दिंग्लाली कान्छो
यस्तो मिठो कुन रोग सारिदियौ तिमीले
यस्तो मिठो कुन रोग सारिदियौ तिमीले
माया फूल्ने बूट्टो खोज्दा घारिदियौ तिमीले
एक दुई गर्दा गर्दै सयौं फूल दिएर
अधकल्चो जिन्दगी नै खारिदियौ तिमीले
सुवासको महकले भरिएको पिरती
बोकीरहूँ जस्तो लाग्ने भारिदियौ तिमीले
हार जित जिन्दगीमा सिकाउंदै मलाई
जित्दा जित्दै खुशी पार्न हारिदियौ तिमीले
उकाली र ओरालीमा हांसी हांसी हिंडेर
जंघारमा सजिलै नै तारिदियौ तिमीले
तिम्रा आँखा बाट संधै झरेको म मान्छे
गजल
—– दिंग्लाली कान्छो
तिम्रा आँखा बाट संधै झरेको म मान्छे
पल-पल जिन्दगीमा मरेको म मान्छे
आफ्नो मुटु रित्तो पारि दिएको थें मैले
विधाताले सिङ्गै भाग्य हरेको म मान्छे
रुखबाट पात झरे सरह नै फाल्यौ
तिम्रो मन बाट अन्तै सरेको म मान्छे
सम्झुं बिर्सुं भन्दै आज पर्खनु भो खालि
अनगिन्ति दोधारमा परेको म मान्छे
कुनै दिन आफ्नो ठान्ने सपना त्यो बोकी
मुटु फोरी दोबाटोमा छरेको म मान्छे
के नै थियो हिँजो मन पराउनु किन
के नै थियो हिँजो मन पराउनु किन ?
हिंड भन्दा हिँजो चाहिं डराउनु किन ?
संधै भेट हुँदा कुनै मतलब छैन
सपनीमा झस्के पछि कराउनु किन ?
पराईको मन भित्र डेरा सरे पछि
पाप लाग्ला चोखो मन चराउनु किन ?
पर्खी बस्दा चौतारीमा आसै मरि गयो
एक्लै बसी कल्पनामा हराउनु किन ?
पछुतोमा बाँकी दिन बिताउनु पर्ला
डुली हिड्ने होडबाजी गराउनु किन ?
बिराटनगर – ४, नेपाल
मेरो देश राम्रो बनि देशवासी बाँच्नु पर्छ
गजल ( वर्तमान परिवेशलाई )
— दिंग्लाली कान्छो
मेरो देश राम्रो बनि देशवासी बाँच्नु पर्छ
सुख दु:ख सबै बाँडी हामी साथै नांच्नु पर्छ
घर रहे सबै जात अट्छ होला यसै भित्र
फोर्छु भन्ने लाई आजै हात खुट्टा भांच्नु पर्छ
छेपाराको रंग जस्तै बोलि संधै फेरिनेको
राष्ट्रीयता छ की छैन कसी घोटी जाँच्नु पर्छ
पराईको आँखा हाली आमा चुस्ने हरुलाई
एक दिन ठिक पार्न बल बुद्धि साँच्नु पर्छ
हल्लिएको भित्तो थाम टाल टुल पारिकन
मनै देखि आफ्नो भए सारा मिलि खांच्नु पर्छ
** [ खांच्नु = माया गर्नु , चुम्नु ]
— बिराटनगर – ४, नेपाल

हेर्दा हेर्दै तिम्रो यौवन दिन दिनै ह्रास भयो