Skip to content

युवालाइ अाह्वान

यो आह्वान छ देशका युवकले जाग्नै प-यो देशमा
आफ्नो लक्ष्य यतै बनाउन सधैं लाग्नै प-यो देशमा
अर्काको घरमा बसेर तिमीले के पाउने हो अब ?
ज्यूँदै छन् अझ रोगका चुलीहरु नाग्नै प-यो देशमा ।।१।।

भो भो तर्क वितर्क धेर नगरी फर्केर आऊ अब
आफ्नो बुद्धि विवेक वर्गत सबै लौ लौ खन्याऊ अब
लौ आफ्नै घरभित्र आई पसिना आफ्ना चुहाऊ अब
आफ्ना देश र देशवासीहरुमा माथा झुकाऊ अब ।।२।।

हाम्रै स्वच्छ हिमाल तालहरु छन् मैदान छन् खेत छन्
पाखा छन् र पहाड खोंंचहरु छन् उद्यान छन् बाग छन्
उब्जाऊ अब खेतफाँटहरुमा बाली बिनै खाली छन्
पुर्खाको यशले उपार्जित अझै मेची महाकाली छन् ।।३।।

उर्जामा धनधान्यमा जमिनमा हामीहरु अग्र छौं
सेवाभाव र देशभक्ति सबमा हामीहरु तीब्र छौं
हुन्थ्यो स्वर्ग समान देश तिमीले उर्जा लगाएपछि
यो उर्जामय देशलाई तिमीले आई सिंगारेपछि ।।४।।

उर्जा स्रोत अनन्त छन् तर यहाँ लामो खडेरी प-यो
सत्ता स्वार्थ भएर देश अहिले सारै पछाडि प-यो
उर्जाशील हिमालका सपूत हो फर्केर आऊ अब
माटोमा पसिना चुहाउनु प¥यो हज्जार छन् वैभव ।।५।।

सारा देश यसै भनेर अहिले ताक्तै छ तिम्रो मुख
आँखाको भ्रम मात्र हो र मृगको तृष्णा सरी हो सुख
यो मेरो अनि यो पराइहरुको सोचे अझै बढ्दछ
तृष्णा जो मनभित्र पल्किन पुगे तृष्णा कहाँ घट्तछ ?।।६।।

खाडीको र समुद्र पारितिरको यात्रा टुटाऊ अब
आफ्ना पौरखको परिश्रम यहाँ आई जुटाऊ अब
आफ्नै देश र देशभित्र पसिना आई छुटाऊ अब
तन्नेरी सब लौ जुटेर पहरो आई फुटाऊ अब ।।७।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *