शानदार प्रयास
त्यो बेला अहिलेको जस्तो समय थिएन । पाँच कक्षा पास भएपछि हाइस्कुल पढ्न दुई घण्टा हिँडेर जानुपर्थ्यो । हात्तीछाप चप्पल लगाएर स्कुल जाँदा लोती छिनेर हैरान पार्थ्यो । दु:खै गरेर भएपनि मैले दोस्रो श्रेणीमा एसएलसी पास गरेँ । अहिलेको जस्तो लेटर ग्रेडिङ सिस्टम थिएन र त सेकेन्ड डिभिजनमा एसएलसी पास भएको फूर्ति लाउन पाएँ मैले पनि । गाउँमा क्याम्पस खुलेका थिएनन् त्यसैले सातुसामल पोको पारेर एकदिन पैदल एकदिन गाडीमा चढेर काठमाडौं खाल्डो छिरेँ म । गाउँमाभन्दा सबथोक नौलो र फरक देखेँ मैले । देखेँ बसगाडीका ताँती, अपरिचित मान्छेहरूको भीडभाड र व्यस्तता ।

युगको उर्दी जारी गर्ने काजी दाइ पाहुना झैं कहिलेकाहीँ जन्मथलो आउँछन् र आफ्नो नाभि गाडिएको माटो सुँघेर फेरि जान्छन् त्यही मरुस्थलतिर । जाँदा उनी कोटको खल्तीमा एकमुठी माटो हाल्छन् र हातमा लागेको शेष माटो आफ्नो निधारमा सुस्तरी दल्छन् कुनै वैष्णवले नाकमाथि चन्दन लगाएझैं । त्यो सुगन्धित माटो निधारबाट नाक, गाला हुदैं ओरालो लाग्छ र सम्पूर्ण शरीरमा पुगेर विलय हुन्छ । बाटो हिड्दा जंगलमै कैयौं रात बिताउँछन् मृग, कस्तुरी र तिनीहरूका शावकहरूसँग । दुबोको नरम विस्तारामा हातको शिरानी हालेर उनले रानीवनको जंगलमा तामाकोशी, सुनकोशी र रोशीको किनारामा केही रात सपना देख्छन् आफूले सिंगो युग बोकेको ।