जुङ्गाको लडाइँ (व्यंग्य लघुकथा)


माघे सक्रान्तिको विहान । मासुको भाग लाउँदै गरेको नेप्टे साहिंलोको आगनमा मासु लिनेहरूको भीड थियो । सेवा निवृत्त जुङ्गे हवल्दार पनि मासु लिन टुप्लुक्क आइपुग्यो र आफ्नो खुंडाकट् जुङ्गा बटार्दै रवाफदार स्वरमा भन्यो,“ए नेप्टे १ जुङ्गा हेरेर भाग लगा ।”

नेप्टेले आदर पूर्वक भन्यो, “हुन्छ, हवल्दार बा ।”

“हुँदैन ! नेप्टे दाइ, हुँदैन । मान्छेको टाउको हेरी भाग लगाऊ ।” नेप्टेको बोली भुईमा खस्न नभ्याउँदै भीड मध्येवाट एउटी महिलाको कर्कश स्वर घन्कियो ।

“को हो त्यो हुँदैन भन्ने ? हवल्दार बाको प्रस्ताव एकदम मनासिव छ । जुङ्गा वास्तवमै पुरुषत्वको प्रतिक हो । ए नेप्टे भाइ १ बाले भने मुताविक गर ।”तरवार कट् जुङ्गा वाला कड्कियो ।

“म हो । लौ के गर्न सक्छौ हेरौं त पाइन् । बडो आएछ जुङ्गाको धाक लाउने । कोही कल्कलाउँदो देखिन जुङ्गा खौरन्छन् त कोही व्यक्तित्व देखाउन जुङ्गा र दाह्री पाल्छन् । अनि कसै कसैको जुङ्गा देखाउन नहुने ठाउँमा हुन्छ र पो नत्र तपैका जस्ता जुङ्गा सपैका छन् । बडो आएछ जुङ्गा हेरी भाग लाउन अर्डर गर्ने । जागीरमा नहुँदा त तपैले जुङ्गाको यत्रो रवाफ देखाउनुहुन्छ भने झन् जागीरमा छँदा जनतालाई कति सताउनु भयो होला । चौंरीको पुच्छर जस्तो जुङ्गा पालें भन्दैमा जुङ्गा भत्ताको रवाफ देखाउन खोज्ने ? कि हामीलाई महिला भनेर हेप्नु भाको ।”

“ए ! हाम्रो जुङ्गालाई चौंरीको पुच्छर भन्ने रु अनि देखाउन नमिल्ने जुङ्गासँग तुलना गर्ने यो आइमाई त मापाकी रहिछे ।” जुङे हवल्दार कड्किडै पाखुरा सुर्कन थाले । जुङेहवल्दारलाई हिटलर कट् जुङ्गावालहरूले साथ दिन थाल्यो ।

“ओ हवल्दार बा, तपैको यो जुङ्गाले राणाकालमा र पंचायतकालमा जुङ्गा भत्ता पचायो होला, त्यो त ठिकै छ किनभने त्यति बेला सोझासिधा जनतालाई तर्साउन सेना प्रहरी वृत्तमा जुङ्गा भत्ता दिइन्थ्यो । अब त्यसको सान्दर्भिकता सकिएको छ । चौंरीको पुच्छरले कम्तीमा झिङा धपाउने काम त गर्छ । तर तपैहरूका जुङ्गाको त्यति पनि काम छैन । अब यो लोकतन्त्रमा तपैहरूको जुङ्गा देखेर कोही तर्सने वाला छैनन् बुझ्नु भो ? के फुटानी लाउनुहुन्छ जुङ्गाको ।”

क्लिनकट् वाला एउटा व्यक्तिले चुनौतीदियो । उसको त्यो ठाडो चुनौतीलाई महिला तथा केही पुरुषहरूले तालि पिटेर समर्थन जनाएको देखेर आफ्नो तेजोवध भएको छोप्न जुङेहरूले अडियलपन देखाउदै पाखुरा सुर्कदै मनपरि बोल्न थालेपछि मासु लिन आउनेहरू तीन दलमा बाँडिए ।

भनाभन् विकसित हुँदै हात मिसामिस हुनथाल्यो । मासु लिन आउनेको ध्यान झगडामा केन्द्रित भएपछि मासुमा भुस्यहा कुकुरहरूको रजाईं चल्न थाल्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *