’ छन्
केको लागि प्रभुसँग प्रार्थना हो म बुझ्दिन ।

दलवीर सिंह बराइली ‘घायल’
गुप्तेश्वर-३, रामेछाप
हाल: अलऐन, संयुक्त अरब ईमिरेट्स
©घायल २०१५

गणतन्त्र र हामी

पृथ्वीनारायणले टुक्रा टुक्रा देशलाई नेपाल बनाए
उसलाई साम्राज्यवादी भन्यौं ।
राणाहरूले देशको अस्तित्व बचाए,
उनीहरूलाई एकातन्त्री भन्यौं ।
पञ्चहरूलाई तानाशाही भन्यौं
र ल्यायौ बहुदलवाद,
त्यो पनि फुस्स भयो ।

गज़ल:यत्ति बुझ्नू यो धर्तिमा तिमी पनि करारमा छौ ।

खोलालाई सोधि हेर कहाँ पुग्ने बिचारमा छौ?
समयलाई पनि सोध किन तिमी हतारमा छौ?

खरिद बिक्रि हुन्छन् मान्छे नपत्याए ऐना हेर
बिक्रेता र क्रेता आफै जिन्दगीको बजारमा छौ ।

मनभित्र उथल पुथल किन हुन्छन् नसोध्नु है
आँधिहुरी सामान्य हो चाहनाको किनारमा छौ ।

भगवान नै छैनन् यहाँ नत्र भन कस्ले भेट्यो?
पूजा गरी मोक्ष मिल्ने अचम्मैको पत्यारमा छौ ।

‘घायल’हरु छट्पटिंदा पिडकहरु खुशी हुन्छौ?
यत्ति बुझ्नू यो धर्तिमा तिमी पनि करारमा छौ ।

गुप्तेश्वर-३,रामेछाप
हाल: अलऐन,युएई
©घायल

पाप आउँछ घाँटी रेट्न सत्य टाढा जाँदा

पाप आउँछ घाँटी रेट्न सत्य टाढा जाँदा
मान्छे हुन्छ दिशाहिन लक्ष्य टाढा जाँदा ।

हतास हुँदै दौड धुप गरिरहन्छ मान्छे
आफूबाट कालो धन द्रव्य टाढा जाँदा ।

मुर्छा परि बिलाप गर्छौं आफ्नो कोही गए
किन दुखी हुन्नन् मान्छे अन्य टाढा जाँदा ।

सात मुक्तकहरु

१,
च्यातिएको खुशीहरू टाल्नु किन पर्यो ?
जिउँदो यो लाशलाई फाल्नु किन पर्यो ?
धनी जस्तो चिन्ता पिर छैन मलाई त
कात्रोभित्र खल्ती मैले हाल्नु किन पर्यो ?
२,
कतिजना रिसाउँछन् बिना कारण नै
र सपनीमा आउँछन् बिना कारण नै
यस्तै रै’छ संसारको चलनहरू पनि
घायल पो बनाउँछन् बिना कारण नै?
३,
साँझ क्षेणिक रंगिएको क्षितिजको लाली जस्तो
शुन्यता छ जिन्दगीमा भित्र सबै खाली जस्तो
भाग्यरुपी कल्पनाको महलभित्र के के होलान्?
भएकोछु मन्दिर सामु घोप्टिएको थाली जस्तो ।
४,
आँसु पिउँनु पर्छ र आँसुले नुहाउँनु पर्छ
पीडा असैह्य हुन्छ र आँसु चुहाउँनु पर्छ
नत्र रोए झैं गरेर आँसुको बदनाम हुन्छ

जवाफ के दिन्छौ ‘घायल’यमराजको सामु

अभावले पिल्सिएको झोकमा के भयो ?
लुटें, चोरें, ढाँटे, मैले भोकमा के भयो ?

धन सँगै हाँसो खुशी गुम्यो पालैपालो
घाटा मात्रै लाग्छ सबै थोकमा के भयो ?

आफ्नै मान्छे खुशी हुन्छन् दुखी मरेपछि
कस्को आँसु पुछ्दै सोधौं शोकमा के भयो ?

आफ्नो पेट पाल्न आफै लिलामीमा थिएँ
आफै हेर्न सक्छौ तिमी चोकमा के भयो ?

जवाफ के दिन्छौ ‘घायल’यमराजको सामु
सोध्लान् त्यहाँ भन तिम्रो लोकमा के भयो ?

गुप्तेश्वर-३,रामेछाप
हाल:अलऐन,संयुक्त अरब इमिरेट्स
©घायल