फोन आउने बित्तिकै शम्भुजीले बडो हडबडाएर भान्सातिर पस्न लागेकी पत्नीलाई कराए “ए सर्मु, लौ है नभेटिने पो हो कि जस्तो लाग्यो । लु छिटो जाऊँ हिँड चाँडो । घाट लाने कुरा पो आइसक्यो । लौ चाँडै गर ।”
यसरी ससुरालीबाट फोन आएर सर्मिलाका आफन्त बितेको कुरा सुनाए । सर्मिलाले आफ्नी काकी राती नै बितिछिन् भन्ने कुरा बुझिहालिन् । अलिकति सुँक्सुँकाइन् र हस्याङ्फस्याङ् गर्दै एेनाका अघि बसिन् ।
“लु हेर कस्तो होला । त्यो लक्मे पाउडर ल्याइदिनु भनेको कति भो कुनै वास्ता नै छैन । उनीहरुलाई जसरी हिने पनि भैहाल्छ के छ र !” गुनासो गरिन् ।
“नकराऊ, अहिले चाँडो गर” शम्भुजी मोटरसाइकल निकाल्दै कराए ।
निकै बेर भइसक्यो सर्मिला कता केके हस्याङ्फस्याङ् गरिरहिन् ।
शम्भुजीले मोटर साइकल निकालेर तयार परेको निकै बेर भयो तैपनि उनी तयार परेर बाहिर निस्किइनन् ।
“हे भगवान कति ढिलो गरेकी ?” कराए ।
“आँउदैछु ।” भनिन् । यसो साधारण श्रृङ्गार नगरी कता निस्कून् त । यसैले उनलाई यसमा अलिकति समय र लुगा छनोटमा अझ अलिकति समय लाग्यो । शम्भुजीले घरको सुरक्षाका लागि घरको थान्कोमुन्को र झ्यालढोका बन्द गरेर चाँडो तयार पर्न अझ कराउँदा कराउँदै पनि सर्मिलालाई अरु निकै समय लाग्यो । खबर सुनेदेखि बल्लबल्ल डेढ घन्टामा उनी तयार भएर शम्भुजीसँग जाने अवस्थामा पुगिन् र कम्पाउन्ड बाहिर निस्किन् ।
शम्भुजीले मोटर साइकल स्टार्ट गरेका मात्र थिए सर्मिलाले बल्ल थाहा पाइन् हात र कान ता बुचै पो रहेछन् । उनी भुत्भुताउँदै फेरि घरभित्र पसेर दराज खोल्दै त्यहाँ राखिएका टप झिक्न थालिन् तर कुन टप लाउने भन्ने निर्णय गर्न तिनलाई निकै गाहारो पर्यो । यता चुराकाे छनोट ता लुगा अनुसारकाे हुनु थियाे । कलर मिलाइन् र लाएर बिस मिनट जतिमा बल्ल निस्किन् । मनभरि भो उनलाई रामरी मेकप गर्न पनि पाइएन । छिटो गर्दा गर्दै पनि जम्मा जम्मी करिब दुई घन्टा जति समय बितेपछि बल्ल उनीहरु बाटो लागे ।
गन्तव्य अलिकति टाढै थियाे र त्यहाँ पुग्दा जमा आधा घन्टा ढिलो भएकाे थाहा भाे ।
सर्मिलाले शम्भुजीको अनुहारतिर हेरेर भनिन् “थुक्क आधाघन्टा अघि आइपुग्न पाएको भए ता यसो मुख हेर्न ता भ्याइने रहेछ… !!”
