प्रातकालको पुष्प लतिका बनेर,
म एक आकाश शित पिउँछु र
चाँदी टल्किन्छु,
यो हिमाल बिहीन देशमा
एक झोंका बयली बतास
मलाई स्पर्श गर्दै
तिम्रो आभास दिएर जान्छन् !
म फूल हेर्छु,
अनि आफैँलाई हेर्छु
यो फूल तिमी जस्तै लाग्छ,
आजभोलि म यसैसँग लहसिएकी छु
फूलमा तिमीलाई खोज्छु,
मायाले स्पर्श गर्छु र प्रेम पूर्वक चुम्छु
कहिलेकाहीँ पत्रपत्र उधार्छु र
आफू पनि उधारिन्छु,
च्यातिन्छु, धुज्जिन्छु,
तिमी बुझ्दछौम किन यसो गर्छु !!
म घाम डुब्ने ठाउँतिर आइपुगेँ
तिमी घाम उदाउँने ठाउँमा छौ,
सायद दुरी यसैलाई भनिँदो हो,
सागर किनारमा उभिएर
छालहरू हेरिरहन्छु,
यहीँ सोचेर कि यी छालहरू
तिमी भएतिरैबाट आएका हुन,
तिमी जस्तै उताउला यी छालहरू
मलाई छोएर जान्छन,
मेरा अंग अंग रोमान्चित हुन्छन्
आँखा बन्द गरेर पुकार गर्छु,
हे छालहरू आऊ फेरि आऊ
मेरो सर्बांग चुमेर जाऊ
प्यासी छु किनारमा,
एकान्त रातमा जब जून हेर्छु
लाग्छ आज उसको सुहागरात हो,
र त यो यसरी मुस्कुराएकी छे
स्वभाव न हो डाह त लागिहाल्छ !!
कर्कलाको पानी झैँ,
ढलपल ढलपल जीवन बाँचेर
मोती टिप्न दौड्नु मुर्खता रहेछ,
समयको कटारी निरन्तर चलिरहन्छ
यो नजानिँदो गरी जिन्दगी रेटिरहन्छ,
एक टुक्रा बादल जस्तो जिन्दगी
हेर्दाहेर्दै वर्षिएर,
कुनै बेला पनि धर्ती मुनि,
समाहित हुन बेरै लाग्दैन !,
त्यसैले प्रिय,
अब तिमी र म बिचमा
केही अड्चन आउँन नदिनु,
बरू सारंगी रेटिएर
एउटा मिठो धून
युगौं-युग बाँचौला,
पहरामा बज्रिएर बरू
झरना झैँ प्रेमको गीत गाउँला,
बन, जंगल, लहरा र पहरामा जेलिएर
गुराँस र सुनाखरी मुस्कुराउँला,
हो प्रिय अब चाँडै नै तिमी र म
आफ्नै भिर पहरामा,
मिठा मिठा प्रणयका रातहरू बिताउँला !!
मीरा मन थापा
