वर्षाको जल वैरँदा जमिनमा फोकाहरू उठ्तछन्
तत्कालै जलमा उठेर किन हो फोकाहरू फुट्दछन्
हाम्रो जीवनको स्वभाव त्यही हो दृष्टान्त नै हो त्यही
के के गर्छु भनेर मानिसहरू हुन्छन् बडा निर्दयी ।।
हिंड्दा पारि पुगिन्छ हिंड्न सजिलै अल्छी हटायौं भने
बाटो नै अवरुद्ध हुन्छ मनमा अल्छी बसायौं भने
अल्छे त्यो गतिशील हुन्छ र कहाँ सक्ला कहाँ उक्लन
के सक्थ्यो कछुवा अगाडि नबढे सीमान्तलाई छुन ।।
यो पृथ्वी नघुमेर सुस्थिर हुँदा सन्सार चल्ने भए
आगोमा समिधा विनै सहजले तत्काल बल्ने भए
मान्छेले गतिहीनका क्रमहरु भेटेर भोग्ने थियो
मान्छे माथि पुजेर देवगणले तत्काल ढोग्ने थियो ।।
मान्छेभित्र अथाह शक्ति छ ठुलो के हुन्छ यो निर्बल
उस्ले नित्य बगाउँदैछ पसिना झर्ना सरीको भल
मान्छेले अब पर्नु हुन्न विधिको वा देवताको भर
मान्छे सिर्जनमा जुटेर नहुने सन्सारमा के छ र ।।
लाखौं छन् श्रममा तथापि तिनकै दुर्भाग्यका हाल छन्
भोकै छन् बिचरा तथापि तिनकै सन्तान बेहाल छन्
के यस्तो छ विडम्बना किन यसै के हेरिबस्छौ सब
लठ्ठी शासकका बजारिनु पर्यो थाप्लाहरूमा अब ।।
।।इति।।
