अहिलेको वेवको दुनियाँमा धेरै कुराहरू पछि परेर गए । त्यसरी पछि परेका कुराहरुमा साहित्यको स्थान पहिलोमा छ । दुनियाँलाई अहिले हाताहाती र तातो तातो कुराहरुको खानी छ साहित्यका लागि भने यो समय बडो बेइमानी छ । कोही साहित्य पढ्दैन । साहित्यको कुरा परैजाओस् पाठ्यक्रम पनि आजको विद्यार्थीले पढ्दैन, भेटे चोर्छ नभेटे फार्छ । उसलाई मोबाइल र नेट भए भयो । कुनामा पस्यो र कुनामा पसेका अर्कोसँग च्याटको खेती गर्यो । बस यति छ । जय होस् यस इन्टरनेटका युगको । मानवसमाजलाई सपार्न आएको यस नेटको दुनियाँमा मानिस समाज भत्कँदै गएको जस्तो मलाई लाग्छ । मेरो गल्ती हो भने उसैले जानोस्, मावन समाज भोलि कता जाला यो पनि उसैले जानोस् र उसैका हिमायतीले जानून् म के भन्न सक्छु र उसैको बुइ चढेको छु म समेत । धेरै उसको वदनाम नगरूँ ।
नेपाली साहित्य ता यसै पनि पाठकको अभावमा उहिल्यैदेखि थला परेकै हो । अहिलेको कुरा के भो र । उता पाठकविना पनि साहित्यकारहरू भने आफ्नो अन्तःसुखका लागि आफैं लगानी गरेर कृतिहरू प्रकाशन गर्न पछि परेका छैनन् र मन्त्रीहरुका हातबाट आफूले लगानी गरेको कृति विमोचन गरेर गराएर पैसा तिरेर ल्याएका सम्वाददाताहरुको निगाहमा टेलिभिजनमा आफ्नो अनुहार देखाउन पछि पर्ने कुरै भएन ।
सबै विधाभन्दा प्रकाशन र लेखनमा पनि अलिक अघि गएको विधा हो कविता विधा, तर पाठक भने सबैभन्दा कम पाउने विधा पनि यही हो । यसका पाठक कताकता आइसल्यान्डको सर्प झैं छन् । त्यति हो । लेख्न सबैभन्दा बढी यही विधामा लेख्ने तर पाठक भने आफू बाहेक अर्को कोही नहुने विधा पनि यही हो । यो कसैले पनि पढ्दैन भने पनि हुन्छ । यसपछि अरु विधाहरू आउँछन् । निबन्ध विधा त धेरै पछि पढिने र लेखिने विधा हुँदै हो । उसमा पहि हाँस्यव्यङ्ग्य निबन्धको कुरा ता नगरे हुन्छ । समाज, संस्कार, संस्कृति र देशै हाँस्यमय भएको बेला पढेर कसले दुःख गरोस्, आफैं बुझिन्छ । सकिगो ।
पाठ्यक्रममा राखिदिएको थियो र मात्र कसैकसैले कुनै कुनै बेला भैरव अर्याललाई सुनेका र पढेका थिए, नत्र भैरव अर्याल भनेको कुन चरीको नाम हो कसैले थाहा पाउने थिएन । दाताराम शर्मा, बालमुकुन्ददेव पाण्डे, वासुदेव शर्मा लुइँटेल, श्रीधर खनाल, रामकुमार पाण्डे लगायतलाई अब कसले चिनोस् । उनैका अनुयायी र त्यही धारामा चलेकाहरू अनेक कति छन् कति अरुको के कुरा गर्नुमै चिन्दिनँ त अरुलाई चिन्दैनन् भन्ने मेरो अधिकार के ? यही नचिनिरहेको सन्दर्भमा एक जना नचिनेका हाँस्यव्यङ्ग्यकार चिन्नमा आए नमोनमः हाँस्यव्यङ्ग्यको बिटो लिएर, जसको नाम महेश थापा हो ।
म उनका जिन्दगीको कथा थाहा पाएर बडो आहत भएँ । झमक घिमिरेको जीवन पढ्दा तुरुक्क आँसु आएका थिए आज उही दशा भो महेश थापाको जिन्दगी बुझेर । दुईचार वर्षअघिदेखिका मेरा फेसबुकमित्र महेशलाई म वामहिमायतीका रुपमा मात्र जान्दथें, अपूर्व क्षमता भएको साधकका रुपमा कम चिन्दथें, जब उनलाई चिने अनि उनको जीवन जान्ने चाह भयो, जब उनको जीवन चिने अनि मेरो चित्त काटियो । सारै दुर्धर्ष र आहतिलो जीवन बाँचेको मेरो मित्र म अब यसबारे केही बोलिनँ । यदि कतै छ भने त्यस दैवलाई धिक्कार छ । वस यति भनें ।
महेश थापा नेपाली हाँस्य व्यङ्ग्य साहित्यको फाँटका पछिल्लो युगका आधुनिक भैरव अर्यालको अवतार हुन् । उनका रचनाहरुमा बौद्धिकता, तार्किकता, शब्दचयन गर्ने अपूर्व क्षमता, विचारलाई ओर्काइफर्काइ गर्ने सोच र आलङ्कारिक सुष्ठु प्रयोगको हिसाबमा अद्वितीय छन् । नमोनमः उनको पछिल्लो रचना हो जसबाट उनको रचना सामर्थ्य देखिन्छ, हाँस्य र व्यङ्ग्यका माध्यमबाट समाजको दिग्दर्शन गर्ने कुशलता पाइन्छ ।
विषयवस्तुको गहनतालाई ललाइफकाइ गरेर टिप्तै सजिलोसँग पाठकसामु उपस्थापन गर्नु उनको वैशिष्ट्य छ । समाजका बाहिरी वा भित्री तहमा असर पार्ने खालका आर्थिक राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक वितण्डाहरुलाई छाला काड्नु उनको व्यङ्ग्य धर्म हो । उनी अभिधात्मक रुपबाट वर्णन गरेर खोइरो उतार्न सारै चतुर छन् । एक अर्थमा उनी लाक्षणिक विधि प्रयोग नगरी अभिधात्मक विधिबाट सोझै कटाक्षको बाटो उतार्छन् र विषयलाई बेपर्दा पार्न मापाका छन् । नमोनमः बाहेकका उनका कृति मैले अध्ययन नगरेकोले मलाई बाँकी कृतिको बारेमा केही जानकारी नभए पनि यस कृतिबाट नेपालको केही वर्ष यता फलेको दुष्कर्मको फलको उनले यस कृतिभित्रबाट पाठकहरुलाई रामरी उपभोग गराएका छन् । दिल्ली धाउने राजनीतिक लाउकेहरु, मधेशको मसिहा ठान्ने भारतपरस्त तथा उतैको खाना खाएर यता सौदावाजी गरिरहेका फोहरीहरु, पचास लाखका सौदामा विवेका शहीद सट्टाबजारका धुन्धुकारीहरु, शैक्षिक जगत्का ब्वाँसाहरु, समाजका दुशासनहरू पत्रकार नामक जन्तुहरू आदि इत्यादिका चारित्रिक नीचतालाई उनका भित्री चक्षुले खुला रुपमा देखेका छन् यिनलाई नाङ्गो पार्दै लेखेका छन् । नेपालको चिन्ता कसैमा नभएको कुरा उनले देखेका छन् र तिनैहरू यसै देशको वाग्डोरमा वा सत्ताको खेलमा पुगेको देखेर उनले सेकेका छन् ।
संक्षेपमा महेश थापा सजग स्रष्टा हुन्, समसामयिक युगका अन्तर्कुन्तरका द्रष्टा हुन् । कसैलाई बाँकी नराखी व्यङ्ग्य, परिहास, छेडखान, खिसीट्यूरी गर्दै समाज बिग्रिएको छ यसमा हामी नै जिम्मेवार छौं भन्दै औंलो ठड्याउने सर्जक हुन् । परोक्ष रुपमा उनका रचनाहरुले देखावटी र तथाकथित सुसभ्यताको जलप लगाएको एव म तथाकथित मर्यादित समाजको आवरणभित्रको फोहोरले भरिएको समाज देखाउँछन् र प्रकारान्तरले सजग गराउने परोक्ष सन्देश प्रवाह गराउँछन् ।
सजग पाठक उनका रचना पढ्दा समाजका ठेकेदारहरुसँग आक्रोशित हु्न्छ, विचलित हुन्छ र उनले सङ्केत गरेका ती फटाहरुमाथि जाइलाग्ने भावले आप्लावित हु्न्छ । व्यङ्ग्यबाट यो धर्म प्राप्त हुन सक्नु नै व्यङ्ग्यको खास सफलता हुन्छ । यस अर्थमा महेश यस क्षेत्रमा सफल छन् भनेर किटान गर्न सकिन्छ ।
महेशको लेखन शैली भैरव अर्यालको छ । यसैले मैले उनलाई पछिल्लो भैरव अर्याल भनें । महेश पनि समाजका हल्लुँडे विकृति र विसङ्गतिका लागि भैरवका रुपमा जागेका देखिन्छन् । जुन भैरव अर्यालका साथ केही समयसम्म भए पनि मेरो सान्निध्यता थियो । उनै भैरवको प्रभावबाट म पनि यस क्षेत्रको बटुवा भएको हुँ । महेश थापा शब्द चययनमा, बौद्धिकताको प्रयोगमा र वर्णनको कुशलतामा भैरवमार्गी हाँस्यव्यङ्ग्यकारका रुपमा देखिएका हुन् । उनका रचनाहरुमा हाँस्यको झङ्कारभन्दा बढी व्यङ्ग्यका छर्रा नै बढी हुन्छन् । समाजको हरेक क्षेत्रमा ती छर्राबाट उनी ढाड सेकाइरहेका हुन्छन्, सचेत पाठकहरुलाई दारा किट्ने अवस्थाको सिर्जना गरिरहेका हुन्छन् । अहिले यति नै भनें यस कित्तामा ।
अनुप्रंरासमय भाषाशैलीको उपयोगमा एव म कलात्मक र स्वादिलो झर्रो नेपाली भाषाको प्रयोगमा पनि उनलाई अघिल्लो स्थान नै प्राप्त छ । उनको आगामी दिनको कुशल र सहजजीवनको लागि आन्तरिक कामना गरें ।
धन्यवाद ।

नेपाली व्यंग्यफाँटमा भैरव
नेपाली व्यंग्यफाँटमा भैरव अर्याल एउटा मानक नाम हो । उहाँको विरासतलाई बोक्ने कुरा त्यति सहज पक्कै छैन । उहाँसँग नाम जोडिनु मात्र पनि एउटा नेपाली व्यंग्यलेखकको निम्ति गर्वको विषय हुन जान्छ । ‘नमोनम:’ पढ्नुभो, रुचाउनुभो र यति मिठो समीक्षा लेखिदिनुभयो, हार्दिक धन्यवाद होम सुवेदी सरलाई !