Skip to content


कुखुरी काँ गरेर रातो भाले करायो
त्यो भालेको स्वर सुनी भाइ डरायो

सस्तो पाई महङ्गोमा बेच्न लान हो या
अल्लि ठूलो भएपछि काटी खान हो या
केको आँट गरेर ल्याउनुभयो बाले
जे भए’नि हाम्रो घरमा आयो रातो भाले

साँझ पर्दा आउँछ दिउसो कता जान्छ-जान्छ
छरिएका कनिका र चामल दाना खान्छ
त्यो भालेले यतिसम्म गर्छ काम ठिक्क
तर फोहोर विष्ट्याउँदा पो लाग्छ साह्रै दिक्क

`भाले किन ल्याइयो त नि ?´सोधेँ बाबासँग
बाको उत्तर सुनेपछि परेँ म त दङ्ग
भन्नुभयो बाले हिजो `मै गएर ल्याएँ
तिम्रो हातमा घडी छैन, त्यै भएर ल्याएँ´

ढिलो उठ्ने बानी थियो छिटै उठ्ने गरायो
कुखुरी काँ गरेर रातो भाले करायो ।

-रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *