एकाङ्की (शीलवती)


रूपमाया र गुणबहादुरको बेलाबेलामा ठाकठुक परिरहन्छ र आज पनि रूपमायालाई गुणबहादुरले त्यति वास्ता गरेजस्तो लागेको छैन त्यसैले उनी गुणबहादुरलाई आफ्नो महत्ता दर्शाउन खोज्दैछे ।

रूपमाया: मेरो चौतर्फी प्रशंसा छ ।

गुणबहादुर: हो ।

रूपमाया: हुन पनि हो, म बिना संसार कति कुरुप हुदों हो !

गुणबहादुर: हो त ।

रूपमाया: यो सारा संसार मेरै रूप हेरर आनन्द लिन्छ, रमाउँछ ।

गुणबहादुर: लड्छ भीड्छ पनि भनन ।

रूपमाया: तर तिम्रो लागि त त्यही गर्दिने पनि छैनन् त !

गुणबहादुर: मेरो स्वभावै त्यस्तो लड्ने, भीड्ने, झगडा गर्ने हैन नि त !

रूपमाया: तिम्रो स्वभाव त आफ्नै गुणको बखान गर्ने र अरुलाई गन्दै नगन्ने ! हैन त?

गुणबहादुर: अनि तिमी नि तिमी ! आफ्नो रूपको कति घमण्ड गर्छ्यौ?तर बेलैमा विचार गर ! तिमी सधैं यस्तो रहदिंनौ, बिस्तारै क्षय हुँदै जान्छ्यौ ।

रूपमाया: तिमी चाहिं रहौला नि सधैं उस्तै ! कत्ति न आफूलेचाहिं अजम्बरी पाएजस्तो !

गुणबहादुर: हो, तिम्रो तुलनामा मैले त अजम्बरी पाएसरह हो । तिमी दिनदिनै नाशिदै जान्छ्यौ म क्रमशः बढ्दै जान्छु ।

रूपमाया: हेर न ! अघि मलाई घमण्डी भन्ने अनि अहिले आफै घमण्ड गर्ने !

गुणबहादुर: मैले घमण्ड गरेको हैन, आवश्यकता अनुसार व्यवहार गरेको मात्रै हो र यो आफ्नो धर्म पनि हो ।

रूपमाया: क्षणिक भएपनि मान्छेहरू तिमीलाईभन्दा मलाई मन पराउँछन् ।

गुणबहादुर: हो, मान्छे खाली क्षणिकको लागि मात्र सोच्छन् र त पछि पछुताउँछन् । फेरि अर्को कुरा म विना तिम्रो के अर्थ हुन्छ र !

रूपमाया: अनि म विनाको तिम्रो नि जति महत्त्व हुनुपर्थ्यो त्यति हुदैंन नि !

गुणबहादुर: त्यो त मैले कहिले होइन भनेको छु र?म ओठ हुँ भने तिमी लाली हौ, म आँखा हुँ भने तिमी गाजल हौ ।

रूप: अँ ! खुबै हो ! सुन्दर ओठ र मनमोहक आँखा मै होइन?तिमी त आफू अब्बल र मलाई दोयम पो प्रमाणित गर्न खोज्दैछौ !

गुणबहादुर: त्यसोभए राम्रो र सुन्दर तिमी हौ भने कुरुप र नराम्रो पनि त तिमी नै हौ । वास्तवमा तिमी बाहिरी आवरण हौ भने म भित्री गुदी हुँ ।

रूपमाया: यो संसार सबै बाहिरी आवरणमै त अडेको छ नि ! यो प्रकृति, यो विश्व ब्रह्माण्ड, आँखाले देख्न सकिने, स्पर्श गर्न मिल्ने जति सबै थोक मै हुँ । त्यहाँ तिम्रो अस्तित्व के छ भन त?

गुणबहादुर: जसरी पवनलाई देख्न सकिदैंन, पानीलाई काट्न सकिदैंन अनि आत्मालाई छुन सकिदैंन परन्तु अनुभूति त गर्न सकिन्छ नि ! हो म त्यही सत्य, निष्ठा र इमानदारीतायुक्त गुण हुँ ।

रूपमाया: चोरी, ठगी, हत्या, हिंसा र लुटपाट पनि म नै हुँ भन न ।

गुणबहादुर: ती त अवगुण र आचरण हुन्, मलाई त्यहाँ खोज्ने भूल नगर्नू ।

शीला: ओहो ! तपाईंहरू कति वादविवाद गरिरहनु भएको?म तपाईंहरूको बहस अघि नै देखि सुनिरहेको छु । हजुरहरू दुवै एकसे एक हुनुहुन्छ र एकअर्का विना अधुरो हुनुहुन्छ ।

रूपमाया र गुणबहादुर: (दुवै एकसाथ)कसरी?

शीला: किनभने गुण विनाको रूपको काम छैन भने रूप विनाको गुण पनि अधुरै हुन्छ । तपाईंहरू दुइसँगै अँझ म पनि थपिएँ भने त सुनमा सुगन्ध !

रूपमाया: हो तिमीले मेरो आँखा खोलिदेउ, धन्यवाद है शीला !

गुणबहादुर: मेरो पनि धन्यवाद तिमीलाई, तर आँखा खोलिदिएकोमा हैन विवाद सल्ट्याइदिएकोमा नि !

शीला: (खुशीले)हाहाहाहा, ल त्यसोभए एउटा मीठो गीत गाऔं…

तीनैजना: रूप, गुण, शीलवती हिउँजस्तै गोरी……. ।

कुमार काफ्ले
ओखलढुंगा ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *