Skip to content

शानदार प्रयास


त्यो बेला अहिलेको जस्तो समय थिएन । पाँच कक्षा पास भएपछि हाइस्कुल पढ्न दुई घण्टा हिँडेर जानुपर्थ्यो । हात्तीछाप चप्पल लगाएर स्कुल जाँदा लोती छिनेर हैरान पार्थ्यो । दु:खै गरेर भएपनि मैले दोस्रो श्रेणीमा एसएलसी पास गरेँ । अहिलेको जस्तो लेटर ग्रेडिङ सिस्टम थिएन र त सेकेन्ड डिभिजनमा एसएलसी पास भएको फूर्ति लाउन पाएँ मैले पनि । गाउँमा क्याम्पस खुलेका थिएनन् त्यसैले सातुसामल पोको पारेर एकदिन पैदल एकदिन गाडीमा चढेर काठमाडौं खाल्डो छिरेँ म । गाउँमाभन्दा सबथोक नौलो र फरक देखेँ मैले । देखेँ बसगाडीका ताँती, अपरिचित मान्छेहरूको भीडभाड र व्यस्तता ।

शहरमा दिनहरू बित्दै गए । घरबाट ल्याएको खर्चपात सकिनै लागेको थियो । एसएलसी पासको सर्टिफिकेटले खानलाउन नदिएपछि फुलेको नाक सुक्दै जान थाल्यो र यसको प्रयोग काँ गर्न मिल्छ भनेर गम्न थालेँ म । किशोरावस्थाको सोचाइले काम गर्ला जस्तो भयो । सर्टिफिकेट बोकेर म ठूलाठूला अफिस, पसल र घरहरूमा गएर काम सोध्न, खोज्न थालेँ तर धेरै दिन धाउँदा पनि कसैले टेरपुच्छार लाउँदैनन् बा ! म छक्क परेँ । थकित भएर कोठामा पल्टिरहेको मलाई मेरै मनले आदेश दियो “हेर जंगे, यसरी यस्तो उमेरमा यसरी हार मानेर हुन्छ ? तेरो उमेरमा जंगबहादुरले कस्ताकस्ता साहसिक काम गर्थ्यो ! तँ भने यसरी हरेस खाँदैछस्, जुरुक्क उठ् र लाग् आफ्नो कामतिर ।

कामतिर लाग् त भन्यो तर कामै के थियो र ! काम खोज्ने काम थियो मेरो । जे होस् काम खोज्ने व्यक्तिहरूको खोजी भयो भनेचाहिं म अरुभन्दा अगाडि नै आउँथे जस्तो लाग्यो मलाई ।

अब मैले काम खोज्न ठूला महल र अफिसहरू धाउँन छोडें । धाउँदाधाउँदा एसएलसी दिनेबेलामा किनेको गोल्डस्टार जुत्ता फाटिसकेका थिए र त्यसको स्थान फेरि हात्तीछाप चप्पलले ग्रहण गरिसकेको थियो । कोसँग कसरी बोल्ने, कस्तो ठाउँमा कसरी जानेजस्ता सामान्य शिष्टाचार र इमानदारिताजस्ता गुणहरू मैले आमाबा र गुरुहरूसँग धेरथोर सिकिसकेको थिएँ । ठूला महल र अफिसमा छिर्न राम्रा लुगा र जुत्ता आवश्यक पर्दथ्यो भने इमानदार बन्न भोको पेट बाधक बन्दै थियो । गाउँमा शोषकहरूको जगजगी, शहरमा गरिबलाई कुकुरभन्दा तल्लो दर्जाको ठान्ने मानसिकता ! सबैतिर अन्याय, अत्याचार, शोषण, उत्पीडन र वर्गविभेद व्याप्त थियो भलै त्यसको रुप किन फरक नहोस् । देशमा चलिरहेको वर्गसंघर्ष र जनयुद्धमा होमिन मन लाग्यो तर खै कसरी त्यो महान संघर्षमा जानबाट रोकिएँ म ! मलाई नै राम्रोसँग याद छैन ।

मैले इमानदारिताको सुक्ष्म सीमारेखा कोरेँ । कतिसम्म बेइमान बन्ने ? कति झुट बोल्ने ? आदि विषयमा धेरैबेर घोत्लिएँ र निस्कें फेरि शहरका गल्ली र चोकहरूमा । साना पसल र सानै घरहरूमा छिरें, होटल र रेष्टुरेन्टहरूमा पसें । एउटा होटलको अगाडि गएर निकैबेर उभिएँ, कसैले बोलाएन, भित्रै गएँ । गजधुम्म परेकी मोटी महिलाले मेरो सोधीखोजी गरिन् । मैले जिन्दगीमा पहिलोपटक झुट बोलें मिलाएर । त्यो दिन मेरा दिन खुले ! सेकेन्ड डिभिजनवाला सर्टिफिकेटले मान्यता पायो ।

काम छोडेर बीचमै नभागोस् भनेर होटलवालाले सर्टिफिकेट बन्धकी राखे, म काममा दलिएँ । रित्तो खल्ती र काम नपाएको झोकमा जस्तो पाएनि काम गर्छु भन्ने मानसिकता तयार गरेकाले दिनमा पन्ध्र घण्टा काममा जोतिँदा पनि म काममा रमाएकै थिएँ । खान टन्न पाइन्थ्यो, कैयौं दिनदेखि धित मरुञ्जेल नखाएकाले मलाई काम गार्‍हो भए पनि ठीकै लाग्यो । घरमा पनि म काममा लागेँ भनेर दुई रुपैयाँको टिकट टाँसेर चिठी पठाएँ, मन ढुक्क भयो ।

केही वर्ष बिते मेरा होटल, रेष्टुरेन्टमा र राम्रो कामको खोजी गर्दागर्दै । काम गर्दागर्दै मैले प्राइभेटतर्फबाट प्रवीणता प्रमाणपत्र र स्नातक गरें । सरकारी, अर्धसरकारी संघसंस्था, संस्थान्, लोकसेवा, एनजीओ आइएनजिओ सबैतिर प्रयास गरें, भीडेँ तर भाग्य खुलेन । विदेश जाने विचार गरेँ, पासपोर्ट बनाएर म्यानपावरतिर धाँए । कमाउ मुलुकमा जान पाइएन, खाडीमुलुक र मलेसिया जान मन लागेन, डिभि भरेको परेन । किताब खुब पढेँ, बरु त्यतै मन रमायो । आफू पनि कथा कविता कोर्न थालें । मनमा अनेक खालका सोचहरू आउथें, बहस, झगडा गर्थे मिलापत्र गर्थे र जान्थे ।

जीवनले अर्कै मोड लियो । उमेरले चौबीस काट्यो, बिहे भयो, गाउँकै स्कुलमा जागिर खान थालियो । दिनहरू फेरिन थाले, गाउँको जग्गा बेचेर शहरमा घडेरी किनें । केही वर्षपछि जागिरको पैसा, सञ्चयकोष र ऋणपान गरेर घर बनाएँ ।

शनिबारको दिन, अफिस बिदा, बिहान ढिलो‌सम्म सुतिएछ । जहिल्यै बिहान सबेरै उठ्ने म त्यो दिन अबेरसम्म सुतेको देखेर श्रीमतीले जिस्काउँदै व्यङ्ग्य हानिन् “अब हजुरलाई नि बुढेसकालले छोएछ । ” आँखा खोल्दा चिया टेबलमा राखेर उनी ओझेल परिसकेकी थिइन् ।

उठें, मुख नधोइ चिया पिएँ । भित्तामा झुन्ड्याइएको ऐनातिर मुन्टो सोझ्याएँ, झुस्स दारी पलाएछन् । श्रीमतीले ठीकै भनिछिन्, अब म साँच्चै बूढो भएछु, सम्झेँ । बूढो हुनुको प्रमाण कतैकतै देखिएका फूलेका दारीले पनि दिइरहेका थिए । यी सबुत प्रमाणहरू सुरक्षित राखिरहन मन लागेन, सेभिङ क्रिम सदाभन्दा बाक्लै लगाएँ र मजाले सेभिङ गरें, अनुहार धोएँ, पुछपाछ गरें र फेरि जवान देखिने प्रयास गरें । श्रीमतीले तपाईं त कस्तो जवान पो हुनुभएछ भन्छिन् कि भन्ने आशाले छेवैमा गएँ तर त्यता कुरै लगिनन् । निराश भएर फर्कें । बाथरुम गएँ, नुहाइधुवाइ गरें, पर्फ्युम छर्केर कोठामा आएर पल्टें ।

अतीतको वहीखाता पल्टाएँ । गाउँले जंगे म, कामको लागि कताकता चहारिनँ ! केके गरिनँ ! शहरका गल्ली र चोकहरूमा नापेका पाइलाहरू सम्झें । खाली पेट र रित्तो खल्ती सम्झेर कहिलेकाहीँ अचेल पनि झसङ्ग हुन्छु ।
अहिले शहरको घरमा आनन्दसँग बसिरहेको थिएँ तर सोचाइको सागरमा डुब्दै गइरहेको थिएँ । मेरो अतित सजीव भएर मसामु उपस्थित भएको थियो । भान्साबाट आवाज आयो “ए बूढा, भान्सा तयार भयो छिटो हात धोएर आउनू । ” पहिलापहिला श्रीमतीले ए बूढाभन्दा माया गरेर बोलाएको जस्तो लाग्थ्यो तर आज साँच्चिकै बूढो भएछु क्यारे ! सोचेर खिन्न भएँ ।

खाना खाएर एकछिन सुस्ताएपछि श्रीमतीले फिल्म हेर्न जाने प्रस्ताव राखिन्, मन नलागिनलागि सहमति जनाएँ । हिँड्ने बेलामा यसो उनीतिर नजर लगाएँ, सोह्रशृङ्गार गरेर स्निग्ध र धपक्कै बलेकी ! हात समातेर चुम्न मन लाग्यो तर संभावित अनपेक्षित व्यङ्ग्यवाणको डरले मन थामें ।

छोराछोरीलाई होस्टेलमा राखिदिएका थियौं । साँझको खानापछि सुत्ने तरखरमा लागियो । थाकेर होला श्रीमती त भुसुक्कै निदाइहालिन् तर मलाई भने निद्रा परेको थिएन । मनमा अनेक कुरा खेल्न थाले । कहिले दिउँसो हेरेका फिल्मका दृश्यहरू आँखाअगाडि आएर नाच्न थाल्थे । नायक नायिका बीचको मायाप्रीति, प्रेमलीला सम्झदैंसँगै मस्त निदाइरहेकी श्रीमतीलाई हेरें । गर्मीले होला ओढ्ने ओढेकी थिइनन्, नाइट ड्रेस घुँडाभन्दा माथि सरेको थियो । निकैबेर नियालें, नितम्ब उठेर कम्मर छिनेको थियो, निद्रामै मुस्कान छोडिरहेकी थिइन् । समग्रमा चलचित्रको नायिकाभन्दा कम लागेन मलाई मेरी श्रीमती । ममा सुस्तरी पुरुषत्व जाग्न थाल्यो तर बिहानै अब हजुर बूढो हुनुभएछ भनेको सम्झें र सेलाएँ ।

के म साँच्चै बूढो भएको हुँ त ? म महान दार्शनिक झैं घोत्लिएँ । चिउँडामा हात लगाएर बसें । बूढो हुँदाका आधार प्रमाणहरू तयार गर्न थालें । मैले गरेका काम र कामका लागि गरेका प्रयासहरू एकएक गरी सम्झें ।

आत्महत्या ! हो आत्महत्या, मैले गाँठी कुरो फेला पारेझैं उत्साह र अदबका साथ दोहोर्‍याएर सम्झेँ । जिन्दगीमा धेरै काममा प्रयास गरियो तर यो आत्महत्या गर्ने प्रयास चाहिं अहिलेसम्म गरेको रहेनछु ! कहालीलाग्दा दुःख र चुनौतीका दिनहरू आए, गए । उस्तै कायर र नामर्द भए उहिल्यै आत्महत्या गरिसक्थे भन्ने मेरो सर्वसम्मत ठम्याइरह्यो । हुन त आत्महत्या कायरहरूको साहसिक कदम हो पनि भन्छन् मान्छेहरू तर मेरो ठम्याइमा कमजोर मुटु र सानोतिनो हिम्मतले यो काम सफल हुन्छ जस्तो लागेन र मैले आँट गर्ने अठोट गरें अहिलेसम्म कहिल्यै नगरेको साहसिक काम गर्न ।

फेरि आत्महत्या गर्नका लागि आवश्यक आधार र प्रकृयाहरू पूरा भएनभएको एकिन गर्न मन लाग्यो । एउटा मान्छे भएर जन्मेपछि गर्नुपर्ने काम, कर्तव्य र जिम्मेवारी मैले पूरा गरिसकेको थिएँ । श्रीमतीले पनि बूढो भएको जनाउ दिइसकेकी थिइन् भने भगवान् ब्रह्माले मान्छेलाई दिएको आयु चालीस कटेर एकचालीसमा हिड्दैं थिएँ । यो थपिएको आयु गोरुको हो क्यारे !

हैट ! गोरुको आयु पनि कोही जिउँछ ? म जुरुक्क उठें र आत्महत्या गर्ने उपयुक्त तरिका सोच्न थालें । झुन्डिने, मेटासिट/मुसा मार्ने औषधी सेवन गर्ने, मट्टीतेल छर्केर आगो लगाउने, छतबाट हाम फाल्ने लगायतका धेरै तरिका दिमागमा आए । दिउँसो हेरेको फिल्ममा नायिका घाँटीमा पासो लाएर झुन्डिएकी थिइन् । यति राति डोरी कता खोज्नु ! फेरि पशुलाई बाँध्न बनाइएको डोरी के मान्छेको घाँटीमा बाँध्नु ! मैले झस्केर आफ्नै घाँटी समाएँ । यो तरिकाले मर्नु ठिक लागेन मलाई । छतबाट हाम फाल्न भनेर माथि चढेँ । यहाँबाट हाम फाल्दा कथिनकाल बाँचियो र हातखुट्टा मात्रै भाँचियो भने के हालत होला ! मेरो आङ सिरिङ्ङ गर्यो । कोठामा झरेर कतै मेटासिट, मुसाको विष छ कि भनेर दराज खोलें, घर्रा उघारें अहँ काहीं फेला पारिनँ । सम्झेँ, म सर्वश्रेष्ठ प्राणी पो त ! मुसा, जुम्रा, उपियाँ, उडुस मरेझैं के मर्नु ? भेटिए पनि खान्नँ त्यो त । नमर्नु मरेपछि शानदार तरिकाले मर्नुपर्छ र म मरेको समाचार पत्रिकाको हेडलाइन बन्नुपर्छ, रेडियो टिभीमा मै छाउनुपर्छ । साहसिक मान्छेहरूले मेरै तरिका अनुशरण गर्ने गरी मैले आत्महत्याको मानक स्थापित गरेर मर्नुपर्छ ।

श्रीमतीतिर हेरेँ । मस्त निदाइरहेकी थिइन् तर पातलो लुगा अघिकोभन्दा अँझ माथि सरेको थियो । छेवैमा गएर ढल्किएँ । सुस्तरी मेरा हात उनको शरीरमा सलबलाउन थाले । केही छिनमा उनी पनि ब्यूँझिइन् । मैले बेस्सरी आफूतिर कसें । उनले पनि साथ दिन थालिन् । हामी दुई एक भयौं, निकैबेर एकअर्काको अँगालोमा बाँधियौं । उनले मादक स्वरमा भनिन् “मेरो प्यारो बूढा कहिल्यै बूढो नहुने हुनु भो, सधैं पच्चीस वर्षे जस्तो लाग्छ । “मान्छेको मन न हो, खुशी भएर आयो । यो जीवन फेरि सुन्दर लाग्न थाल्यो ।

कुमार काफ्ले
ओखलढुंगा

Leave a Reply

Your email address will not be published. Required fields are marked *