गन्तीका एकाईहरू
वर्षको अन्तिम घडीलाई
एक चक्कर लगाएर
पल्टियो एउटा इतिहासको पाना,
नियमबद्द जीवनको वृत
घुम्यो फेरि अण्डाकार भएर,
मानव बिवेकसँग प्रतिष्पर्धी समय
हिड्यो निरन्तर आफनै गतिमा
लक्षित आँकडाको एउटा खुड्कीलोमा
अनुभव र उपलब्धीको अमिट छाप छोडेर, उक्लियो अलि माथि
खस्यो बोटबाट एउटा पात
अस्तित्व र समाधिको अन्त्य गरेर
घुम्दै ऋतुले एक चक्कर
पूरा गर्यो अनि,
टेक्यो पाईला बषन्तले धर्तीमा
भर्दै शोभा प्रकृतिमा
हराभरा भो नियमबद्दता,
केहीक्षण उजाडिएको बोटको
वास्तविकतालाई ढाकछोप गर्दै
सुरू गर्यो ‘उमंग’ भनिने
एउटा नयाँ अध्याय
नयाँ भनिने सयौँ वर्षहरू
अभिलेख राख्दै इतिहासमा
कसम खायो फेरि
एउटा नयाँ सुरुवातको,
जीवन यात्राको दैनिकीहरूमा
अघि,हिजो, अस्ति र पोहोरहरू
‘बिगत’ भनिने विवश शब्दमा पछारेर
फुत्कियो समयको आखिरी सत्यतासँगै,
खडाभयो एउटा दुरी
फेरि कहिल्यै नभेट्ने हिजो र आज
अनि,
त्यही आज बनेर झुल्कियो नयाँ वर्ष
२०७०लाई बिदाइको हात हल्लाउदै
२०७१ सालको बश्त्र ओढेर
निख्लाम हुर्केका मानवजीवनलाई
चुनौतीको धावा बोल्दै
लक्ष्य, चाहना, र सपनाको
भारी बोकाउदै
थमाइदियो एउटा
प्रतिष्पर्धी नयाँ समय,
नयाँ युग, नयाँ जोसजाँगर!
नयाँ हर्ष र उमंग!
नयाँ चीत्कार र वेदना!
नयाँ वर्ष २०७१ साल।।
अनिश्चित यात्री कमल
प्रबास बाट
