अल्पबिराम पोखरेली
युग ब्यूँझेको सन्देश
प्रात तथा सन्ध्या भ्रमण प्रेमीहरूको लागि मात्र नभएर प्रेमी युगल जोडीको पनि तीर्थस्थल लभ्लीडाँडा आज झरी पछिको मनमोहक गोधुलि साँझ बनेको छ । लभ्लीडाँडा पोखरा नजिकैको थुम्को डाँडो चढेर पैदल भ्रमणको साथै व्यायामको मजा आफ्नो ठाउँमा छुट्टै छ । थुम्कोबाट देखिने पोखराको रमणिय दृश्य अवलोकनको मजा छुट्टै । भ्रमण प्रेमीहरू कोही थुम्को र फेदीको म्याराथन दौड गरिरहेकाछन त कोही मन माफीकको व्यायाममा । युगल जोडीहरू भने एकान्तमा गफिरहेका छन् । ती युगल जोडीहरूमा अनुपम बिक र अनुपमा परियारको जोडी पनि छ । तिनीहरू चिलाउने रुखको फेदीमा वार्तालापमा मग्न छन् ।
तेस्रो पुस्ता
सिडनी बिमानस्थलको अध्यागमन कक्षबाट बाहिरिए पछि छोरा क्षितिज, पाँच वर्षिया नातिनी सोफिया र अलौकिक लोकबाट करिब डेढ महिनापछि धर्तीमा आउन ठिक्क परेकी नातिनीसँगैकी बुहारी अलोना मेरो स्वागतमा उभिएको देखें । जुलाई महिनाको चीसो बतास मुटु कमाउने जाडो भए पनि साढे छ वर्षको लामो अन्तरालपछि तीन पुस्ता बीचको मिलनले न्यानोपन दिइरहेको थियो ।
फोटोमा देखे पनि आफ्नो तेस्रो पुस्तासंगको पहिलो साक्षात्कारलाई मेरो मनले थाम्न सकेन र नातिनीलाई काखमा लिन खोजें, मानिन । उसकी आमाले “अजी (हजुर आमा) हो नि ! तिम्रो ड्याडीको मम्मी, योर ग्रान्ड-मदर” भनेर परिचय दिएर फकाए पछि बल्लतल्ल मानी ।
इडा
“ओम भुर्भुर्वस्व,तत्स वितुर्वरण्य म, भर्गो देवस्थ धिमही, धियो योन प्रचोदयात” मेरो मोबाइलको घण्टी बज्यो ।
पूर्व कालमा स्त्री जाति र अछुत जातिले सस्वर उच्चारण गर्नु त परै जावस् सुन्दा पनि अपराध हुने ऋग वेदको यही गायत्री मन्त्र समयको परिवर्तनसँगै अन्ध परम्पराको घाँटी च्वाट्टै छिनालेर श्रुति मधुर स्वरकि धनी अनुराधा पौडवालले गायकी हुनाले यो संगीतको धुन मलाई असाध्य मन पर्छ । यही धुन मेरो मोबाइलको कलिङ्ग टोनमा राखेकी छु । बेलुकीको खानाको लागि तरकारी केलाउँदै थिएँ मेरो मोबाइलको घण्टी बजे पनि हतपत रिसिभ गर्न सकिन र धुन बज्न छोड्यो ।केही बेर पछि त्यही धुन फेरि बज्यो मैले मोबाइल उठाएँ र नम्बर हेरें लोकल थियो तर सेभ नगरिएको हुनाले अल्मलिदै हेल्लो भनें उता इडा रै’छे ।
तीन मुक्तक (जो पनि क्रुद्ध देखिन्छ)
मुक्तक थुङ्गा एक
जो पनि क्रुध्द देखिन्छ आजभोलि
शान्ति अबरुध्द देखिन्छ आजभोलि
मानवता बिरुध्द धर्म लागेपछि
बुध्दहरूकै युद्ध देखिन्छ आजभोलि ।
थुङ्गा दुई
पूर्णिमाको जूनमा बयेली खेल्ने ताल हुँ म
चानेचुने नसम्झ कालको पनि महाकाल हुँ म
सुनामी हुदहुद वा निलोफ़र जे नाम दिन्छौ देऊ
मान्द्रो बेरिए झैं बेरिएर आउने छाल हुँ म ।
तीन मुक्तक (थकित पीडित मन)
एक
थकित पीडित मनसँगै तिमी कतारमा छयौ होला
टुहुरो भाइ बिर्सेर मालिक रिझाउने हतारमा छयौ होला
नेपाली आफूलाई भाग्यमानी ठान्छन् साच्चै हो र दिदी
भाइभगिनी प्रेमोत्सबको दिन तिमी आँसुको तिहारमा छयौ होला ।
दुई
आशाको दियो बालेर भबिष्य चियाइरहेछु
पिउने पानी छैन आफ्नै पसिनाले नुहाइरहेछु
यो अमूल्य पसिना आफ्नै खेतबारीमा चुहाउनु पर्नेथ्यो
बिडम्बना मलेसियाको जङ्गलमा चुहाइरहेछु ।
तीन मुक्तक (आमा र नेताहरू)
१) आमा र नेताहरू
कति बाठी छिन् हाम्री आमा मोतीसँग रुद्राक्ष साट्नुहुन्छ
परत्र सपार्न वरत्रमा आफैलाई ढाँट्नुहुन्छ
हाम्रा त्रिकालदर्शी नेताहरूको त झन् कुरै नगरौं
बिपक्षीले उछिन्लान् भनेर आफ्नो कुरा आफै काट्नुहुन्छ ।
२) मृत्यु दान
समस्या ग्रस्तहरूलाई समाधान जीवन साकार बन्ने थियो
अबोध दोषीहरूलाई क्षमा दान दिए सदाचार बन्ने थियो
नर्क तुल्य पीडा बोकेर मुर्दा जीवन बाँचिरहेकाहरूलाई
कुनै अर्थ छैन तुला दान बरु मृत्युदान उपकार बन्ने थियो ।
दशैंको महत्व
दशैंको महत्वबारे चर्चा गर्नु पूर्व आजका बालबालिका र किशोर किशोरीहरूको मनोविज्ञानको बारेमा थोरै चर्चा गर्नु सान्दर्भिक होला । हाम्रो हिन्दू संस्कृतिमा भएका चाडपर्व रीतिरिवाज आदिमा सुन्दै हाँसो लाग्ने अलौकिक वा जादुगरी कथा किम्बदन्ती जोडिएर आएका छन् । वेद पूराण र किम्बदन्ति कथाहरू लोक साहित्य हुन् । साहित्यका विम्ब र प्रतीकले व्यक्त गर्न खोजेको कुरा नबुझेर पुर्खाले मान्दै आएको परम्परा भन्दै हामीले मान्दै आयौं तर आजका बालबालिका र किशोर किशोरीहरू त्यो मान्ने वाला छैनन् । किनभने यो साइबर युग हो कुनै कर्मकाण्ड गर्नुको पछाडि त्यसको बैज्ञानिक सत्यतथ्य बुझ्न चाहने जिज्ञाशू रहेको हामीले पाउन थालेका छौं । अत: हाम्रो संस्कृति र रीतिरिवाजको बैज्ञानिक पक्ष उनीहरूलाई बुझाउन सकेनौ भने उनीहरूले त्यो मान्नेवाला छैनन् फलस्वरूप हाम्रो धर्म संस्कृति र रीतिरिवाजको बारे बैज्ञानिक सत्य तथ्य खोज्नु अति आवश्यक भइसकेको छ । प्रस्तुत लेख त्यसैको एउटा झिनो प्रयास हो ।
पाँच मुक्तक (दशैं र आमा)
कल्पनामा बुहारीको रुप हेरी, कति फन्को नाच्यौ होला
लगनको तिथि पर्व गनी गनी, कति औंला भाँच्यौ होला
तिमीलाई केही थाहा छैन आमा ! कुन सङ्कटमा परेको छु
दशैंमा छोरो आउने ऋण तिर्ने, कति सपना साँच्यौ होला ।
बन्धकीको बेंसीखेत, साहुले आफ्नै नाममा सार्यो होला
गरिबको को हुन्छ र आफन्त, बिचल्लीमा पार्यो होला
माफ गर है मेरी आमा ! अप्ठ्यारोमा परें यो अभागी
परदेशी छोरालाई सम्झी सम्झी, कति आँसु झार्यौ होला ।
आश हराएको जिन्दगी
ब्यस्त सृजना चोक, पीच सडकको बिचैमा उत्तानो पल्टेको अवस्थामा एउटा रगताम्य लास परेको छ, लास हेर्नेहरूको भीड छ । जिउँदोलाई लासमा परिणत गर्ने लासको छेऊमा ज्यानमारा माइक्रो बस पनि रोकिएको अवस्थामा छ । प्रहरी आफ्नो कर्तव्य पुरा गर्ने कार्यमा तल्लिन छ । अन्दाजी ४७/४८ वर्षको लाग्ने लासको अँझै पनि सनाखत हुन सकेको छैन ।
“कसैको जिन्दगीमा त परिस्थिति पनि आततायी भएर आउँदो रच । नालायक कुलाङ्घार जे भए पनि आमाको लागि छोराको माया अतुलनीय हुँदो रच । छोराको बिछोडमा यो मृतक महिला बहुलाही भएको हुनुपर्छ,” भीडमध्येबाट कसैले भन्यो ।
दुई मुक्तक (मान्छे पिच्छे नाउँ फरक)
मान्छे पिच्छे नाउँ फरक फरक हुन्छन्
मान्छे पिच्छे घाउ फरक फरक हुन्छन्
कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुध्दि
मान्छे पिच्छे दाउ फरक फरक हुन्छन् ।
पैसाको लागि जस्तो सुकै खतरा मोल्छन् मान्छेहरू
ईज्जत र बिचारभन्दा पैसामा तौल्छन् मान्छेहरू
यो दुनियाँमा सबैभन्दा महान पैसा रहेछ कि
देवी देवता साक्षी राखेरै झुठो बोल्छन् मान्छेहरू ।
हिन्दू महिला स्वतन्त्रता दिवश हो तीज
वर्ष दिनभरि चुल्हा चौका, घाँस दाउरा, मेला पात अर्म पर्म, पानी पँधेरोको बुहार्तन सहेर बस्नु पर्ने हिन्दू नारीहरूलाई तीजको तीन दिन आफ्ना सारा कुण्ठाहरू बिर्सेर नाच गाऊ खाऊ मनोरन्जन गर भनेर पुरुषहरूले दिएको स्वतन्त्रता हो, तीज ।
३६५ दिन नै काममा जोतिएको जोतिएइ हुनु पर्दा त्यसबाट उत्पन्न हुने कुण्ठाले देवी दुर्गा कालीको रुप धारण गरेर हिन्दू नारीहरूले पुरुषवर्गको अहित गर्छ कि भन्ने भयले पौराणिक कालमा (३००० देखि २५०० वर्ष पूर्व) वर्षमा तीन-चार दिन तीजको नाममा नारी स्वतन्त्रता दिएको हुनसक्छ ।
तीन मुक्तक (छरिएका मनहरू सँगाल्नु पर्छ)
छरिएका मनहरू सँगाल्नु पर्छ अब देशका लागि
चिसिएको रगत उमाल्नु पर्छ अब देशका लागि
जातीय झण्डा थान्को लगाऊँ कतै एक कुनामा
राष्ट्रिय झण्डा उचाल्नु पर्छ अब देशका लागि ।
बाँसुरीको सुरिलो धुनले हृदय झङ्कार हुन सक्छ
धन पद र रुपमा असीमित अहङ्कार हुन सक्छ
कसैले जात भात र छुवाछुतको वकालत गर्छ भने
उसबाट मानवता माथि अत्याचार हुन सक्छ ।
चट्याङ्ग
जेठको मध्यरात । बाहिर मेघ गर्जन साथ झ्याम झ्याम पानी परिरहेको छ । बिजुली चम्केको छ । गृष्मको गर्मी भए पनि दर्के पानी परेकोले वातावरण शितलो छ । वातावरण जति नै शितलो भए पनि मन भित्र औडाहा भए पछि कसलाई शितलो हुन्छ र ? कुमुदिनीको मनमा सामाजिक, घरेलु, लाञ्छना र तिरस्कारको औडाहा बलेकोले निदाउन भर मग्दुर प्रयास गर्दा पनिसकेकी छैन । कुमुद भने कोल्टो फर्केर फ्वाँ फ्वाँ यौन सन्तुष्टिको निद्रा सुतिरहेको छ । पाँच वर्ष अघि कुमुदसँग प्रेम विवाह गरेकी कुमुदिनीको अँझै काख रित्तो छ ।
“छोरो भएको बजिया उस्तै, बजियाले कुल र जातकी स्वास्नी त भित्र्याएन रे लौ ठिकै छ, कुजातनी त बाँझी पनि रहिछे । नाति खेलाउने मेरो रहर त्यतिकै तुहिने भो, हे दैव ! ”
- « Previous
- 1
- 2
- 3
- 4
- Next »
