Skip to content

एकदेव अधिकारी

अब हाम्रो पालो (लघुकथा)

‘के हामी सँधै यिनीहरूको दास बनेर बस्नुपर्ने हो ?’ सिन्थेक्सले रोष प्रकट गऱ्यो ।

‘हैन साथीहरू हो, अब ईँटको जवाफ पत्थरले दिनुपर्छ ।’ अमोरेक्सले विद्रोहको विगुल फूक्यो । सबै बिद्रोहीहरू एक स्वरमा अमोरेक्सको सुझावप्रति समर्थनमा तालि बजाए । भेलाले सिन्थेक्सको नेतृत्वमा बिद्रोहको सुरूआत गर्ने निर्णय गर्यो ।

सिउँडी र उखु (लघुकथा)

रछ्यानको छेवैको जमीनमा माटो कोट्याउँदै बाहिर निक्लन लागेको उखुको टुसोले भयभीत हुँदै सिउँडीलाई हेर्न थाल्यो । त्यो देखेर घरको पर्खाल बनेर घरको सुरक्षाको जिम्मा लिएको सिउँडीले भन्यो
“डराउनु पर्दैन बाबु, तिमी हामी एकै वनस्पति जातका हौँ ।”

भगवान (अनूदित लघुकथा)

धेरै समय अगाडिको कुरो हो, जब म भर्खरै बोल्नसक्ने भएको थिएँ, म पवित्र पर्वत उक्लेँ र भगवानसँग भनेँ, “हे मालिक, म त हजुरको दास हुँ, हजुरको इच्छा मेरालागि कानून हो र म त्यसको पालना हरदम गर्नेछु ।”

तर भगवान कुनै उत्तर नै नदिई तीब्र आँधी सरह हुँइकिनु भयो ।

युद्ध र साना देशहरू (अनूदित लघुकथा)

एक पटक एउटा भेँडा र उसको सानो पाठो कुनै एक घाँसे मैदानमा चरिरहेका थिए, उक्त मैदानको माथि एउटा भोको चील घुम्दै त्यो सानो पाठोलाई हेरिरहेको थियो । जब त्यो भोको चील त्यो सानो पाठोलाई झम्टन खोज्दै थियो कि त्यत्तिकैमा त्यहाँ अर्को एउटा चील देखा पऱ्यो र त्यस्तै भोकाएको नजरले त्यो पाठोलाई हेर्न थाल्यो । त्यसपछि ती दुई प्रतिद्वन्दी डरलाग्दो आवाजले पुरै आकाश घन्काउँदै एक-अर्कासँग जुध्न थाले ।

अमेरिकी समय (लघुकथा)

अमेरिका आएदेखि नै सबैलाई यो पट्टी पढाइयो कि यहाँ सबैकुरा समयमा हुन्छ भनेर । दुइ हफ्ता देखि यस्तै समयको महत्त्व, यहाँको व्यस्त तथा व्यवस्थित शहर, यातायात, व्यक्ति, सबैदेखि अचम्भित हुँदै यहाँको काइदा सिक्दै थियो । ६ हफ्ताको प्रशिक्षण कार्यक्रममा ऊ लगायत अन्य १६ देशका २१ शिक्षकहरू अमेरिकी शिक्षाप्रणालीको साथ-साथै एक-आपसका देशमा प्रचलित शिक्षाप्रणालीसँग जानकार हुँदै थिए र यो सम्पूर्ण शिक्षकहरूको लागि सुनौलो अवसर थियो । समयमा ब्रेकफास्ट, समयमा कलेज, समयमा लञ्च, र समयमा डिनर । दुई मिनट ढिलो भयो कि, समस्या । सबै चुस्त, दुस्त र शरीर तन्दुरूस्त । यस्तै दिनचर्या चलिरह्यो ।

सहयोगी रोबोटहरू (अनूदित लघुकथा)

“हाम्रा मानिसहरू आज हामीलाई भेट्न आउँछन,” रोबोटले भन्यो ।

“चुप लाग!” रोड रान्किन झोक्कियो । कुर्सी फनक्क घुमाएर उठ्दै बरण्डातिर गयो र एकोहोरिँदै कतै हेरिरह्यो ।

“हाम्रा मानिसहरू–” दश फिट अग्लो, बेलनाकार रोबोट मशीनी आवाजमा बोल्दै थियो जब रोड रान्किनले उसलाई रोक्यो ।

लालचको फल (लघुकथा)

दुनियाँलाई आफ्नो जालमा फसाउन कसैले धनप्रसादसँग सिकोस् । उ गाउँको मुखिया, महाजन, अन्नदाता, ऋणदाता, के थिएन । गाउँलेहरू पनि अड्को पड्को पर्दा धनप्रसादलाई नै गुहार्न पुग्थे । एकपटक धनप्रसादसँग गुहार माग्नेको जायजेथा अजिङ्गरले आहारा निले झैँ निलेर डकारसम्म पनि नगर्दासमेत गाउँलेहरूले उसको मुखेन्जी चुँक्क बोल्दैनथे । गाउँमा कसैको बाख्रो, पाडी, राम्रो देख्नासाथ साम, दाम, दण्ड, भेद आदि सबै प्रकारको हतकण्डा अपनाउँदै लैजान पछि पर्दैनथे धनप्रसाद ।

आज गाउँमा एउटा छाडा भैँसीको हल्ला चलेको उसले पनि सुन्यो । गाउँलेहरू कसैले पनि आफ्नो भनेर दावी नगरेको पनि थाहा पायो । गोठमा गएर हेऱ्यो सबै भैसीहरू मस्त उघ्राएर बसीरहेका छन् । उसले मनमनै सोच्यो यत्रा भैँसी अटाएका छन त त्यो एउटा कसो नअटाउला । यदि कसैले लाँदैन भने म यतै ल्याउँछु । ऊ फटाफट हल्लाखल्ला भएको ठाउँतिर हानियो ।

पुनर्जीवन (अनूदित लघुकथा)

“तपाईँ जस्तो गज्जबको मान्छे मैले कोही भेटेकी छुइन ।” केटीले भनी । “तपाईँको कथा सुनौँ न ।”

होचो, खाइलाग्दो एशीयाली मूलको बाघजुङ्गे मानिसले भन्यो, “पुरै कथा भन्न त एक युग लाग्छ ।” ऊ झ्याल बाहिरको पहेँलो र रातो सूर्यलाई एकतमासले हेरीरह्यो । यसरी दुवै रङ्गको सूर्यलाई हेर्न ऊ अझै अभ्यस्त थिएन । वास्तवमा त्यो भन्दा महत्त्वपुर्ण अन्य प्रशस्त कुराहरू थिए जसमा ऊ अभ्यस्त हुनै थियो ।

‘स्व’को खोजी (अनूदित लघुकथा)

एकदिनको कुरो हो, म यसै एक पागलखानाको बगैँचामा टहलिरहेको थिएँ कि एकजना मानिस दर्शनशास्त्रको किताब पढिरहेको अवस्थामा देखेँ । उसको बानी बेहोरा र सु-स्वस्थ शरीरको कारणले पनि ऊ पागलखानाकै अन्य बन्दीहरू भन्दा भिन्न देखिन्थ्यो ।

म पनि उसको नजिकै बसेँ र उसलाई सोधेँ ।

शत्रु (भावानूदित लघुकथा)

छ वर्षे छोराको निष्प्राण शरीर र श्रीमती को अचेत शरीर किरिलोभको आँखा अगाडि नाच्न थाल्यो । एक मात्र छोरो र त्यसको वियोगको पीडा कसले सहन सक्थ्यो र ? ऊ त एक पुरूष थियो र साथै एक डक्टर पनि, यस्ता कारूणिक पलहरूसँग परिचित थियो । असह्य पीडाको वावजुद सान्त्वनाका स्वरहरू श्रीमतीसँग बाँडनु पर्ने वाध्यता । अचानक कलबेलको आवाजले झस्कँदै ढोका खोल्न पुग्यो ऊ ।

“डक्टर घरमै हुनुहुन्छ ?”

मापसे (लघुकथा)

रातको करीब १० बज्दै थियो । सौराहाचोकको आडैमा रहेको प्रतिक्षालयको नजिकै एक प्रहरी भ्यान उभीएको छ । बत्तीको प्रकाशमा टल्–टल् टल्कने गुलाबी रङ्गको ज्याकेट लगाएका ट्राफिक प्रहरीहरू आउने जाने बाहन रोक्दै चालकहरूको मापसे परीक्षण गर्नमा व्यस्त छन् । एक युवा आफ्नो प्रतिरक्षा गर्दछन – ‘‘होइन सर, मैले त एउटा रेड–बुल मात्र लिएको हो । म अरू ‘हार्ड’ होस या ‘सफ्ट’ केही खान्न । विश्वास गर्नुस् ।’’ तर प्रहरी विश्वास गर्न तयार छैन ।

परबाट एउटा कार आएको देखिन्छ । कार रोकिन्छ । चालकको मापसे परीक्षण गर्न नपाउँदै पछाडिपट्टिको सिटबाट आएको चिर–परिचीत आवाजले प्रहरीको आँखा उतै तिर तानिन्छ – ‘‘अलि हतारो छ भाइ, ड्राइभरको जिम्मा म भएँ ।’’

‘‘ठीकै छ हजुर, अनि यतिबेला हतारो गरी गरी कता त ?’’

तीन तरङ्ग (प्रयोगात्मक कथा)


त्यत्रो दिनदेखि घर बोलाको आज बल्ल आयो … सँधै आउँछु मात्र भन्छ … हुन त भाउ दिएकी थिइन … सँधै पछि लागेपछि के लाग्दो रहेछ र … डक्टरलाई पनि विश्वास नगर्ने भनी मख्ख पाऱ्यो … कहिलेकाहीँ त शंका लाग्छ … मान्छे त राम्रै होला जस्तो लाग्छ … ल ठीकै छ … बुवाले पनि डक्टर भए त हुन्छ भन्नु हुन्थ्यो … आखिर धेरै पढेर पनि के नै पो हुने हो र … उसले कमाइहाल्छ, मलाई पनि एउटा फार्मेसी खोलीदिन्छु भन्छ … आखिर पढेर पनि त पैसै कमाउने त हो … नपढी कमाइन्छ भने किन दुःख गर्नु …

अभिशाप (लघुकथा)

त्यस दिन एस.एल.सीको परीक्षाको नतीजा निस्केको थियो । कुन्दनको खूशीको सीमा थिएन । खूशी नहोस पनि किन । १२ वर्षदेखिको त्याग र तपस्याको वरदान पाएको दिन थियो त्यो । विशिष्ट श्रेणी सहित परीक्षामा कक्षा प्रथम हुनुको आनन्द बेग्लै थियो । हुन पनि अति नै दुःख गरेको थियो कुन्दनले त्यो नतिजा ल्याउन । कुन्दनका बुबा राजाराम पनि कम खुशी थिएनन । राजारामको रहर – दुःख–जिलो गरेर भए पनि छोरालाई अंग्रेजी विद्यालय पढाउने । आफूलाई दलित भनेर घृणित नजरले हेर्ने समाजमा ऊ चाहन्थ्यो उसको छोरो एक सफल तथा प्रतिष्ठित व्यक्ति बनोस ।

बिहेको प्रस्ताव (लघुकथा)

“आज त पक्का भन्छु,” परबाट आउँदै गरेकी नीलिमालाई हेर्दै दृढ भयो विवेक ।

विवेक र नीलिमा दुवै बाल्यकालदेखिका साथी थिए । गाउँको निजी विद्यालयमा प्रवेशिका परीक्षादेखि सदरमुकामको उच्च माध्यमिक विद्यालयको विज्ञान सङ्कायमा कक्षा १२ सम्मको यात्रा सँगै तय गरे उनीहरूले । त्यसपछि नीलिमा इन्जिनियरिङ कलेज पढ्न राजधानी तिर लागी र विवेक रामपुर कृषि विज्ञान तर्फ लाग्यो ।

अध्ययनको सिलसिलामा एक अर्कासँग टाढा भए पनि विवेकले नीलिमालाई कहिल्यै टाढा मानेन । दशै तथा जाडोको छुट्टीमा उनीहरू फेरी नजिक हुन्थे । स्नातक तह पनि दुवैले पुरा गरिसकेका थिए र दुवै अब स्नातकोत्तरको तयारीमा थिए । निलिमाको अमेरिकाको फ्लोरिडा युनिभर्सिटीमा छात्रवृत्ती परेको कुरा सुनेको थियो विवेकले । विवेक उसको र निलिमा बीचको त्यो समीपतालाई अझ गाढा बनाउन लालायित थियो । हो ऊ निलिमालाइ मन पराउँथ्यो तर भन्ने हिम्मत गरेको थिएन ।

सँधै त्यहि बाटो भएर साइबर जाने गरेकी निलिमा आज उसकै घरतिर मोडीएकी देख्दा ऊ झन उत्साहित भयो । “आज साइत जुरेको छ,” मनमनै सोच्यो विवेकले । ऊ कुरा शुरू गर्ने बहाना खोज्दै थियो ।

EkdevAdhikari

डिनको नियुक्ति (लघुकथा)

कपाल त्यसै फुलेको थिएन बुद्धि सरको । विश्वविद्यालयमा प्राध्यापन गर्न लागेको पनि करिब दुई दशक भैसकेको थियो । विषयवस्तुमा पोख्त, प्राध्यापन पेशामा सिद्धहस्त बुद्धि सर सम्पूर्ण विद्यार्थीका पृय थिए । अध्ययनका सौखिन उनी सबैसँग भन्ने गर्थे अध्ययनशीलताबाट चाहेको कुरा गर्न सकिन्छ । हुन पनि उनी आफ्नो अध्ययनकै बलबुताबाट यहाँसम्म पुगेका थिए । चाकडी चाप्लुसी गर्न नजान्ने उनी कुनै राजनैतिक धार तिर आफ्नो निकटता नभएको जिकिर गर्दथे ।

सायद यहाँनेर चुकेका थिए बुद्धि सर । यसै कारण अघिल्लो दुइपटक डिनको नियुक्तिमा उनिभन्दा कनिष्ठ प्राध्यापकहरू छनोट भएका थिए । यसपाली पनि डिनको नियुक्तिको गाइँगुइँ सुनिँदै थियो । यसपाली सत्तासीन पार्टीका ठूला नेताले विश्वविद्यालयको कुनै एक कार्यक्रममा गरेको भाषण उनले पनि सुनेका थिए ।
“हामी नातावाद कृपावादलाई मलजल गर्दैनौँ,” नेताजी कुर्लँदै थिए । “यसपाली त सायद …,” सोच्दासोच्दै रोकिन्थे बुद्धि सर ।

पर्यटन (लघुकथा)

मूलसडकको ट्याँ–ट्याँ, स्कुले विद्यार्थीहरूको हतारोसँगै चल्बलाइरहेको सौराहाचोकमा रोकिएका पर्यटकीय बाहनहरू तयार थिए । यी विदेशी पाहुनाहरूसँगै झोला बोकेर तयार थिएँ म पनि राजधानीतर्फ नेल्टाको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन । बस भित्र एक्का दुक्का सिट बाहेक अन्य पर्यटकहरूले भरिएका थिए । दायाँपट्टि तेश्रो लहरमा खाली सीटतिर इशारा गर्दै घिमिरे बाजेले टिकटमा मेरो नाम भरे । घिमिरे बाजे नामै काफि थियो सौराहाचोकेहरूलाई । विगत दुइ दशकदेखि सामान्य टेलिफोन सेवा प्रदायक, टिकट बिक्रेता हुँदै पर्यटकीय बस सञ्चालकसम्मको अनुभव थियो घिमिरे बाजेलाई । सिधै सीटमा गएर बसेँ हलुका यात्रा गर्ने बानी भएकोले झोला मिलाउने झञ्झट खासै परेन । माथितिरको खोपिलोतिर धकेलेँ ।

सिटमा बसेको मात्र के थिएँ उनी बस चढे । घिमिरे बाजेले नाम लेखे र टिकट हातमा थमाइदिए । पैसा दिँदै मतिर आएर छेउको सिटमा बस्ने अनुमति मागे । मलाई पनि कुनापट्टि जाँदा खासै फरक नपर्ने र झन नदी किनारको दृश्यावलोकन गर्न पाउनेमा फुरूङ्ग हुँदै कुनातिर सरेँ । उनको र मेरो सामान्य चिनाजानी थियो । उनलाई भेटनेहरू भन्थे उनी आफूलाई निकै नै जान्ने र सुन्ने सम्झन्छन् ।