Skip to content

पाँच मुक्तक (शिक्षक)



आफू जली प्रकाश दिने शिक्षकको कर्म हजुर
पीडा व्यथा कति होलान् कतिकति मर्म हजुर
उर्जाशील समयमा अहोरात्र खटिइरहने
समाजमा शिक्षकले निभाइरहेछन् धर्म हजुर।


समयमा स्कुल पुगी कक्षाकोठा छिर्नुपर्ने
पसलमा उधारो छ होला कति तिर्नुपर्ने
सकेसम्म शिक्षार्थीलाई सिकाउन मरिमेट्ने
कहिलेकाहीँ अपजसको झोली पनि भिर्नुपर्ने


आफ्नो शिष्य सफल हुँदा शिक्षक कति खुशी हुन्छ
मान्छे नै त हो ऊ पनि कहिले हाँस्छ कहिले रुन्छ
सधैं भलो असल सोच्छन् विद्यार्थीको शिक्षकले
गुरु आज्ञा पालन गरे सफलताले शिखर छुन्छ।


जो जो जेजे बनेका छन् शिक्षकलाई जान्छ जस
असल शिक्षक खराबसामु हुदैंनन् टसको मस
केही शिक्षक खराब होलान् तर धेरै हुदैंनन्
जति पढ्यो उति पढ्ने बढिरहन्छ मनमा रस।


गुरु ब्रह्मा गुरु विष्णु गुरुदेव महेश्वर
कतिले त मान्ने गर्छन् गुरुलाई परमेश्वर
गुरु खुशी हुँदा जगत लाग्ने गर्छ सार्थक यो
शरण पर्छु उद्धार गर हे मेरा देवेश्वर।

कुमार काफ्ले
ओखलढुंगा।

1 thought on “पाँच मुक्तक (शिक्षक)”

  1. भाव राम्रो छ कुमारजी ।
    भाव राम्रो छ कुमारजी । दोहोर्याएर पढ्दा पनि केही लाइन चाहिं मीटर मिलाई सहजसँग वाचना गर्न सकिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *