Skip to content

लेख बालबालिकामा हुने सिर्जनात्मक लेखन क्षमता


* सिर्जनाको परिचय
केही नभएको ठाउँमा केही हुनु सिर्जना हो । अभावमा पूर्ति वा शून्यमा भण्डारण गर्नुले पनि यसैलाई सङ्केत गर्दछ । खाली जग्गामा बिउ छरेर, खेत जोतेर अनि रोपेर असारमा कर्म गरेपछि मङ्सिरमा किसानले अन्नबाली भित्र्याउँछन् । यो उसको सिर्जना हो । सामान्य व्यक्तिले लेखपढ गर्छ अनि अरूले लेखेको देखेर कविता लेख्छ । निरक्षर भए पनि गुन्गुनाउँदा गुन्गुनाउँदै मिठो गीत बन्छ, लिपिबद्ध गर्न सक्यो भने मनभित्र उब्जिएका भावनालाई शब्दमा उतार्दा कहिले निबन्ध बन्छ, त्यसैमा घटनाको शृङ्खला, पात्र र परिवेशको संयोजन गर्न सकियो भने कथा बन्छ । धेरै पात्र थुपारेर संवादका माध्यमबाट प्रस्तुत हुने बाटो खोज्यो भने एकाङ्की वा नाटक बन्छ । यसरी मानसिक भावलाई कथा, कविता, निबन्ध र नाटकका रूपमा तयार पार्नु चाहिँ साहित्यिक सिर्जना हो । साहित्य सिर्जना गर्ने कार्य जटिल छ । यस्तो कार्यका लागि प्रौढ नै हुनुपर्छ, परिपक्वता आउनुपर्छ भन्ने छैन किनकि प्रौढले जस्तै बालबालिकाले पनि साहित्य सिर्जना गर्न सक्छन् । उनीहरूका मनमा पनि भावना वा विचारका ज्वारभाटाहरू चल्न सक्छन् । फरक यत्ति छ — प्रौढमा अनुभवले खारिएको परिपक्व लेखन हुने गर्दछ भने बालबालिकामा कलिलो विचार र मलिलो भावना हुन्छ तर यस्तै लेखन नै रमाइलो हुन्छ । अँझ कल्पनाको जलप लगाउँदा त्यो सुन्दर, सुललित र सुरम्य हुन्छ । बालबालिकाहरू पढाइको बोझले थाकेर फुर्सदको समयमा खेलेर वा बालसाहित्य पढेर मनोरञ्जन लिन सक्छन् । अरुका रचना पढ्दापढ्दै यस्तै लेख्न पाए हुन्थ्यो भन्ने उनीहरूका मनमा आउन पनि सक्छ । बालबालिकाको यस्तो सिर्जनात्मक सोचाइमा अभिभावकले अवरोध पुर्याए पनि उनीहरूको प्रतिभाको निकास हुन पाउँदैन र सिर्जना अवरुद्ध हुन जान्छ । घरमा अभिभावकले र विद्यालयमा शिक्षकले प्रत्येक्ष रूपमा उनीहरूलाई साहित्य सिर्जनामा लाग्न प्रेरित गराउनुपर्छ भने बालसाहित्यका लेखकले पनि उनीहरूलाई बाल पत्रिकामा प्रकाशित रचनामार्फत अप्रत्यक्ष रूपमा प्रेरित गरिरहेका हुन्छन् । यो आलेख पनि बालबालिकालाई साहित्य सिर्जनामा प्रेरित गराउने उद्देश्यले तयार पारिएको छ ।

* सिर्जनात्मक लेखनको उद्देश्य
पढाइको बोझबाट थाकेका बालबालिकालाई फुर्सदको सदुपयोग गराउनु सिर्जनात्मक लेखनको एउटा उद्देश्य हो । गलत सङ्गतको प्रभावमा परेर नकारात्मक कार्य गर्नबाट रोक्नु र मस्तिष्कलाई सफा, स्वच्छ र तरोताजा बनाउन साहित्यिक पठन र लेखनले भूमिका खेलेको हुन्छ । यसबाट उनीहरूमा मनोरञ्जन प्राप्त हुनुको साथै लेखन कलाको विकास पनि गराउँछ । सिर्जनात्मक लेखनले एकातिर लिपिबद्ध रूपमा विचारको सञ्चयन गराउँछ भने सिर्जनात्मक क्षमता र तर्क क्षमताको पनि अभिवृद्धि गराउँछ । टि.भी. वा कार्टुन हेरेर आँखा बिगार्ने र अस्वस्थकर बजारिया खाद्य कुरा सेवन गर्ने कुरामा पनि न्यूनीकरण गराउँछ । महत्वपूर्ण कुरा त के भने लेखन शैलीको विकास गर्नुका साथै राम्रो र शुद्ध लेखनको विकास गर्नमा पनि सिर्जनात्मक लेखनले राम्रो भूमिका खेल्दछ ।

* सिर्जनात्मक लेखनमा प्रभाव पार्ने तत्वहरू
बालबालिकालाई सिर्जनशील बनाउन सुरुमा बाह्य प्रेरणाले भूमिका खेलेको हुन्छ । जुनसुकै पनि सर्जकलाई या त पारिवारिक वातावरणले कि कसैको सङ्गतले कि त अध्ययनशीलताले साहित्य सिर्जनाको मार्ग देखाउँछ तर प्रेरणा प्राप्त हुँदाहुँदै पनि उसमा आन्तरिक खुबी छैन भने सिर्जना सम्भव हुँदैन तसर्थ सिर्जनात्मक लेखनका लागि प्रतिभा, व्युत्पत्ति र अभ्यासले प्रभाव पारेको हुन्छ । प्रतिभा भनेको बालबालिकामा रहेको आन्तरिक वा जन्मजात खुबी हो । देखेपछि लेखिहाल्न मन लाग्ने र धुलोमा पनि संसार खोज्ने खुबी भनेकै प्रतिभा हो । प्रतिभा हुँदाहुँदै पनि उसले प्रशस्त ज्ञान आर्जन गरेको छैन र उसमा अध्ययनशीलता छैन भने उसले सफल सिर्जना गर्न सक्दैन । यसर्थ प्रतिभासँगै व्युत्पत्ति वा ज्ञान पनि सिर्जनात्मक लेखनमा प्रभाव पार्ने दोस्रो तत्व हो । व्युत्पत्ति वा ज्ञानलाई पनि दुई प्रकारमा राखेर विभाजन गर्न सकिन्छ । पहिलो किताबी वा शास्त्रीय ज्ञान हो भने दोस्रो लौकिक वा व्यावहारिक ज्ञान हो । बालबालिकाले पनि पुस्तक, पत्रपत्रिका पढेर तथा घर, गाउँ र समाजका व्यवहार देखेर प्राप्त गरेका ज्ञानले पनि साहित्य सिर्जनाका लागि खुराक प्रदान गर्न सक्दछन् । प्रतिभा र व्युत्पत्ति (ज्ञान) बाहेकको अर्को प्रभावित तत्व भनेको अभ्यास वा साधना हो । अभ्यासले मानिसलाई पूर्ण बनाउँछ । एकचोटि लेखेको रचनालाई परिष्कार, परिमार्जन र काँटछाँट गरेर उक्त रचनालाई सुन्दर बनाउन अभ्यास वा साधनाले ठूलो भूमिका खेल्दछ । अभ्यासले नै साहित्य अँझ जीवन्त बन्न सक्छ । स्पष्टसँग भन्नुपर्दा प्रतिभाले साहित्य लेखनको प्रारूप तयार पार्दछ अर्थात् आकृति कोर्छ, व्युत्पत्तिले सिर्जनालाई सिँगार्नुका साथै थप ज्ञान प्रदान गराउँछ अर्थात् हाडमासु जोर्छ र अभ्यासले सिर्जनालाई परिपक्व बनाउँदै अँझ निखार ल्याउँछ अर्थात् प्राण भर्छ र जीवन्त तुल्याउँछ ।

* सिर्जनात्मक लेखनका आधार
बालबालिकालाई सिर्जनात्मक लेखनमा उत्प्रेरित गर्न उनीहरूलाई लेख्ने वातावरण तयार पारिदिनु नै सिर्जनात्मक लेखनको आधार हो जसलाई सङ्कलित, निर्देशित र मौलिक गरी तीन चरणमा राखेर यसरी हेर्न सकिन्छ :
क) सङ्कलित लेखन
सङ्कलित लेखन भनेको बालबालिकालाई मौलिक रूपमा सिर्जनशील बनाउनुअघिको पृष्ठभूमि हो । सङ्कलित रचना अन्तर्गत अनुकृतिमूलक वा प्यारोडी रचना, श्रुतिरचना जस्ता पुनर्सिर्जित रचना पर्दछन् । गाईको निबन्ध हेरेर त्यसैमा शब्दको हेरफेर गर्दै भैँसीको निबन्ध लेख्न खोज्नु अनुकृतिमूलक रचना हो । रेडियो, टेलिभिजन आदिमा प्रसारित गीतहरूको भाकामा शब्द परिवर्तन गरी आफ्नै शैलीमा पुनर्सिर्जना गर्नु पनि अनुकृतिमूलक वा प्यारोडी रचना अन्तर्गत पर्दछ । शिक्षकले कक्षामा भनेका चुट्किला, कथा वा निबन्धलाई सुनिसकेपछि आशय वा भाव परिवर्तन नहुने गरी आफ्नो शैलीमा रचना गर्नुलाई श्रुतिरचना भनिन्छ । श्रुतिरचनामा पोख्त भइसकेपछि बालबालिकाहरू स्वतन्त्र रचना गर्न पनि सक्षम हुन्छन् ।
ख) निर्देशित लेखन
पाठ्यपुस्तक, प्रश्नपत्र वा शिक्षकबाट दिइएका बुँदाहरूका आधारमा मौलिक ढङ्गले व्याख्या र विस्तार गर्दै जीवनी, कथा वा निबन्ध लेख्ने प्रकृयालाई निर्देशित लेखन भनिन्छ । यो अर्ध मौलिक लेखन अन्तर्गत पर्दछ । निर्देशित लेखनमा पनि श्रुतिरचनामा झैँ बालबालिकाले आफ्नो कल्पना शक्तिको प्रयोग गरेर सिर्जनात्मक वा स्वतन्त्र रचना गर्न सक्षम हुन्छन् ।
ग) मौलिक लेखन
कसैको सहयोग वा निर्देशनबिना आफ्नो जीवन हेरेर र आफूले भोगेका घटना सम्झेर पनि बालबालिकाहरूले आफ्नो सिर्जनात्मक क्षमतालाई अभिवृद्धि गर्दछन् । आफ्नो निजी जीवनमा दिनदिनै घट्ने घटनामा अनुभव र विचारको समन्वय गरेर दैनिकी लेख्दा वा जीवनका अविस्मरणीय क्षण वा यात्राको सम्झना गर्दै घटना, अनुभव र विचारमा कल्पनाको मिश्रण गर्दै संस्मरण लेख्दा पनि उनीहरूको लेखनकलाको विकास हुन्छ । दैनिकी वा संस्मरण मार्फत हुने सिर्जनात्मक क्षमता मौलिक लेखन अन्तर्गत पर्दछ ।
यस आधारमा हेर्दा बालबालिकाले निम्न चरणहरू पार गर्दै सिर्जनात्मक लेखनको यात्रा पूरा गर्दछन् :
श्रुतिरचना → अनुकृतिमूलक रचना → निर्देशित रचना → मौलिक रचना → स्वतन्त्र रचना

* निष्कर्ष
यसरी नवीन सिर्जना गर्न बालबालिकाले चाहेमा, शिक्षकले हौसला प्रदान गरेमा, अभिभावकले सहयोग गरेमा वा बालसाहित्यका लेखकले पनि अप्रत्यक्ष रूपमा मार्गनिर्देश दिएमा आजका कलिला बालबालिकाहरू सिर्जनात्मक लेखनमा पोख्त भई परिपक्व, मौलिक र स्वतन्त्र रचना गर्न सक्छन् । यसले गर्दा उनीहरूको लेखन सीपका साथै तर्क क्षमताको पनि विकास हुन पुग्दछ ।

रमेशचन्द्र घिमिरे, लमजुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *