अल्पबिराम पोखरेली
तीन मुक्तक (दशैं विशेष)
माग्नेको गुन्द्री जत्रो देशमा चाड पर्वको ताँती छ
महँगी र अभाव सगरमाथाभन्दा धेरै माथि छ
सधैंको मिष्ठान्न भोजन छ हुने खानेहरूलाई
हुँदा खानेहरूलाई दशैं तिहार नाअएकै जाति छ
सामन्ती राज्यमा न्यायको लागि मतदान हुँदैन
युद्धमा हार्ने हरूवाहरूको कुनै इतिहास हुँदैन
हाम्रा अमूल्य निधि हुन् संस्कार र संस्कृतिहरू
यी दुवै नहुने बुङ्गाहरूको कुनै पहिचान हुँदैन
तीन मुक्तक (जिन्दगी)
जन्म लिएपछि जिन्दगी नदी जसरी नि तर्ने पर्छ
बाँच्नको लागि यो पापी पेट जसरी नि भर्ने पर्छ
साश्वत सत्य यो धर्तीमा कोही छैनन् अजर अमर
मृत्यु पत्रमा ल्याप्चे ठोकेर आएका छौं जसरी नि मर्नेपर्छ
रात र दिनको मिलन बिन्दु साँझ रहेछ जिन्दगी
हर्ष र बिश्मातको दोसाँध रहेछ जिन्दगी
यो जिन्दगीको कुनै भरोसा छैन
कुनै पनि बेला फुट्न सक्ने कच्ची बाँध रहेछ जिन्दगी
तीन मुक्तक (धर्मको अफिम)
धर्मको अफिम मान्छेहरूले सर्बत झैं पिएका छन्
जातीय युद्धले मान्छेहरू लुगा झैं च्यातिएका छन्
ए ! मानव अधिकारको नगरा बजाउने अभिनेताहरू
२१ सौं शताब्दीका मान्छेहरू कागती झैं च्यापिएका छन् ।
पानी पर्छ भनेको दिन झलमल्ल घाम लाग्छ
फलिफाप हुन्छ भनेको दिन दुर्दशाको लाम लाग्छ
यो कस्तो उल्टो भबिष्य वाणी हो ज्योतिष बाजे
तर चिन्ता छैन उल्ट्याएर बुझ्दा काम लाग्छ ।
जुङ्गाको लडाइँ (व्यंग्य लघुकथा)
माघे सक्रान्तिको विहान । मासुको भाग लाउँदै गरेको नेप्टे साहिंलोको आगनमा मासु लिनेहरूको भीड थियो । सेवा निवृत्त जुङ्गे हवल्दार पनि मासु लिन टुप्लुक्क आइपुग्यो र आफ्नो खुंडाकट् जुङ्गा बटार्दै रवाफदार स्वरमा भन्यो,“ए नेप्टे १ जुङ्गा हेरेर भाग लगा ।”
नेप्टेले आदर पूर्वक भन्यो, “हुन्छ, हवल्दार बा ।”
“हुँदैन ! नेप्टे दाइ, हुँदैन । मान्छेको टाउको हेरी भाग लगाऊ ।” नेप्टेको बोली भुईमा खस्न नभ्याउँदै भीड मध्येवाट एउटी महिलाको कर्कश स्वर घन्कियो ।
