Skip to content


धेरै समय अगाडिको कुरो हो, जब म भर्खरै बोल्नसक्ने भएको थिएँ, म पवित्र पर्वत उक्लेँ र भगवानसँग भनेँ, “हे मालिक, म त हजुरको दास हुँ, हजुरको इच्छा मेरालागि कानून हो र म त्यसको पालना हरदम गर्नेछु ।”

तर भगवान कुनै उत्तर नै नदिई तीब्र आँधी सरह हुँइकिनु भयो ।

फेरि एक हजार वर्षपछि म फेरि उक्त पवित्र पर्वत उक्लेँ र भगवानसँग भनेँ, “हे सृष्टिकर्ता, म त हजुरकै सिर्जना हुँ । हजुरले काँचो माटोबाट मेरो सिर्जना गर्नुभयो, मेरा जे छन ती सबै हजुरकै हुन ।”

फेरि पनि भगवान कुनै उत्तर नदिई हजारौँ पखेँटाहरूको गतिमा हुँइकिनु भयो ।

अझै एक हजार वर्षपछि म फेरि पवित्र पर्वत उक्लेँ र भगवानसँग भनेँ, “हे परमपिता, म त हजुरकै पुत्र हुँ । दया र स्नेहले हजुरले मलाई जन्म दिनुभयो, र त्यही स्नेह र श्रद्धाले हजुरको राज्यको उत्तराधिकारी बन्नेछु ।”

फेरि पनि भगवान कुनै उत्तर नै नदिई सुदूर पर्वतलाई ढाक्ने हुस्सु उडेर गए झैँ अन्तर्ध्यान हुनु भयो ।

अनि अझै एक हजार वर्षपछि म फेरि पवित्र पर्वत उक्लेँ र भगवानसँग भनेँ, “हे भगवन, मेरो लक्ष तथा मेरो सफलता; म हजुरको विगत हुँ र हजुर मेरो भविष्य हुनुहुन्छ । म धरा स्थित हजुरको जरा हुँ र हजुर आकाशको मेरो फूल हुनुहुन्छ, अनि हामी दुवै सूर्यको प्रकाश सामु हुर्कँदैछौँ ।”

त्यसपछि भगवान मेरो समीप आउनुभयो र मेरा कान मधुर शब्दहरू भर्नुभयो र जसरी एक समुद्रले एक सानो नदीलाई पनि आफूमा समाहित गराउँछ, त्यसरीनै मलाई पनि आफैँमा समाहित गराउनु भयो ।

अनि जब म उपत्यका तथा समतल जमीन तिर तल झरेँ भगवान त त्यहाँ पनि हुनुहुँदो रहेछ ।

खलील जिब्रानको कथाः God
अनुवादकर्ताः एकदेव अधिकारी
२०६९ पौष २ गते
सौराहाचोक, रत्ननगर, चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *