Skip to content

मुकुन्द पौडेल

कुर्सीकै खेल गर्ने भए

कुर्सीकै खेल गर्ने भए नआऊ नेता भोट माग्न
संबिधान त्यसै टर्ने भए नआऊ नेता भोट माग्न

लुट्नु लुट्यौ ढुकुटी खोक्रो पारी देशलाई
आफ्नै खल्ति भर्ने भए नआऊ नेता भोट माग्न

न्यायाधिसको पदवी भिरी शक्ति केन्द्र नडूल

न्यायाधिसको पदवी भिरी शक्ति केन्द्र नडूल
न्यायको आखाँ छोपी अन्त कतै नभूल

च्यातिदेऊ मैलिएको राजनीतिको जामा अब
आस्था भए मनमै राख बाहिर कतै नखूल

नमेटाऊ अदालतका मान्यता र अस्तित्वलाइ
स्वतन्त्रभै रहन देउ हस्तक्षेप नहूल

न्याय जोख्ने तराजुको डन्डी कमजोर बनाएर
अवसरबादको घाम ताप्दै लठ्ठिएर नझूल

सर्ब सुलभ निसाफ दिई जोगाइ राख गरिमा
प्रलोभनमा नपरी जनबिश्वास बटूल

MukundaPoudel

अरुलाई के दियौ आफैले कमायौ

अरुलाई के दियौ आफैले कमायौ
निमुखा जनतालाई झुटा सपना थमायौ

देशको सेवा होइन पेसा ठान्यौ राजनीतिलाई
सबै बिर्सी सत्ताको गुलियो मै रमायौ

हजार कोशिश गर तिमी फर्किदैन राजतन्त्र

हजार कोशिश गर तिमी फर्किदैन राजतन्त्र
सयौँ सागर तर तिमी फर्किदैन राजतन्त्र

धार्मिक भ्रमण भन्दै सुरु भो राजनिति
जति भ्रम छर तिमी फर्किदैन राजतन्त्र

पुज्दै हिड्छौ देव देवि ढोग्दै हिड्छौ मन्दिर
जहाँ शरण पर तिमी फर्किदैन राजतन्त्र

फुक्लि सक्यो श्रीपेच भत्किसक्यो बिरासत
लाखौ घडा भर तिमी फर्किदैन राजतन्त्र

कहिले धनगदी,भैरहवा त कहिले सिमरा
जतासुकै झर तिमी फर्किदैन राजतन्त्र

दमनको अभ्यास थाल्न नखोज

दमनको अभ्यास थाल्न नखोज
महिलाको आवाज गाल्न नखोज

पुरा गर माग घरबार बिहीन कमलरीहरूको
लाठी र बुटले ढाल्न नखोज

दमनको प्रतिरोध गर्न अभ्यस्त छन् जनता
मुर्खतापूर्ण कदम चाल्न नखोज

गरिबको दुख,कष्ट पीर देख्दा दुख्यो मन

गरिबको दुख,कष्ट पीर देख्दा दुख्यो मन
भोको अनि नाङ्गो त्यो शरीर देख्दा दुख्यो मन

भारी बोक्दै उकाली चढ्नु पर्ने दिन भरि
चर्को घाममा अग्लो त्यो भीर देख्दा दुख्यो मन

सहनु पर्ने साहुको हप्कि ॠणको भाखा ननाघ्दै
अभाबले निहुरिएको शीर देख्दा दुख्यो मन

हली बसी भकारी भर्नु पर्छ अर्कैको
छाक टार्न नपुग्ने जागीर देख्दा दुख्यो मन

क को अक्षर नचिनी बित्ने भो जिन्दगी
भाग्यले ठगेको तक्दीर देख्दा दुख्यो मन

सहिदको रगत अझै सुकेको कहाँ छ र?

सहिदको रगत अझै सुकेको कहाँ छ र?
बलिदानी झन्डा हाम्रो झुकेको कहाँ छ र

बाटो केहि बदलियो लक्ष्य सम्म पुग्नलाइ
क्रान्तिको यात्रा हाम्रो रुकेको कहाँ छ र

ढल्न अझै बाँकी छन् जनताका दुश्मनहरु
लाएपछि निसाना चुकेको कहाँ छ र

गणतन्त्रको खोल ओढी चोखिन खोजेपनि
सामन्तका अपराधहरु लुकेको कहाँ छ र

रक्सी उहि पुरानै छ बोतल मात्र नयाँ
हिजोका बन्धनहरु फुकेको कहाँ छ र

जिन्दगीको रथ जसो तसो चल्छ साथी

जिन्दगीको रथ जसो तसो चल्छ साथी
थाहा हुन्न कुन मोडमा कहाँ पुगी ढल्छ साथी

असल बनी बाँच्न सिकौ फेरि कहाँ मिल्छ जीवन
अजम्बरी कोही छैन एक दिन चिता जल्छ साथी

अरुलाई रुवाइ रुवाइ कालो धन जोडेपनि
मर्दा खेरि साथमा बोकी लान कहाँ मिल्छ साथी

सधैभरी तिम्रो मुहार हँसाउनेछु आमा

सधैभरी तिम्रो मुहार हँसाउनेछु आमा
हृदयमा सेवाभाव पसाउनेछु आमा

बिर्सिएको छैन दुधको भारा तिर्न बाँकी छ
सानो आफ्नै घर बनाइ बसाउनेछु आमा

आफु नखाइ सन्ततीलाइ खुवाएको सम्झी सम्झी
तिम्रा सबै दुख पीर खसाउनेछु आमा

चिफ्लने छैन कहिल्यै कर्तब्यको पथबाट
तिम्रो त्यो आदर्सलाइ सजाउनेछु आमा

बुढेसकालमा बेसाहरा हुन दिने छैन तिमीलाइ
मनमा कुनै संका भए हटाउनेछु आमा

स्वदेशमै जीविका गरेकैमा खुसी छु

स्वदेशमै जीविका गरेकैमा खुसी छु
सुख दुख दुबै छाक टरेकैमा खुसी छु

कमाउने रहर कसलाई पो हुन्न र?
मेहनत गरी घरमा मानो भरेकैमा खुसी छु

बाध्यताले बिदेसिने दाजुभाइको पीडा सुन्दा
परेदेशतिर जाने इच्छा मरेकैमा खुसी छु

दुनियालाई झुक्याउन शिवनाम जप्दैछौ

दुनियालाई झुक्याउन शिवनाम जप्दैछौ
धर्मको आडमा आखिर धनसम्पत्ति थप्दैछौ

गरिबलाई ठगी हिंड्छौ मुखले भन्छौ बमबम
पैसाको लोभमा परी आफ्नो इमान सक्दैछौ

गाँजा अफिम भाङ् धतुरो शिवजीको बुटी भन्दै
जानी जानी नशाको कुलतमा फँस्दैछौ

महिला अधिकारको खोजीमा जाग्दैछन् देशका नारीहरू

महिला अधिकारको खोजीमा जाग्दैछन् देशका नारीहरू
दासताका अग्ला पर्खालहरू नाघ्दैछन् देशका नारीहरू

परम्परागत चुलोचौकाको घेराबाट माथि उठेर
राष्ट्रनिर्माणको अभियानमा लाग्दैछन् देशका नारीहरू

संबिधान निर्माणमा आफ्नो भूमिकाको खोजी गर्दै
झुपडीदेखि सिंहदरबार ताक्दैछन् देशका नारीहरू

अबिश्वासको फोका फुट्न अझै सकेन

अबिश्वासको फोका फुट्न अझै सकेन
दलहरू बिच सहमति जुट्न अझै सकेन

सत्ता पाए सबै ठिक नत्र आन्दोलन
नेताहरूको कुर्सी मोह छुट्न अझै सकेन

हत्या हिंसा बलत्कारले आक्रान्त भो देश
अपराधका श्रीङ्खला टुट्न अझै सकेन

महंगीले जहान परिवार पाल्न गार्हो भयो

महंगीले जहान परिवार पाल्न गार्हो भयो
बर्षौ देखि चुहिने छानो टाल्न गार्हो भयो

कमाइले धान्न छोड्यो के गरी जिउने खै?
साँझ बिहान घरमा चुलो बाल्न गार्हो भयो

सधै एउटै लाउनु पर्ने विवशतामा परेपछि
चाडपर्वमा एकजोर नयाँ हाल्न गार्हो भयो

बेरोजगार बन्नु पर्दा काम खोज्दै हिंडे म

बेरोजगार बन्नु पर्दा काम खोज्दै हिंडे म
खान नपाई भोकै पर्दा माम खोज्दै हिंडे म

धन सम्पत्ति सबै चिज रहेछ संसारमा
घरको चुलो नबल्दा दाम खोज्दै हिंडे म

अनयास परिचय बदलियो गरिबीले
एकाएक मेटिएको नाम खोज्दै हिंडे म

माया भन्ने चिजै कस्तो भित्र भित्रै लुक्दो रैछ

माया भन्ने चिजै कस्तो भित्र भित्रै लुक्दो रैछ
आफ्नोसँग बिछोडहुँदा भक्कानो नैं फुट्दो रैछ

सम्झनाले सताएर मनको बाँध फुटेपछि
रुँदा रुँदा आँसुपनि रित्तिएर सुक्दो रैछ

बाध्यतामा गाउँघर छोडी बिदेशतिर आउनु पर्दा
आफ्नै देशको धर्ती सम्झी मुटु सार्है दुख्दो रैछ

यो तिहारमा आउन पाइन नरुनु है दिदी

यो तिहारमा आउन पाइन नरुनु है दिदी
भाइलाई सम्झी धेरै दुखी नहुनु है दिदी

परदेशीको जीवन न हो के हुन्थ्यो र सोचे जस्तो
परिस्थिति यस्तै भनी सहनु है दिदी

फुले होलान् आँगनभरि सयपत्री मखमली
बोटमै फुलिरहन दिनु नछुनु है दिदी

मुखले मात्र नारी पुरुष बराबर भन्ने गर्छन्

मुखले मात्र नारी पुरुष बराबर भन्ने गर्छन्
महिला अघि बढ्दा पुरुष तगारो बन्ने गर्छन्

आफ्नो हैकम लाद्न खोज्छन् पुरुषहरू सधै
जीवनभर श्रीमतीलाई घरकी दासी ठान्ने गर्छन्

बिभेद खप्न बाध्य छन् गाउँघरतिर दिदी बहिनी
आफ्नो हक खोज्दा उल्टै खुट्टा मात्र तान्ने गर्छन्

सहिदको बलिदानको उपहास नहोस्

सहिदको बलिदानको उपहास नहोस्
आन्दोलनको उपलब्धि जुवातास नहोस्

गरिब-धनी बीचको खाडल गहिरिंदै छ अझै
समानताको नारा केबल बकबास नहोस्

थामिएनन् असहायका आंखाबाट बग्न आंसु
बिपन्नलाइ भोको नाङ्गो आभास नहोस्

आधुनिकताको नाउँमा भित्रिंदैछ छाडापन
आफ्नै रीति संस्कृतिको बिनास नहोस्

जनताको अभिभावक बन्नु पर्छ सरकार
केहि गर्न नसक्ने जिउँदो लास नहोस्