गोरखाले न्याय गुहारिरहेको बेला,
नुवाकोट पनि न्याय माग्दै रहेछ,
रसुवा रोइ रोइ बिलौना पोखिरहेको बेला
धादिंग आफैलाई धिक्कार्दै रहेछ,
भत्किएर भक्तपुर भक्कानिंएको बेला,
मन्दिर र गुम्बामा भगवान पुरिएछन्,
विद्याको मन्दिर पनि भत्किएको बेला
भक्त भन्दैछ “भगवान कुन भक्ति पुगेन ?”
काठमाडौँले कसैको काख खोजिरहेको बेला,
ललितपुरको कला लम्पसार लडेको देख्दा
धैर्यता गुमाउँदै धरहरा ढलेछ,
इतिहास बस्ने वसन्तपुर ढल्दा,
काभ्रेपलान्चोकको अंग अंग कांपिरहेछ
सिन्धुपाल्चोकको आकाश धमिलिएको बेला
भक्त भन्दैछ,”भगवान कुन शक्ति पुगेन ?”
दोलखामा दर्दले तामाकोशी जलेको बेला,
भिमेश्वरमा भूकम्पले भयाबह भएकोछ,
चरिकोटको चित्कारसँगै, सिंगटीमा सुनामी छ,
बालखैमा आमा छैन, बस्ने घर छाना छैन,
भोक लाग्दा खाना छैन, सद्दे अन्न दाना छैन,
रामेछाप र सिन्धुलीको विकास बिरक्तिएको बेला,
भक्त भन्दैछ,” भगवान कुन जुक्ति पुगेन ?”
वर्षा बिनै पहाडमा पहिरो गएको बेला,
पल पल सम्झिंदै तराइ, तर्सिरहेकोछ
वसन्तमै गाउँमा गोठ रित्तिएको बेला,
रुखमा फेरि नयाँ पालुवा पलाइरहेछ,
खोई कहाँ छौ मेरा भन्दै चिच्याउदै
सारा सन्ततिलाई देशले बोलाइरहेछ,
विश्वको सामु नेपाल निहुरिएको बेला,
भक्त भन्दैछ “भगवान कुन भक्ति पुगेन ?”
