Skip to content


अमेरिका आएदेखि नै सबैलाई यो पट्टी पढाइयो कि यहाँ सबैकुरा समयमा हुन्छ भनेर । दुइ हफ्ता देखि यस्तै समयको महत्त्व, यहाँको व्यस्त तथा व्यवस्थित शहर, यातायात, व्यक्ति, सबैदेखि अचम्भित हुँदै यहाँको काइदा सिक्दै थियो । ६ हफ्ताको प्रशिक्षण कार्यक्रममा ऊ लगायत अन्य १६ देशका २१ शिक्षकहरू अमेरिकी शिक्षाप्रणालीको साथ-साथै एक-आपसका देशमा प्रचलित शिक्षाप्रणालीसँग जानकार हुँदै थिए र यो सम्पूर्ण शिक्षकहरूको लागि सुनौलो अवसर थियो । समयमा ब्रेकफास्ट, समयमा कलेज, समयमा लञ्च, र समयमा डिनर । दुई मिनट ढिलो भयो कि, समस्या । सबै चुस्त, दुस्त र शरीर तन्दुरूस्त । यस्तै दिनचर्या चलिरह्यो ।

दोश्रो हफ्ताको पहिलो दिन क्यालिफोर्नियाको क्लेरमोन्टमा अवस्थीत पमोना हाई स्कूलमा इक्वेडर, रोमानिया, बुल्गेरिया तथा नेपालका शिक्षकहरू आ-आफ्ना पार्टनर टिचरसँग पहिलो दिनको लागि व्यस्त थिए । दिन ठीक-ठाक गयो, सामान्यत आफ्नो परिचय दिने र पार्टनर टिचरको कक्षा अवलोकन गर्नु भन्दा अरू केही गर्नु रहेन । ८ बजे विद्यालयको घण्टीसँगै शुरू भएको दिन तीनबजे छुट्ने घण्टीसँगै समाप्त भयो । आफ्नो तालिकामा हेऱ्यो ३:१५ बजेको बस समाउनु छ र ४ बजेको प्रशिक्षण सत्रमा पुग्नु छ । बस बिसौनि पुग्न पाँच मिनट हिँडनु पर्छ । ३:१५ बजेको बस नभेट्टाए अर्को बस ३:४५ मा मात्र अर्को बस आउनेछ । सबै हतार-हतार गर्दै ३:१० मा बस स्टप पुगे । ३:२० सम्म पनि बस नआएपछि नजिकैको अर्को प्रतिक्षार्थीलाई सोधे थाहा भयो कि ३:१५ मा जाने बस, ३ बजे नै गइसकेछ । बसको लागि त १५-२० मिनट अगाडिनै आउनु पर्ने रे ।

यस्तै रहेछ अमेरिकी समयको महत्त्व, यसो भन्दै सबैले एकमत भएर ट्याक्सीलाई फोन गरे ।

२०६७ आश्वीन १६

Leave a Reply

Your email address will not be published. Required fields are marked *