Skip to content

मक्ख परिछन् (बालकविता)


उफ्रिएर सुष्माले स्पाइक् गरिछन्
लिफ्टर भा´की बबिना मक्ख परिछन्

विपक्षीलाई जैले नि पेल्न सिपालु
राधा बहिनी भलिबल खेल्न सिपालु
करिनाले सजिलै जाली कटाउँछिन्
जताबाट आयो बल त्यतै पठाउँछिन्

जर्सी उस्तै नम्बरचाहिँ थरिथरि छन्
नयाँ ड्रेसमा सुमिना मक्ख परिछन्

सिट्ठी फुक्दा रेफ्रीले सर्भिस हानेका
खेलको नियम सब‌ैले पूरै जानेका
पास मिलाई हावामै बल नचाए
फल् हुन्छ कि भनेको कस्सो बचाए

खेल्दाखेल्दै प्रतिमा झन्नै लडिछन्
बल उठाउन पाएर मक्ख परिछन्

नम्बर आयो आफैलाई उता गएन
मिलाएर खेलेथे आउट भएन
बरु हारे हारिन्छ गर्नु हुन्न झेल्
अनुशासित भएर खेल्नुपर्छ खेल्

गङ्गा उस्तै तगडा साह्रै दह्री छन्
भलिबलमा जितेर मक्ख परिछन् ।

– रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *