Skip to content


रातको करीब १० बज्दै थियो । सौराहाचोकको आडैमा रहेको प्रतिक्षालयको नजिकै एक प्रहरी भ्यान उभीएको छ । बत्तीको प्रकाशमा टल्–टल् टल्कने गुलाबी रङ्गको ज्याकेट लगाएका ट्राफिक प्रहरीहरू आउने जाने बाहन रोक्दै चालकहरूको मापसे परीक्षण गर्नमा व्यस्त छन् । एक युवा आफ्नो प्रतिरक्षा गर्दछन – ‘‘होइन सर, मैले त एउटा रेड–बुल मात्र लिएको हो । म अरू ‘हार्ड’ होस या ‘सफ्ट’ केही खान्न । विश्वास गर्नुस् ।’’ तर प्रहरी विश्वास गर्न तयार छैन ।

परबाट एउटा कार आएको देखिन्छ । कार रोकिन्छ । चालकको मापसे परीक्षण गर्न नपाउँदै पछाडिपट्टिको सिटबाट आएको चिर–परिचीत आवाजले प्रहरीको आँखा उतै तिर तानिन्छ – ‘‘अलि हतारो छ भाइ, ड्राइभरको जिम्मा म भएँ ।’’

‘‘ठीकै छ हजुर, अनि यतिबेला हतारो गरी गरी कता त ?’’

‘‘एउटा प्रवचनमा जाँदैछौँ । मादक पदार्थ सेवनको दुष्परिणाम र राती अबेरसम्म बाहिर बस्दाको बेफाइदाको बारेमा प्रवचन हुँदैछ ।’’

‘‘साँच्चै । अनि यति राती प्रवचन कस्ले दिन्छ नि ?’’

‘‘मेरी श्रीमती ।’’

गाडी अगाडि बढ्छ । प्रहरी र अघिको युवा ट्वाँ परेर गइरहेको कारलाई हेरीरहन्छन ।

२०६९ भाद्र १३

Leave a Reply

Your email address will not be published. Required fields are marked *