यो सालको जाडो (बालकविता)


पोहोरको जाडो कस्तो´थ्यो कुन्नि सम्झना रहेन
यो सालक‍ो जस्तो चिसो र जाडो कहिल्यै भएन

टाउकामा ट‍ोपी स्युरिँदा ज्यानमा स्विटर उन्दा´नि
कोठामा बसी कम्मल ओढी झ्याल ढोका थुन्दा´नि
कामी नै रह्यो ठग्ठगी मुटु तै जाडो गएन
यो सालक‍ो जस्तो चिसो र जाडो कहिल्यै भएन

तताएँ तेल दिउरीमा लिई जिउमा मुसारेँ
हातमा पञ्जा, खुट्टामा मोजा जुत्ता´नि घुसारेँ
बोकाले जाडो लान्छ रे भन्थे खै किन लगेन
यो सालक‍ो जस्तो चिसो र जाडो कहिल्यै भएन

घुम्लुङ्ग पारी छोपेर कान गलबन्दी गुथेथेँ
सिरकले मुख छोपेर न्यानो डस्नामा सुतेथेँ
स्याँठले हान्यो काँ´बाट कुन्नि रसायो नयन
यो सालक‍ो जस्तो चिसो र जाडो कहिल्यै भएन

पुसको जाडो छल्नलाई घामको तापियो पाहार
आगाको रापमा बसेर ज्यानको गरियो स्याहार
हटे´नि हुन्थ्यो यो जाडो छिट्टै कत्ति´नि सहेन
यो सालक‍ो जस्तो चिसो र जाडो कहिल्यै भएन ।

– रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ (२०७५/०९/०७)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *