Skip to content


हिजो आज म
फेसबुक अघाएर
घाँटीसम्म ढ्याउ काढ्छु
जम्मा चौबिस घण्टामा
मुस्किलले समय छुट्याएर
मात्र २/४ घण्टा थमाउछु निदलाई
दिनको सुरुवातसँगै
रक्स्याहाले भट्टी कुरेसरी
कुर्छु अनलाइन
हरेक दिनको एउटै सम्वाद
एउटै प्रसंग एउटै उत्तर
केवल अर्थहिन संवाद
खुकुलो परिभाषा
लाचार प्रस्तुति
खरानीको डोरीझै मित्रता
धमिरा लागेझै अति लचिलो
हावादरी विश्वास अनि मान्यता
के छ मिठस यहाँ?
के छ उपलब्धी यहाँ?
के हो उद्देश्य यसको?
अनि मेरो?
समयको पत्रदलबाट
चार वटा वसन्त पल्टाउछु
निराधार र तथ्यहीन पानाहरूले
खालि फुस्रो स्मरण दिलाउछ
स्वीकार्छु म ठिटलाग्दो अनुहारले
डेथभ्यालि जस्तो जिन्दगीबाट
दिक्क मानेर हिडिहरदा
विलाशिनताको नाममा भेट्टाएको मैले
यहीनै हो मेरो
फेसबुक चलाउनुको तात्पर्य
त्यसैले,
हिजो आज म
फेसबुक अघाएर
घाँटीसम्म ढ्याउ काढ्छु
रंग पोतिएको वस्तुजस्तै
बिचित्र पोतिएको अनुहारहरू
नक्कली रंग भरिएको
रंगिन तस्विरहरू
त्यसै-त्यसै नाकसम्म अमिलो आउँछ
तैपनि रक्सीको नसा जस्तै
फेसबुकको नसामा रम्न
अभ्यस्त भैसकेको मान्छे म
सिगरेटको धुवाँ लिएजस्तै
लिन मन लाग्छ
उठ्ने बित्तिकै
खाने बित्तिकै
पिउने बित्तिकै
तर,
हिजो आज म
फेसबुक अघाएर
घाँटीसम्म ढ्याउ काढ्छ
किनकि,
हिजोको चिट्ठीपत्र जस्तो
मीठो लाग्दैन फेसबुक एस.एम.एस
प्रियमित्र अनि प्रेमीको पत्र आउदा
हर्षित भएझैँ खुसी हुन्न इनबक्समा
दौतरीहरूसँग जुहारी गाएझैँ
मुटु छुन्न फेसबुक संबादले
शिरदेखि पाउसम्म ढाक्ने
साँहिलीको सुन्दरता जस्तो
फेसबुकमा मिनिष्कर्ट टाँस्ने
मैच्याङ्गको सुन्दरता लाग्दैन
मानवता र प्रेमभावले सजिएको चिट्ठी
महिनौ पछि आउदा………,
अर्थहिन धृष्टता मुछिएको फेसबुक रिप्लाई
एक घणटामा आउदा……..,
हिजो आज म
फेसबुक अघाएर
घाँटीसम्म ढ्याउ काढ्छु।

अनिश्चित यात्री
धनकुटा
(मलेसिया)

Leave a Reply

Your email address will not be published. Required fields are marked *