Skip to content

होम सुवेदी

श्रमिक दिवसमा श्रमिकहरुमा मझेरीबाट नमन

वर्षाको जल वैरँदा जमिनमा फोकाहरू उठ्तछन्
तत्कालै जलमा उठेर किन हो फोकाहरू फुट्दछन्
हाम्रो जीवनको स्वभाव त्यही हो दृष्टान्त नै हो त्यही
के के गर्छु भनेर मानिसहरू हुन्छन् बडा निर्दयी ।।

हिंड्दा पारि पुगिन्छ हिंड्न सजिलै अल्छी हटायौं भने
बाटो नै अवरुद्ध हुन्छ मनमा अल्छी बसायौं भने
अल्छे त्यो गतिशील हुन्छ र कहाँ सक्ला कहाँ उक्लन
के सक्थ्यो कछुवा अगाडि नबढे सीमान्तलाई छुन ।।

यो पृथ्वी नघुमेर सुस्थिर हुँदा सन्सार चल्ने भए
आगोमा समिधा विनै सहजले तत्काल बल्ने भए
मान्छेले गतिहीनका क्रमहरु भेटेर भोग्ने थियो
मान्छे माथि पुजेर देवगणले तत्काल ढोग्ने थियो ।।

शाेकमा साथ छौं हामी

अमेरिकास्थित कवयित्री दुर्गा रिजालले पुत्रशोक बेहोरिरहेको अवस्थामा मझेरीको तर्फबाट हार्दिक शान्त्वना तथा समवेदना छ ।

पुत्रपुत्रीहरुलाई ज्यान छाडी सघाउँछन्
आफू भोकै यता बस्छन् रित्तै पेट अघाउँछन्
आमा हुन् को छ आमाको विकल्प दुनियाँ भरी
आमाको स्मृतिमा झर्छन् मेरै आँसु घरी घरी ।।

आमा – २

रोकिएको यहाँ छैन आमाका आँसुका भल
पुत्र राघवमा दैव गरेछौ तिमीले छल ।।
आमा झैं आँसुको धारा अरुको के चुहुन्छ र
आफ्ना सन्ततिका लागि आमा झैं अरु हुन्छ र ।।

पुत्रपुत्रीहरुलाई ज्यान छाडी सघाउँछन्
आफू भोकै यता बस्छन् रित्तै पेट अघाउँछन्
आमा हुन् को छ आमाको विकल्प दुनियाँ भरी
आमाको स्मृतिमा झर्छन् मेरै आँसु घरी घरी ।।

होम सुवेदी

सुतेकाे मेराे कम्प्युटर र मेरो कविताः

सुतेकाे मेराे कम्प्युटर र मेरो कविताः

अहिले मेरो कविता
र मेरा कम्प्युटरले
गहिराे मीत लाएका छन्
दुबै नबिउँझने गरी
निधाएका छन्
उतातिर हेरौ‌
मेरा रिसाएका भावहरुले पनि
काखी बजाएका छन्
अनि यताितितर हेरौं
मेरा विचार र अास्थाहरुले
ममाथि ताताे भुत्भुते
खन्याएका छन्

यिनमाथि अब मैले
शासन गर्न नसक्ने भएँ
यी सबैको ममाथि हमला गर्ने
एक ग्याङ् भएकाे छ
मन रित्ताे छ मुटु रित्तो छ
जिउ थङ्रथिलिएर ल्याङ् भएकाे छ
लेख्ता लेख्ता थाकेकाे
मेराे कम्प्युटर पनि
ह्याङ् भएकाे छ
मानाै मेराे कम्प्प्युटर र
मेरा कविताकाे
र्याङ्मा ठ्याङ भएकाे छ
यिनका अघि बबुराे होम पनि

शुभकामना नववर्षकाे

आऊन् जीवनमा मिठा पलहरु फर्केर हामीसँग
जाऊन् जीवनका तिता पलहरु तर्केर हामीसँग
यो हाम्रो नव वर्षमा प्रगतिका सम्भावना फर्कियून्
गौरीशङ्कर शान्तिका कणहरु नेपालमै छर्कियून् ।।

यहाँ फुल्न छाडेछ लालीगुराँस

हटेको छ इच्छा घटेको छ आश
कतै छैन सन्तोष यो आसपास
सबै धुर्तले गर्न थाले विनास
यहाँ फुल्न छाडेछ लालीगुराँस ।।

सुधा प्रेम झर्दैछ आभास हुन्थ्यो
यहाँ देवताको सधैं वास हुन्थ्यो
सबै देव भागे नपाएर वास
यहाँ फुल्न छाडेछ लालीगुराँस ।।
होम सुवेदी

लालीगुराँस

हटेको छ इच्छा घटेको छ आश
कतै छैन सन्तोष यो आसपास
सबै धुर्तले गर्न थाले विनास
यहाँ फुल्न छाडेछ लालीगुराँस ।।

सुधा प्रेम झर्दैछ आभास हुन्थ्यो
यहाँ देवताको सधैं वास हुन्थ्यो
सबै देव भागे नपाएर वास
यहाँ फुल्न छाडेछ लालीगुराँस ।।
होम सुवेदी

देशगान

उड्दा हौ अझ माथि माथि नभको उच्चाइको बिन्दुमा
डुब्दा हौ अझ भित्र भित्र गहिरो त्यो आन्ध्रको सिन्धुमा
तिम्रो त्यो पुरुषार्थ हो तर यता बेग्लै छ मेरो छवि
पुग्दैनन् रवि त्यो अनन्त भवमा पुग्दैछ हाम्रो कवि ।।

युवाहरुलाई

युवा हाम्रा रुँदै भोकै उता सौदी पसेका छन्
नपस्ने जो थिए तिनले यता गुन्टा कसेका छन्

कबोलेको पुरा पैसा बरा के पाउँथे होला
दलालीका भरौटेले यहाँ झन् झन् डसेका छन्

मुक्तिनाथम्

हेरी अघाइन्न भने भने झैं हुँदै थियो आफू कतै भुलेझैं
सौन्दर्यले मोहित नै गरायो बेनी पुगेको तब याद आयो ।।

लागें उकालो जब खाँचबाट आयो कताबाट मभित्र आँट
देखी हिमाच्छादित ठाँटबाँट, स्वर्गै पुगेको तब हुन्छ छाँट ।

आमा – १

अनेकौं सर्पले बेर्छन् अनेकौं व्याधीले घेर्छन्
यहाँ शान्ति विनै मान्छे अकालैमा परी मर्छन्
तिमी छाडी गयौ टाडा डराएको छु हे आमा
छ त्यो भारा कहाँ तिर्नु हराएको छु हे आमा ।।

सधैं पीडा सधैं टन्टा सहन्थ्यौ मेरी हे आमा
पीडाका तीब्र खोलामा बहन्थ्यौ मेरी हे आमा
कता पोखूँ कता छोपूँ अझै धेरै दुखेसा छन्
हजारौं दर्दको पीडा सहन्थ्यौ मेरी हे आमा ।।

मनमा देवता

विधाता छन्द याे रोजी सबैले गीत यो गाअाैं
उता खोजेर के मिल्छन् नखोजी देवता पाअाै‌ं
सुनाई सक्नु के हामी स्वयंलाई लखेट्तै छौं
स्वयं भित्रै बरु खोजे मनैमा देवता भेट्छौं ।।

सजाएका सबै मूर्ति यहाँ हामीहरु पुज्छौं
उता यो स्वार्थमा पर्दै यता हामीहरु जुध्छौं
वृथा यो जिन्दगानीमा पराइको गला रेट्छौं
स्वयं भित्रै बरु खोजे मनैमा देवता भेट्छौं
होम सुवेदी

कैलालीकाे अातङ्क

अाशै छाडें अब मुलुकमा हुन्छ केही भनेर
खै के बाँचौं नरपशुहरुबाट बाेक्सी बनेर

पापी मान्छेसँग कति झुकौं बढ्छ उल्टै निरासा
राधा रुन्छिन् वरपर सयौं कृष्ण हेर्छन् तमासा ।।

समय बितेपछि

फोन आउने बित्तिकै शम्भुजीले बडो हडबडाएर भान्सातिर पस्न लागेकी पत्नीलाई कराए “ए सर्मु, लौ है नभेटिने पो हो कि जस्तो लाग्यो । लु छिटो जाऊँ हिँड चाँडो । घाट लाने कुरा पो आइसक्यो । लौ चाँडै गर ।”

यसरी ससुरालीबाट फोन आएर सर्मिलाका आफन्त बितेको कुरा सुनाए । सर्मिलाले आफ्नी काकी राती नै बितिछिन् भन्ने कुरा बुझिहालिन् । अलिकति सुँक्सुँकाइन् र हस्याङ्फस्याङ् गर्दै एेनाका अघि बसिन् ।

“लु हेर कस्तो होला । त्यो लक्मे पाउडर ल्याइदिनु भनेको कति भो कुनै वास्ता नै छैन । उनीहरुलाई जसरी हिने पनि भैहाल्छ के छ र !” गुनासो गरिन् ।

“नकराऊ, अहिले चाँडो गर” शम्भुजी मोटरसाइकल निकाल्दै कराए ।

अासनग्रहण र भासनको आतङ्क

कहिले देशको कुनाकाप्चातिर पैरो बाढी, अनिकाल, महामारी, भोकमरी सुख्खाका समस्या पर्छन् । कहिले सर्पको बिगबिगी पर्छ, कहिले भने हात्तीहरु आएर जनतालाई आतङ्कित पार्दछन् । कहिले बर्डफ्ल्यू, कहिले इन्सेफलाइटिस, कहिले हैंजा, कहिले जन्डिस, कहिले के त कहिले के । रोग, महामारी आदिको आतङ्क सधैं उठिरहन्छ देशभरि । एउटा न एउटा समस्याले देशका अप्ठेरो पारिरहेको हुन्छ ।… Read More »अासनग्रहण र भासनको आतङ्क

महेश थापाः पछिल्लो भैरव अर्याल

अहिलेको वेवको दुनियाँमा धेरै कुराहरू पछि परेर गए । त्यसरी पछि परेका कुराहरुमा साहित्यको स्थान पहिलोमा छ । दुनियाँलाई अहिले हाताहाती र तातो तातो कुराहरुको खानी छ साहित्यका लागि भने यो समय बडो बेइमानी छ । कोही साहित्य पढ्दैन । साहित्यको कुरा परैजाओस् पाठ्यक्रम पनि आजको विद्यार्थीले पढ्दैन, भेटे चोर्छ नभेटे फार्छ । उसलाई मोबाइल र नेट भए भयो । कुनामा पस्यो र कुनामा पसेका अर्कोसँग च्याटको खेती गर्यो । बस यति छ । जय होस् यस इन्टरनेटका युगको । मानवसमाजलाई सपार्न आएको यस नेटको दुनियाँमा मानिस समाज भत्कँदै गएको जस्तो मलाई लाग्छ । मेरो गल्ती हो भने उसैले जानोस्, मावन समाज भोलि कता जाला यो पनि उसैले जानोस् र उसैका हिमायतीले जानून् म के भन्न सक्छु र उसैको बुइ चढेको छु म समेत । धेरै उसको वदनाम नगरूँ ।

विस्थापित

त्यस टोलछिमेकमा हर्कबहादुरले पनि उनलाई डेरा दिन इन्कार गरे, लालबहादुरले पनि । धर्मनाथ र रामप्रसादले पनि उनलाई डेरा दिएनन् । कारण अर्को केही थिएन—उनका लालाबालाको लस्करबाहेक । सरुवा भएर त्यस साना सहरमा आएपछि उनलाई पहिलो समस्या नै डेरा खोज्नमा उठ्यो । डेराका लागि झूट बोलून् त भोलि भेद खुलिहाल्छ । यथार्थ बताउन् त पर्यो आपत । शान्ता आमैको घरमा पनि उनले डेराको समस्या बिसाउने निधो गरेर शान्ता आमैको घरमा पसे ।

कविता

जोड घटाउ मिलाऊँ भन्छु मिलाउनै सकिएन
आफ्नो भाग्य सिलाऊँ भन्छु सिलाउँनै सकिएन ।

देशै भरी सीमानामा खाडलहरु परिसके
खाल्डाखुल्डी मिलाऊँ भन्छु मिलाउनै सकिएन ।

खेर गयो देशबाट सञ्जीवनी सुधा बगी
एक थोपो पिलाऊँ भन्छु पिलाउनै सकिएन ।

जतासुकै रोग व्याधी चारैतिर बढेको छ
देशको ढाड चिलाऊँ भन्छु चिलाउनै सकिएन ।

तीन चौथाई जिन्दगी यो यसै उसै बितिसक्यो
यो माटैमा बिलाऊँ भन्छु बिलाउनै सकिएन ।

समाप्त