नजरले जब एक चुस्को लगाएको थियो
खप्न नसकेर
मुटुको धड्कन बढ्न थाल्यो
रगत उम्लन थाल्यो
अङ्ग-अङ्ग रसाउन थाले ।
उसको नशालु नजरको प्याला
एकै पटक रित्याऊँ जस्तो लाग्थ्यो
फेरि शान्त र सौम्यभाव माथि
अप्रत्याशित हमला पनि पाप हो
आफू सम्यमित हुन प्रयत्न गरें ।
तर विवश
उसको यौवनले
यस्तो सुगन्ध छरिरहेको थियो
जसले मलाई हलुका स्पर्श गर्दै
उसलाई थाहै नदिई
मलाई चुनौती दिइरहेको थियो
बिस्तार -बिस्तार मलाई मात लाग्दै थियो ।
म तुलना गर्दै थिए ँ
अरु कुनै बिदेशी रक्सीको नशासँग
कहिल्यै यसरी लागेन मलाई
तर आज उसको उपस्थितिको वातावारण
अत्यन्तै असहनीय भएको छ
म आफैँभित्र हराउन थालेँ ।
समय बितेको थाहै भएन
वातावरण परिवर्तन भैसकेछ
एक्कासि अँध्यारो भएको भान भयो
लाग्थ्यो उसलाई मबाट
कसैले टाढा लान खोज्दैछ ।
म उठेर भित्र पसें
झ्यालहरू लगाएर फेरि आँगन मै आएँ
बेस्सरी हुरी आइरहेको थियो
म सकी नसकी उसैलाई हेर्दै थिएँ
उसलाई कसैले मेरो
सामुन्नेमा बलात्कार गर्दै थियो
लछार पछार पार्दै थियो
लाग्थ्यो ऊ मसँग गुहार माग्दै थिई
म विवश हेरेको हेरेकै थिएँ ।
उसको कलिलो यौवन माथि
यसरी सांघातिक हमला भयो
ऊ स्वतः लडी / लडाईयो
म मन मनै ऊसँग क्षमा माग्दै थिएँ ….
उसको आजै मात्र फक्रिएको यौवन
केही क्षण बिताउन नपाउँदै
मेरो सामुन्ने यसरी हराएर गयो
मानौं कुनै अपहरणकारीले जस्तै
निर्दयी बतासले उसलाई बिलिन गरायो
मात्र मलाई संस्मरण गराएर
मेरी मायालु / मेरी प्रेयशी
मेरो आँगनमा फुलेकी
कोमल सुकुमारी गुलाफ
मेरै उपस्थितिमा
यसरी नस्ट भै
मलाई सपना जस्तै गराएर ।
बिराटनगर – ४ , मोरंग ( नेपाल )
