-धेरै वर्ष पहिले हिमाल र समुद्रबीच गहिरो माया बस्यो।
-उनीहरूले एकापसमा बिहे गरे, रमाए।
-उनीहरूका नदी, खोला, झरना, ताल र पोखरी सन्तान पैदा भए।
-रहदाँ बस्दा कालान्तरमा उनीहरूबीच मनमुटाव भयो र अलग्गिने निर्णय गरे।
-हिमाल अग्लिदैं गयो अनि समुद्र गहिरिदैं।
-टाढा भएपनि उनीहरूले अतीतलाई चटक्कै भूल्न सकेका थिएनन्।
-हिमाल पग्लेर पानी बनी बग्दै समुद्रलाई भेट्न जान थाल्यो।
-समुद्र पनि बाफ बनेर उड्दै बादल, वर्षा, हिउँ हुदैं आफ्नो प्रिय हिमाललाई भेट्न जान थाली।
-अहिले हिमाल समुद्रको सामीप्यता चाहन्छ भने समुद्र हिमालको काखमा रमाउन चाहन्छे।
-चाहनालाई मूर्तरुप दिन हिमाल होचिदैं गइरहेको छ, समुद्र माथि उठ्दै आइरहेकी छे।
कुमार काफ्ले
