Skip to content

एक्कईसौं शताब्दीको मान्छे ऊ


शताब्दीको बहाना पारेर ऊ
बिर्सदैछ सृष्टिलाई,
लत्याएर नियमहरू
कलियुगमा जन्मिएको
बिलाशिन्तको पछि-पछि
मुट्ठीभर धनाट्यको मंचभित्र
नृत्यांगना बनेर छमछम,
नाचिदिन्छ बेसुर तालमा
कालो बजारको अर्धाङ्ग गुडिया बनेर
सजिन्छ धिप-धिप,
शताब्दीको बाहाना पारेर ऊ

शताब्दीको बहाना पारेर ऊ
बदलिदिन्छ दिनलाई रातमा,
छोट्याउदै जीवनको घडीहरू,
कोच्याउदै संसारमा गुप्त,
त्यो उपेक्षित काठेघरभित्र,
दिवास्वप्नाको बिगुल फुकेर ऊ
पछार्दै अस्मिता र सरिता
केवल मान्छे त्योभुवाजस्तै
उड्छ मूल्यहीन बनेर हावाको झोक्कासँगै
शताब्दीको बहाना पारेर ऊ

मर्यादाले थुकेका फोहोरहरू
पैसाले पखाल्दै,
जमघट बनेका दरिद्रहरू
तिनै दरिद्रको नाटकभित्र
चमत्कार गर्दै,
अश्लिल अनि रंगिन पर्दाहरू
चिन्दैन नश्वर आँखाहरू
बरु देख्छ मस्तीका बाटाहरू

शताब्दीको बहाना पारेर ऊ
उल्टाउन खोज्च्छ प्रकृतिको चक्रहरू
शरद ऋतुलाई उदांगो पारेर
गृष्मको बयान दिन्छ ऊ
समयको माग भनेर भ्रमहरू
एक पछि अर्को गर्दै भेडाका बथानहरू
इतिहाँसले फोहोरको डंगुरमा
फ्याकिसक्दा पनि,
सभ्यताको लाजै नमानी कुकुरझै
हड्डीनै ओगट्ने ऊ
आधुनिक मान्छे ऊ|

Leave a Reply

Your email address will not be published. Required fields are marked *