जिन्दगीको रथ जसो तसो चल्छ साथी
थाहा हुन्न कुन मोडमा कहाँ पुगी ढल्छ साथी
असल बनी बाँच्न सिकौ फेरि कहाँ मिल्छ जीवन
अजम्बरी कोही छैन एक दिन चिता जल्छ साथी
अरुलाई रुवाइ रुवाइ कालो धन जोडेपनि
मर्दा खेरि साथमा बोकी लान कहाँ मिल्छ साथी
मान्छे महान बन्न सक्छ सही बिचार बोकी हिँडे
भौतिक शरिर गल्छ तर बिचार कहाँ गल्छ साथी
जीवनको यो सुन्दर हरियाली बगैँचामा
मेहनत गरी गोडमेल गरे धेरै कुरा फल्छ साथी
