Skip to content


नआऊ यता बिउको पाँजो मुठीमा च्यापेर
सुकिलो जीउ मैल्याइदिम्ला धमिलो छ्यापेर

चिटिक्क पहिरन लगाई खेतमा नआऊ जिस्किन
आइसकेपछि यत्तिकै सद्दे पाउँदिनौ निस्किन
बाउसेलाई भेट्न रोपारे बन्ने बहाना बनाउँछ्यौ
पर्ख न अब हिलोमा गड्छ्यौ असार मनाउँछ्यौ

खेतमा आउँदा यत्तिमा राम्रो पैह्रन नलाऊ
मुटुमा चस्स चिमोट्ने गरी देखिन नआऊ
त्यो सफ्फा ज्यानमा हिलोका छिटा परेको सुहाउन्न
मजस्तासित तिमीले ठट्टा गरेको सुहाउन्न

भो त्यतै बस नआऊ यता म आफै आउँछु
असारे गीत तिमी नि गाऊ म पनि गाउँछु
हिलो र रोपो राखेर साक्षी पिरती लाऔँला
असारको पन्ध्र दही र च्यूरा सँगसँगै खाऔँला

फूलको थुङ्गो खोजेर तिम्रो शिरमा स्यूरिन्छु
म पनिसँगै बिउको पाँजो फोएर निहुरिन्छु
बाउसे र रोपार मिलेर चोखो औसर छोपुँला
कोदाली मिल्काई कुनामा बिउ म पनि रोपुँला ।
-रमेशचन्द्र घिमिरे
भ‍ोर्लेटार, लमजुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *