बाबा !
तपाइँले जब मलाई जलसमाधिस्थ गर्नु भो
मेरो लाश कोशीको धमिलो भेलमा
अविरल बगिह्यो बगिरह्यो
जलसमाधिमा निमग्न चिश्चेष्ट र निरुद्देश्य
निरन्तर बगिह्यो बगिरह्यो ।
दस गजाबाट बाहिर जान नमाने पनि बगिरह्यो
दसगजा काट्न लाग्दा पनि बगिरह्यो बगिरह्यो ।
जङ्गे पिलरमा केही बेर ठोकिए पनि
केही बेर दोधारको भुँवरीमा परे पनि
तपाईंले बगाएपछि मेरो लास अर्कैको मुलुकतिर
बगिरह्यो बगिरह्यो ।
चुसिंदै थियो मेरो लास
केही माछा र केही जलजन्तुबाट लुछिँदै थियो मेरो लास
भड्कँदै थियो मेरो लास
कतै रुखमा त कतै पानीको भुँवरीमा अड्कँदै थियो मेरो लास
एक हात जमिन नपाएर भेलमा बगाइदिएको मेरो लास
आफ्ना मुलुकबाट बगेर
अर्काको मुलुमा जाँदै थियो मेरो लास ।
केही जलजचहरुले खाँदै थियो मेरो लास ।
हो, बाबा हाम्रो न एक छानु थियो न एक मानु थियो
छानु मानुको ता कुरै छाडौं
मेरा मुलुकमा मेरा लागि न एक अन्नको दानु थियो
जता बगेर जाँदै थियो मेरो लास
त्यो ठाउँ एक बिरानु थियो ।
न एक सुनौलो स्वर्गको साँझ थियो
न त्यस स्वर्गको एक सुन्दर बिहान थियो
न त जमिनमा तिन फिटसम्मकै चिहान थियो ।
न समवेदना थियो न सहानुभूति थियो
मानौ मेरो लास नर्कको यात्रामा अनवर थियो
यद्यपि न गन्तव्यको कुनै टुङ्गो थियो
तैपनि बग्दै बग्दै जाँदै थियो मेरो लास ।
जहाँ म भासिनुपथ्र्याे
जहाँ मेरो चिहान हुनुपथ्र्याे
त्यो तिन फुट जमिन
मेरो मुलुकमा कतै थिएन
पानी पानी थियो, जलप्रलय थियो
मेरो सद्गति गर्न कोही आएन
चिहान खन्ने भूमि नै कसैले पाएन
यसैले मेरो मृत्यु शोकको गीत कसैले गाएन ।
तैपनि मेरा बाबाको वाध्यताले
कोशीमा बगाएको मेरो लाश
गोही, माछा र जन्तुहरुले लुछेर
शेष रहेको मेरो अवशेष
मेरो पानीको प्रलयमा बगिरह्यो बगिरह्यो ।
कोशीले कुनै पराइको मुलुकमा लगिरह्यो लगिरह्यो
मृत्युपूर्व पनि म आफ्नो देशको हुन पाइन
दुर्भाग्य मेरो मृत्यु पछि पनि माटोसँग माया लाइन
आफ्नो देशको माटोमा बिलय हुन पाइनँ
विलय हुन पाइनँ ।।
