Skip to content

मुकुन्द पौडेल

जिन्दगी

चल्न त सुख दुःख जसोतसो चल्छ जिन्दगी
कसलाई पो के थाहा कहाँनेर ढल्छ जिन्दगी

थुपार्नमै तछाड मछाड यति धेरै लोभ किन?
अजम्बरी को छ आखिर खरानी भै जल्छ जिन्दगी

मजदुर

मजदुरहरू सीमानामा फसेको देखेनौ र
आँखाबाट बलिन्द्र धारा खसेको देखेनौ र?

काम धन्दा गुम्यो सबै छाक टार्ने केले
भोकभोकै पटुका कसेको देखेनौ र?

कोरोना

लासको थुप्रो टेक्दै विश्व सएर कति गर्छस कोरोना ?
फूलै फूलको बगैंचामा विष कति छर्छस् कोरोना ?

एसियाबाट युरोप हुँदै पुगिसकिस् अमेरिका पनि
लागे हुन्छ आफ्नै बाटो पिछा कति पर्छस् कोरोना

अपहरण बलात्कार

अपहरण बलात्कार रोक्नु पर्यो सरकार
अपराधीलाई कडा सँजाय तोक्नु पर्यो सरकार

न त चेली सुरक्षित छन् न त साना बालक
सुरक्षाको सबै जिम्मा बोक्नु पर्यो सरकार

अशान्तिमा देश कहिल्यै लम्किदैन विकास तिर
ह्त्या हिंसा मच्चाउनेलाई ठोक्नु पर्यो सरकार

जितेपछि जनतालाई भुल्ने बानी सबैको
चुनावको बाचा कबुल घोक्नु पर्यो सरकार

स्वास्थ्य शिक्षा निशुल्क बन्नु पर्छ अव
समाजबादको विरुवा रोप्नु पर्यो सरकार

पैसामा कहिल्यै बिकिन त्यसैले मन पराएनन्

पैसामा कहिल्यै बिकिन त्यसैले मन पराएनन्
जालझेलमा कहिल्यै टिकिन त्यसैले मन पराएनन्

सधैं अघि बढिरहें परिवर्तनको निम्ति केवल
बखेडा कहिल्यै झिकिन त्यसैले मन पराएनन्

बाढीमा डुबेको छ तराईका सारा गाउँ

बाढीमा डुबेको छ तराईका सारा गाउँ
जोगिन सक्ने पनि कहाँ छ र ठाउँ?

कतै मान्छे डुबेका छन् कतै छन् भोकभोकै
छिया छिया हुन्छ मुटु कसरी म सुनाऊँ

न्यायको उज्यालो आफैंले छेक्यौ कि?

न्यायको उज्यालो आफैंले छेक्यौ कि?
कसैको दबाबमा निर्णय लेख्यौ कि?

छुट्टयाउने अधिकार तिमीलाई मात्र छ
गलत कुरालाई सही पो देख्यौ कि?

क्रान्तिको रातो झण्डा

क्रान्तिको रातो झण्डा झुक्न दिएनौ शहिद तिमीले
जनयुद्धको महान् यात्रा रुक्न दिएनौ शहिद तिमीले

अदम्य आँट र साहस बोकी वीरताको इतिहास रच्दै
दुष्मनहरु प्रतिको निशाना चुक्न दिएनौ शहिद तिमीले

डग्मगाएन आस्था तिम्रो कठोर यातना सहँदा पनि
क्रान्ति प्रतिको समर्पण र निष्ठा टुट्न दिएनौ शहिद तिमीले

ठूला ठूला युद्ध जित्दै अघि बढ्यौ निरन्तर
सर्बहारा बर्गको मन कहिल्यै दुख्न दिएनौ शहिद तिमीले

हाँसी हाँसी मृत्यु रोज्यौ फर्काएनौ पिठ कहिल्यै
आँफू भित्र कुनै स्वार्थ लुक्न दिएनौ शहिद तिमीले

सलाम शहिद तिमीलाई

धर्तीमा अमूल्य रगत बगायौ सलाम शहिद तिमीलाई
मुक्तिको निम्ति जीवनकै बाजी लगायौ सलाम शहिद तिमीलाई

वर्षौ वर्षदेखिको निरङकुसताको बिरासतलाई भत्काउँदै
बादशाहलाई सिंहासनबाट भगायौ सलाम शहिद तिमीलाई

अमानविय नाकाबन्दी हटाइहाल मोदीजी

अमानविय नाकाबन्दी हटाइहाल मोदीजी
नाका खोल्न तिम्रा दूत खटाइहाल मोदीजी

दम्भको घोडा चढी बनिंदैन महाशक्ति
मनभित्रको अभिमान घटाइहाल मोदीजी

छिमेकीको घाँटी रेट्ने कस्तो तिम्रो ऋषिमन
इन्धनका गाडीहरु पठाइहाल मोदीजी

अरुको स्वाधिनतामा धावा बोल्न खोज्छौ कति
बिस्तारबादका नङ्ग्राहरु कटाइहाल मोदीजी

आफ्नै कारण संसारभर बदनाम हुँदै गयौ तिमी
आखिर गल्ति तिम्रै हो सच्च्याइहाल मोदीजी

झुक्दैनन् नेपाली कसैसँग

झुक्दैनन् नेपाली कसैसँग झुकाउने कोशिस नगर
समुद्रका अबिरल छाल हुन् सुकाउने कोशिस नगर

नाकाबन्दी गर्यौ किन गल्ती हाम्रो छैन कुनै
एउटा असल छिमेकीलाई दु:खाउने कोशिस नगर

अमरसिंह,भक्ति थापा वीरहरूका संतान हामी
हिमाल जस्तै अटल छौं नुघाउने कोशिस नगर

हामीलाइ हाम्रो आफ्नै मौलिक पहिचान चाहिन्छ

हामीलाई हाम्रो आफ्नै मौलिक पहिचान चाहिन्छ
पहिचान अनि संघीयता सहितको जनसंविधान चाहिन्छ

कति गर्छौ छि:छि: दूर दुर सहन्नौँ हेपाइ अब
पोडे मुसहर सबैलाई आत्मसम्मान चाहिन्छ

हर्केको गाउँमा तिहारको खुसी आएन यसपाली

हर्केको गाउँमा तिहारको खुसी आएन यसपाली
पोहर झैँ मनमा उमङ्ग हर्ष छाएन यसपाली

सुन्दर त्यो गाउँ छिनभरको भेलले बनायो बगर झैँ
डुबायो जमिन कसैले खेति लाएन यसपाली

बाढीले बग्यो बास कसरी मान्ने दशैँ

बाढीले बग्यो बास कसरी मान्ने दशैँ
साझ बिहानको छैन गाँस कसरी मान्ने दशैँ

भत्किए घरहरू बगे कयौं मान्छेहरू
थुप्रियो गाउँमा लास कसरी मान्ने दशैँ

देशै भरि शोक मग्न खबर चल्यो आज

देशै भरि शोक मग्न खबर चल्यो आज
क्रान्तिको अथक योद्धा भुइमा ढल्यो आज

प्रकृतिको नियम हो रोक्न कहाँ सकिन्छ र?
केहि गर्छु भन्दा भन्दै उसको चिता बल्यो आज

क्रान्तिको अटल आस्था अनि बिचार यहीँ छोडी
हेर्दा हेर्दै भैतिक शरीर खरानी भै जल्यो आज

थाकेन त्यो बुढो शरिर क्रान्तिको यात्रा भरि
तर ऊ लड्दा लड्दै कालसंग गल्यो आज

गुमाउनु पर्यो देशले महान् त्यो आदर्शलाइ
रसाए सबका आँखा ठूलो दु:ख पर्यो आज

आफ्नै देशमा पसिना बगाउनु पर्छ युवा

आफ्नै देशमा पसिना बगाउनु पर्छ युवा
जोश जाँगर यही माटोमा लगाउनु पर्छ युवा

श्रम सीप बिदेशतिर खर्चिने हो कहिलेसम्म
स्वदेशमै विकास अभियान चलाउनु पर्छ युवा

यात्रा अझै लामो छ नथाक्नु है साथी

यात्रा अँझै लामो छ नथाक्नु है साथी
बाटो बिराई अन्तै यात्रा नथाल्नु है साथी

बाधा अड्चन् आउन सक्छ गन्तब्यमा बढ्दै जाँदा
निराश बनी क्रान्तिबाट नभाग्नु है साथी

गरिबहरु झन् गरिब भएर बाँच्नुपर्ने

गरिबहरु झन् गरिब भएर बाँच्नुपर्ने
अभाब र पीडा भित्र रहेर बाँच्नुपर्ने

पसिनाको मूल्य जति लुट्दैछ अर्कैले
सधै साहुको मेलामा गएर बाँच्नुपर्ने

कानून छैन ठूलालाइ रोकिएन थिचोमिचो
अन्याय र अत्याचार सहेर बाँच्नुपर्ने

गार्हो छ चुलो बल्न हाडछाला घोटेपनि
साँझ बिहान आधापेट खाएर बाँच्नुपर्ने

बिपत पर्दा साथ दिने भेटिदैंनन् कोहि पनि
मनभित्र कुण्ठा बोकी रोएर बाँच्नुपर्ने

जति बजेट आए पनि गरिबको हाल उस्तै

जति बजेट आए पनि गरिबको हाल उस्तै
घरमा छैन अन्न गेडो सधै अनिकाल उस्तै

राहत माग्दा थाकिसके दार्चुलाका बाढीपिडित
जुन सरकार आएपनि झुक्क्याउने चाल उस्तै